फाल्गुन २८, काठमाडौँ । राष्ट्रिय अखण्डता तथा सरकारसँगको सहमतिविपरीत सीके राउत समूहले जनकपुरमा गरेको प्रदर्शन गरेको विषयमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओलीबिच समिक्षा भएको छ ।
सोमबार बिहान बालुवाटारमा दुई अध्यक्ष बिच भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालले जनकपुरमा राउतको स्वागतका क्रममा भएका नारावादी, प्लेकार्ड, ब्यानर र दस्ता प्रदर्शनबारे जिज्ञासा राखेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार राउतसँग भएको सहमतिबारे आशंका व्यक्त भइरहेका बेला उनको समूहले स्वतन्त्र मधेसको ब्यानर प्रयोग गर्दा थप सशंकित हुनुपर्ने अवस्था बनेको भन्दै दाहालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । यस्ता गतिविधि जारी रहने खालको अवस्था हुन नदिन दाहालले प्रधानमन्त्रीलाई सचेत गराएका हुन् ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीको सरकारी निवाश भएको भेट सकेर सोमबारै पोखरा पुगेका अध्यक्ष दाहालले सहमतिबारे कार्यकर्ता तहको बुझार्इमा समस्या हुनाले त्यस्तो गतिविधि भएको हुन सक्ने जवाफ प्रधानमन्त्रीबाट आफूले पाएको बताएका छन्। उनका अनुसार सहमतिविपरीत राउत जान सक्ने अवस्था नरहेकाले धेरै आशंका गर्नुपर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीले आश्वस्त पारेका छन् ।
‘व्यावहारिक रूपले आफ्नो समूहलाई सहमतिबारे बुझाउने समय र प्रक्रियाका कारण यस्तो भएकाले सरकारलाई आशंका छैन,’ प्रधानमन्त्री ओलीको भनार्इ उद्धृत गर्दै दाहालले नेपालबोटलाई भने, ‘भर्खरै छुटेको र तयारी नगरी तराई झरेकाले त्यस्तो भएको हुन सक्छ।’
नेपाल सरकार र राउतबीच भएको ११ बुँदे सहमतिको छैटौं बुँदामा संविधानको व्यवस्था र सहमति प्रतिकूलका प्रचार सामग्री उत्पादन, वितरण, प्रदर्शन गर्न नपाइने उल्लेख छ। तर आइतबार जनकपुरमा स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन हुनुका साथै जनमतसंग्रह गर्नेलगायतमा सहमति भएको प्रचार भएको थियो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सहमतिविपरीत गतिविधि भए सरकारको विश्वनीयतामाथि समेत प्रश्न उठ्ने भएकाले राउतलाई सचेत गराइने भएको छ। राष्ट्रिय अखण्डता स्विकार्ने, लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्ने भन्ने सहमतिको भावना रहेकाले यसभन्दा फरक हुने खालको गतिविधि नगर्न राउत समूहलाई सचेत गराउनुपर्ने ओली र दाहालबीच कुराकानी भएको थियो।