फागुन ३०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा जानु अघि स्थानीय तहसम्मको पार्टी एकिकरण गर्ने गृहकार्य शुरु भएको छ ।
गएको वर्ष जेष्ठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकिकरण भएर बनेको नेकपाको पार्टी एकिकरण गर्न ढिला भएको भन्दै सर्वत्र बिरोध भैरहेका बेला बिहिबार अध्यक्षद्धय ओली र प्रचण्ड बिच भएको छलफलले केही दिनमै टुङ्गो लगाउने गरि गृहकार्य भैरहेको हो ।
नेकपा उच्च स्रोतका अनुशार नेकपाका वरिष्ठ नेताहरु बिच बिहिबार प्रचण्ड निवाशमा भएको छलफलले अध्यक्ष प्रचण्डले गर्ने आसन्न अमेरिक भ्रमण अघि जसरी पनि पार्टी एकिकरणको टुङ्गो लगाउने सहमती भएको छ ।
‘वर्तमान राष्ट्रिय राजनीतिको समिक्षा सहित पार्टी एकिकरणका बारेमा आन्तरिक गृहकार्य गर्न बसेको नेकपा नेताहरुको बैठकले सबै प्रदेश इन्चार्ज र अध्यक्षहरुसँगको परामर्शमा केही दिनमै पार्टी एकिकरणको काम सकाउने सहमती गरेको छ ।’ बैठकमा सहभागि एक नेताको सचिवालयले भन्यो, ‘“अध्यक्षयद्धयले कम्तीमा जिल्ला तहको नेतृत्वको टुंगो लगाएर भएपनि पार्टी एकताको सन्देश दिनेगरी काम अघि बढाउने सहमती गरेका छन् ।”
गएको मंगलबार सरकारद्धारा नेकपा विप्लव समूहमाथि लगाइएको प्रतिवन्धको विषयमा समिक्षा गर्न अध्यक्षसहित ५ शीर्षनेता सम्मीलित बैठकले उक्त विषयमा मौखिक सहमती गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक एकताबारे छलफल गर्न नेताहरुलाई बालुवाटारमा बोलाएका थिए ।
बैठकमा तत्कालीन एमाले र माओवादीबाट ३ र३ जना बोलाउने भनिए पनि एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागी भए । तर, माओवादीबाट नेताहरुलाई बोलाइएन ।
बैठकमा पछिल्ला गतिविधिले नकपाका कार्यकर्ता र आम नागरिकमा निराशा छाएको भन्दै समिक्षा भएपछि अबको केही दिनमै पार्टी एकिकरणको कामलाई अन्तिम रुपदिने मौखिक निर्णय भयो । जिल्लाका अध्यक्ष र सचिवको भागबण्ड मिलाई अध्यक्षद्धयले तय गरेको निर्णयलाई नै सचिवालया बैठकले अन्तिम रुप दिने गरी काम अघि बढाइने छ ।
प्रदेश अध्यक्ष र इन्चार्जलाई काठमाडौं आउन आन्तरिक सर्कुलर
नेकपा अध्यक्षद्धयले पार्टी एकिकरणका बारे भएको सहमतीलाई छिटो टुंगो लगाउने काम अघि बढाउन सातवटै प्रदेशका पार्टी अध्यक्ष र प्रदेश इनचार्जलाई काठमाडौं केन्द्रित हुन नेताहरुले आन्तरिक सर्कुलर गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटार र प्रचण्ड निवाशमा बसेको नेकपाका शिर्ष नेताहरुको बैठकको निर्ण अनुशार पार्टी एकिकरणको अभियानले नयाँ मोड लिएको भन्दै आफूलाई सुक्रबार वेलुकीसम्म राजधानी पुग्न सूचना आएको छ, पार्टी कार्यक्रमका सिलसिलामा राजधानी बाहिर भएका एक प्रदेश अध्यक्षले नेपालबोटलाई भने, “पार्टीका सचिवालयका नेताहरुले एकताको काम छिट्टै टुंगोमा पु¥याउनु पर्ने भएको भन्दै मलाई सबै काम छोडेर काठमाडौं आउन भन्ने निर्देशन आएको छ ।”
एकिकरणमा विवाद नभएका जिल्लाहरुमा अध्यक्षद्धयले यसअघि जिल्ला हुँदै प्रदेश कमिटी हुदैं कार्यदल मार्फत आएको सिफारिसलाई आधार मान्दै एकता प्रक्रियालाई अघि बढाउने योजना बनाएका छन् भने विवाद भएका जिल्लाहरुमा तत्काल प्रदेश अध्यक्ष र इन्चार्जसँगको परामर्शमा टुङ्गो लगाउने गरी एकिकरण प्रक्रिया सक्ने योजनाका साथ सबै प्रदेश अध्यक्ष र प्रदेश इन्चार्जलाई राजधानी केन्द्रित हुन सर्कुलर जारी भएको हो ।