फागुन २९, काठमाडौं । आप्mनो पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पहिलो पटक भोली नेपाल बन्दको घोषणा गरेको छ ।
सरकारले मंगलबार मात्र प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार (भोली) का लागि आह्वान गरेको नेपाल बन्दलाई लिएर देशभरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको बताए। सुरक्षा खतरालाई मध्यनजर गर्दै बुधबार काठमाडौंलगायत विभिन्न जिल्लाको जिल्ला सुरक्षा समिति बैठक बसेको थियो।
काठमाडौं जिल्ला सुरक्षाा समितीको बैठकले सुरक्षा ब्यवस्थापनमा कुनै कसर नराख्ने निर्णय गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापाले सुरक्षा ब्यवस्थापनमा ‘सिलसिलेवार’ बल प्रयोग हुने बताए। ‘हामी कानुनले दिएको अधिकारअनुसार आवश्यकताबमोजिम सिलसिलेवार बल प्रयोग गर्छौं’, डीआईजीले थापाले भने।
सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले बिहीबारको नेपाल बन्द आह्वान गरेको हो। काठमाडौ उपत्यकामा उक्त समूहका आपराधिक गतिविधि बढेपछि प्रहरीले गत साता विप्लवको रुपन्देहीस्थित आधार इलाकामा छापा मारेको थियो। त्यहाँबाट केही हतियार बरामद भएका थिए।
त्यसअघि विप्लव समूहले ललितपुरको नख्खुमा विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। त्यसको केही दिनपछि बसुन्धारास्थित वैदेशिक रोजगार व्यवशायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा पार्किङ गरिराखेको उनको गाडीमा भएको विस्फोटनको जिम्मा पनि विप्लव समूहले लिएको थियो। सुदुर पश्चिममा प्रदेश सांसदको अपहरणमा पनि विप्लव समूहले जिम्मा लिएको थियो।
प्रदेश तथा संघीय संसदको चुनावताका राजधानीमा शृंखलाबद्ध बम विस्फोट गराएको विप्लव समूहप्रति सुरक्षा निकाय सचेत छ। विस्फोटनका सम्भावित योजनालाई केन्द्रित गरेर सुरक्षा ब्यवस्थापन गरिएको अधिकारीहरु बताउँछन्।