हुम्ला । विगत पाँच वर्षदेखि खानेपानीको अभाव झेलि रहेका सिमकोट–७ स्थित धारापोरीका स्थानीयबासी खानेपानी आयोजना सफल बनाउँनै पर्छ भनेर रातदिन नभनि काममा व्यस्त देखिएका छन् । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश खानेपानी अन्तरगतको आर्थिक वर्ष ०७७।७८ को १६ लाख ५० हजार, ०७८।७९ को ८० लाख रुपैयाँको आयोजनाको काम यतिखेर रातदिन नभनिकन धमाधम गरि रहेका हुन्।
लामो समय खानेपानीको मार खेपिरहेका स्थानीय भन्छन समयमै काम गर्ने स्रोतसाधनको जोहो गर्न समस्या भएका कारण कतै हामीले धौ धौ गरि पाएको आयोजना गुमाउनु पर्नेत हैन ? उनिहरुलाई निक्कै चिन्ताले पिरलेको छ ।
परा पूर्वकालदेखि गाउँका ७० वटा घरधुरीले प्रयोग गर्ने मुलको एउटा धारा मात्रै छ, त्यो पनि घण्टौँ कुरेर पानी ओसार्नु पर्ने स्थानीय नैन बहादुर सिंहले दुखेसो पोखे । असार १५ गते खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाले जिल्लामा रहेका विभिन्न योजनाहरुको अनुगमन गर्ने क्रममा धारापोरी गाउँमा उक्त समस्या देखिएको थियो ।
विगत पाँच वर्षदेखि धारापारी गाउँका करीव ७० घरधुरी प्युने पानीबाट बञ्चित हुँदै आएको र उक्त समस्याको समधानका लागि खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाले श्रमदान सहित एक घर एक धाराको व्यवस्था हुने गरेर एक करोड रुपैयाँ विनियोजित गरेको सो कार्यालयका प्रमुख अकल बहादुर महतले जानकारी दिए ।
यतिखेर उक्त आयोजनाको मुख्य इन्टेकको कार्य सम्पन्न भएर पाइप लाइन खन्ने कार्य गरिएको धारापोरी खानेपानी उपभोक्त समितिका अध्यक्ष दिर्घ बहादुर शाहीले बताए । उनले भने हेप्का खोलाको बहावले मुख्य इन्टेकलाई समस्या पार्ने भएपछि खोलाको छेउमा १ सय २५ वटा ग्याविन हालेर बार लगाएको छ । ग्याविन, पाइपलाइन, मुख्य इन्टेक लागयतका कार्य गरेर करीव ४० प्रतिसत काम सम्पन्न भएको खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाका प्रमुख महतको भनाई छ ।
उनले भने धारापोरी खानेपानी आयोजनाका लागि दुईवटा १०।१० हजार घनमिटरका रर्जिव ट्ङ्की निर्माण गर्न र पाइप लाइन खन्न लगायतका काम बाँकी रहेको छ । उक्त कामका लागि डोजरको प्रयोग गर्नु पर्ने र तेलको अभावले कामलाई बाधा पुगेको उपभोक्त समतिले गुनासो गरेका छन् ।
थाया मथुरे खाने पानी आयोजनाको ९५ प्रतिसत काम सम्पन्न
सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा रहेको थाया मथुरे खाने पानी आयोजनाको ९५ प्रतिसत काम सम्पन्न भएको छ । बुधबार खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय हुँम्लाले सो आयोजनाको अनुगमन गर्ने क्रममा करीव ९५ प्रतिसत काम सम्पन्न भएको खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय हुँम्लाका प्रमुख अकल बहादुर महतले बताए ।
हालसम्म अन्य सम्पुर्ण कार्य पुरा भएको र आयोजनाको रिजर्व ट्याङकीलाई मात्रै घेरबार गर्न बाँकी रहेको थाया मथुरे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष यज्य बहादुर शाहीले जानकारी दिए । उनका अनुसार घेरबार जाली जिल्ला बाहिरबाट आयत भए लगतै घेरवारको कार्य पनि सम्पन्न हुने भएको छ ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालयको खानेपानी अन्तरगतको आर्थिक वर्ष ०७७।७८ को १५ लाख, ०७८।७९ को २५ लाख र श्रमदान ८ लाख गरेर जम्मा ४८ लाख रुपैयाँमा एक घर एक धाराको निर्माण गरिएको छ ।
उपभोक्त समितिबाट सञ्चालन गरेको योजनाबाट थाया गाउँका ७२ घरधुरी उक्त खानेपानीबाट लाभान्वित भएका छन् । प्रत्येक घरमा एक धारको व्यवस्था गरेर धारामा पानी सेमत झारिएको छ । सो आयोजनाबाट ४५ धारा, युनिसेफ नेपाल मार्फत २७ धारा निर्माण गरिएको छ भने अन्य तीनवटा धारा सार्वजनिक स्थलमा निर्माण गरिएका छन् ।
खानेपानी आयोजनाका लागि १० हजार घन मिटरको रिजव ट्याङकी बनाएको छ भने सो भन्दा करीव ५ सय मिटर टाढा दुरीमा इन्टेक बनाइएको छ । घर घरमा खानेपानी पुगेपछि ३ सय ६० जनसंख्या रहेको सो ठाउँका स्थानीय नागरिक हर्सित भएका छन् ।
उपभोक्त समितिले नियमित रुपमा काम गर्दा समयमै खानेपानी पिउन पाएको स्थानीय ग्याम्जु सुनारले खुसि व्यक्त गरेका थिए ।
साँघुरा घाँटीदेखि जबुका हुँदै ठेलासरा खानेपानी आयोजनाको पनि अनुगमन
सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा रहेको साँघुरा घाँटीदेखि जबुका ठेलासरा खानेपानी आयोजनाको अनुगमन गरिएको छ । बुधबार उक्त खानेपानी आयोजनाको अनुगमन कार्य जिल्लाका सरोकावाला निकायले गरेका थिए ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालयको खानेपानी अन्तरगतको आर्थिक वर्ष ०७७।७८ को १५ लाख, ०७८।७९ को ३० लाख र श्रमदान ९ लाख गरेर जम्मा ५४ लाख बजेट रहेको आयोजनाको अनुगमन गरिएको हो ।
उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष गार्मु सिंहका अनुसार जबुका गाउँका ३ सय घरदुरीका लागि ४ हजार र ५ हजार घनमिटरका रिर्जव ट्याकी, सातवटा धारा मध्ये पाँचवटा धारा निर्माण गरि प्रयोगमा ल्याएको बताइएको छ ।
त्यस्तै सो कार्य भने ९० प्रतिसतसम्म सम्पन्न भएको र बाँकी काम पनि छिटै सम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिइन् ।