फागुन ३०, काठमाडौँ । सरकारले दश औला जोडेर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक र विध्वंसात्मक क्रियाकलाप त्यागी वार्तामा आउन आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले बताएका छन् ।
सरकारको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री बाँस्कोटाले बिहीबार सरकारका तर्फबाट आधिकारिक निर्णय सार्वजनिक गर्दै चन्द समूहले केही समययता आतंकवादी शैलीमा मुलुकका विभिन्न भागमा संगठित आपराधिक तथा विध्वंसात्मक कार्य गरिरहेको घटना प्रस्तुत गरे ।
राजनीतिक गतिविधिका नाममा ुचन्द समूहले बम विष्फोट, निर्दोष नागरिकको हत्या, आगजनी, जबरजस्ती रकम संकलन, अपहरण, दूरसञ्चार, जलविद्युत जस्ता अति संवेदनशील पूर्वाधारमा क्षति पुर्याउँदै आएको बताएका मन्त्री बाँस्कोटाले भने, यस्ता गतिविधि गर्नेलाई संगठित अपराध ऐन २०७० अनुसार कारबाही हुन्छ । निर्वाचन आयोगमा दर्ता नभएका कारण यो विप्लव नेतृत्वको नेकपा पार्टी नभएर समूह मात्र भएको बताएका मन्त्री वास्कोटाले ०७५ फागुन १० गते यही समूहले ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, बागलुङ, रुपन्देही, रोल्पा, बाँके, जाजरकोट, कञ्चनपुरलगायत जिल्लामा दूरसञ्चार सेवा प्रदायक कम्पनीका टावरमा भएका विस्फोट र आगजनीको जिम्मेवारी लिएको थियो । सरकारले आपराधिक तथा विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने समूह, व्यक्ति तथा संस्थालाई प्रचलित कानुनबमोजिम कारबाही र त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न आपराधिक तथा विध्वंसकारी घोषणा गर्न आवश्यक भएको बताए ।
पत्रकार सम्मेलनको अधिकांश समय चन्द समूहको क्रियाकलापमाथि टिप्पणीमा खर्चिएका मन्त्री बाँस्कोटाले वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारले करिब ५ महिनाअगाडि समिति गठन गरे पनि चन्द समूह नआएको आरोप लगाए। 'हाम्रो तर्फबाट वार्ता प्रयास नभएको होइन । कार्यकर्ता रिहा गर्ने र मुद्दामामिला नगर्ने सर्त राखियो । हामीले मान्यौं तर चन्द समूह वचनको पक्का देखिएन' उनले भने ।
मन्त्री बाँस्कोटाले चन्द समूह वार्तामा आए रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका उनले भने, दश औंला जोडेरै बिन्ती छ, आउनुस्आ ।
अपराधिक क्रियाकलापलाई निरन्तरता दिनुभयो भने राज्यले आफ्नो दायित्व निर्वाह गर्ने बताएका मन्त्री वास्कोटाले हामी दुःखी हुन सक्छौं तर कर्तव्यच्युत हुन नसक्ने बताए । उनले कुनै पार्टीलाई प्रतिबन्ध नलगाएको जिकिर गर्दै चन्द समूहको गतिविधि मात्र बन्देज गरिएको बताए ।
सीके राउतसँगको सम्झौताको प्रसंगमा कोही ठीक ठाउँमा आउन तयार भए लखेट्न नमिल्ने बताएका मन्त्री बाँस्कोटाले फरक तरिकाले हिँडिरहेको दाबी गर्ने संस्थालाई शान्तिपूर्वक राष्ट्रिय एकता, अखण्डतालाई कार्यान्वयन गर्छु, म त्यसमा प्रतिबद्ध छु भनेर आउँछ भने उसलाई घिसारेर, लखेटेर, ढोका थुनेर यहाँ आउनै पाउँदैनस् भनेर खेद्न नमिल्ने बताए ।