फागुन २५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने बताए ।
‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न गरेका रावलले सरकार र सिके राउतबीचको ११ बुँदे सहमति भएको भोलिपल्ट शनिबार (आज) यस्तो बताएका हुन् ।
उनले भने, ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’
रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यस सम्बन्धी उद्देश्य, गन्तव्य र स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उक्त कुरा स्पष्ट नदेखिएको आरोप लगाए ।
‘राउतजीले यदि नेपालको संविधान अनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो ।’ नेता रावलले भने, ‘तर, उहाँले त्यस्तो केही पनि भन्नु भएन ।’
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भुमि टुक्रयाउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने, ‘हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच भएको सहमतिले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’
नेकपा पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाएका उनले ‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन ग¥यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत भएको बताए ।’
‘सिके राउतले स्वयम आफ्नो फेसबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गर्नु र स्वतन्त्र मधेशका सबै मुधाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर भन्नुको के अर्थ लाग्छ ?’ नेता रावलले भने, “यो निकै आपत्तिजनक हो । सरकारले तत्काल जवाफ दिनुपर्छ ।”
गृहमन्त्री थापको राजीनामा बारे पार्टीमा छलफल हुने
रावलले हिजोको सहमतिसँगै अब स्वतन्त्र मधेश गठबन्धन भन्ने पार्टी देशैभरि खुल्नेपनि सुनाएको प्रसंगलाई इङ्गीत गरेका रावलले राउत र सरकारबिचको सहमतीले सिँगो देश र जनतालाई आघात पुर्याएको बताए ।
हिजोको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई बैद्यता त प्रदान गर्दैन ? सरकारप्रति प्रशन गरेका रावलले यसको परिणाम ५, १० र २० वर्षपछि आउने बताए ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरेका रावलले राउतलाई दार्शनिक भनियो भन्ने विषयमा आफूलाई गज्जब लागेको बताए ।
पार्टीको निर्णय र पुर्वयोजना बेगर सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामाबारे अब बस्ने पार्टीको बैठकमा छलफल हुने जिकिर गरे । उनले भने, ‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ ।’