काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्न २२ भदौमा पर्यटन क्षेत्रका अगुवा भेला भएका थिए ।
पर्यटनमन्त्री खडकराज पौडेल, पर्यटन सचिव मुकुन्द निरौलालगायत पर्यटन क्षेत्रका व्यवसायी तथा अन्य अगुवा मौनधारण सकिएपछि आआफ्नो बाटो लागे । पर्यटन बोर्डको गेट बन्द भयो । तर गेटबाहिर तीन विदेशी आफन्त र साथीको खोजीमा उभिइरहेका थिए ।
भारतबाट आएकी विचित्र जैनका हातमा रुसी नागरिक किरिल त्रेतियाकोभको फोटो थियो । कैलाश यात्राका क्रममा नेपाल आएका उनका साथी किरिल १० भदौको बाढीपछि सम्पर्कविहीन छन् । उनको अवस्थाबारे जानकारी नपाएपछि जैन आफैं नेपाल आएर खोजीमा जुटेकी हुन् । ‘हामी कहाँ जाने रु कसरी खोज्ने रु कसैले मद्दत गरेन,’ जैनले त्यही साँझ भनिन् ।
उनीसँगै अर्का एक रुसी नागरिक पनि आफन्तको खोजीमा थिए । अर्कातिर एक विदेशी नागरिक हातमा फोटो बोकेर उभिएका थिए । नेपाली वा अंग्रेजीमा सहज नभएका उनी फोटोमा देखिएको ट्याटु भएको युवक खोजिदिन आग्रह गरिरहेका थिए । उनले त्यो फोटो पर्वतारोहण संघका अध्यक्ष तथा हेली एभरेस्टका सञ्चालक फुर ग्याल्जे शेर्पालाई देखाउँदै आफन्त हराएको भन्ने बुझाउन खोजिरहेका थिए ।
पर्यटक प्रहरीको विवरणअनुसार बाढीपछि ७ सय ९५ पर्यटक अझै बेपत्ता छन् । तीमध्ये ६ सय ७ विदेशी र १ सय ८८ नेपाली छन् । विदेशीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन् । भारतका १ सय ८९, अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, लाट्भियाका ३३, अस्ट्रेलियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० जना सम्पर्कविहीन छन् ।
त्यस्तै जर्मनीका ८, सिंगापुर र दक्षिण कोरियाका ९–९, दक्षिण अफ्रिका र रुसका ६–६, जापान र न्युजिल्यान्डका ५–५ तथा फ्रान्सका ४ जना सम्पर्कमा आएका छैनन् । बेलारुस, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल र इटालीका २–२ तथा अन्य केही देशका १–१ नागरिक पनि बेपत्ता रहेको विवरणमा उल्लेख छ । खोजीको तीन साता बित्दा पनि उनीहरूका परिवारका लागि सरकारी तथ्यांकभन्दा ठूलो प्रश्न एउटै छ— त्यो सूचीमा परेका आफ्ना मान्छे जिउँदा छन् वा मृत रु बाढीमा हराएका विदेशी पर्यटकका आफन्तले अब नेपाल सरकारसँग खोजी मात्र होइन, आफन्तको अवस्थाको आधिकारिक प्रमाण पनि माग्न थालेका छन् । नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनील शर्माले तीन सातासम्म सम्पर्कमा नआएका विदेशीका परिवारले बोर्ड र पर्यटक प्रहरी कार्यालयमा पुगेर मृत्यु प्रमाणपत्र वा कम्तीमा खोजी र अवस्थाबारे आधिकारिक प्रमाण मागिरहेको बताए । ‘उनीहरूले सम्पर्कविहीन भएको तीन साता भइसक्यो, फेला परेका छैनन् अब हामीलाई डेथ सर्टिफिकेट चाहियो कि उनीहरूको अवस्थाको प्रमाण चाहियो भनिरहेका छन्,’ उनले भने ।
सम्पर्कविहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न सक्ने अवस्थामा नेपाल सरकार नरहेको शर्माले बताए । अस्पतालमा मृत्यु पुष्टि भएको वा शव पहिचान भएको अवस्थामा मात्रै त्यस्तो प्रमाणपत्र जारी हुने उनको भनाइ छ । सम्पर्कविहीन विदेशीको हकमा पर्यटक प्रहरीले ‘आउट अफ कम्युनिकेसन’ भएको उल्लेखसहितको ‘स्लिप’ उपलब्ध गराइरहेको शर्माले जानकारी दिए ।
भारतीय पर्यटकका परिवारले भने आफ्नो देशमा दर्ता हुने एफआईआर ९जाहेरी० का लागि नेपालबाट थप आधिकारिक कागजात मागिरहेको उनले बताए । ‘धेरैजसो त सर्टिफिकेट पाऊँ भनेर आउँछन्,’ उनले भने ।
निर्देशक शर्माका अनुसार विशेषगरी कैलाश यात्रामा जाने क्रममा बेपत्ता भएका भारतीय पर्यटकका परिवार निरन्तर सम्पर्कमा रहेका छन् । ‘कैलाशमा गएका भारतीयहरू फेला नपर्दा परिवारजनहरू सिधै एयरपोर्टबाट हामीकहाँ आउने गरेका थिए,’ शर्माले भने, ‘हामीसँग नम्बर लिएर उनीहरू दैनिक वा एक–दुई दिनमा फोन गरेर केही भयो कि भएन भनेर सोधिरहन्छन् ।’
खोजीका क्रममा कसैको उद्धार भएको खबर सार्वजनिक हुँदा उनीहरूको आशा फेरि जाग्छ । उद्धार भएकाहरूको सूचीमा आफन्त पनि छन् कि भनेर परिवारजनले तुरुन्त पर्यटन बोर्डमा फोन गर्ने गरेका छन् । ‘उद्धार भएको थाहा पाएपछि हाम्रो मान्छे पनि फेला परेको हो कि भनेर फोन गरेर सोधिरहन्छन्,’ शर्माले सुनाए ।
परराष्ट्र मन्त्रालयले बेपत्ता विदेशी नागरिकका परिवारबाट आउने सोधपुछ तथा जानकारीका लागि आपत्कालीन प्रतिक्रिया टोली गठन गरेको छ । टोलीमा खटिएका अधिकारीहरूका अनुसार दिनमा १३–१४ वटा इमेल वा ह्वाट्सएपमार्फत सोधपुछ हुने गरेको छ । ‘पहिले सोधपुछ गर्नेहरू धेरै हुन्थे । पछिल्ला दिनमा सोधखोज गर्नेको संख्या घट्दै गएको छ,’ टोलीका एक अधिकारीले भने, ‘सोधपुछ भएपछि हामी सम्बन्धित व्यक्तिको अवस्थाबारे जानकारी गराउँछौं ।’
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३ ०७:४४