सिमकोट । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा लुकीछिपी जडीबुटी ‘कटुको’ संकलन गर्न पुगेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ ।
सँगका दुई जना अझै सम्पर्कविहीन रहेका छन् ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट जडीबुटी संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले जनकारी दिए ।
अधिकारी पाण्डेका अनुसार भदौ २८ गते मुगुम कार्मारोङ गाउँबाट १३ जना स्थानीय जडीबुटी संकलनका लागि हुम्लाका विभिन्न सामुदायिक वनतर्फ गएको जानकारी प्रशासनमा आएको थियो । तीमध्ये एक जनाको मृत्यु भएको, दुई जना सम्पर्कविहीन रहेको,३ जना घर पुगि सकेको र बाँकी ७ जना मिमि प्रहरीचौकीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता जनकबहादुर सिंहले जानकारी दिए ।
घटनाको वास्तविक कारण भने अझै स्पष्ट भइसकेको छैन । स्रोतका अनुसार घटनाबारे बुझ्न मिमि प्रहरीचौकीमा हुम्ला र मुगु दुवै पक्षका दुई–दुई जनालाई बोलाएर छलफल भइरहेको छ ।
मुगुका स्थानीयका अनुसार मुगु र हुम्लाको सीमावर्ती क्षेत्रमा रहेका कतिपय सामुदायिक वन दुवै जिल्लाका बासिन्दाले प्रयोग गर्दै आएका छन् सोही आधारमा आफूहरू आफ्नै क्षेत्रको सामुदायिक वनमा जडीबुटी संकलनका लागि गएको उनीहरूको भनाइ छ ।
तर, बागेढुंगा सामुदायिक वन र नेप्का सामुदायिक वनलगायतका क्षेत्रमा अनुमति बिना जडीबुटी संकलन भइरहेको भन्दै वनका पदाधिकारीले अनुगमन गरेका थिए । बागेढुंगा सामुदायिक वनका अध्यक्ष रंगबहादुर शाही सहितको टोली अनुगमनमा पुगेपछि जडीबुटी संकलन गरिरहेका व्यक्तिहरू भागेको बागेढुंगा सामुदायिक वनका अध्यक्ष रंगबहादुर शाहीले बताए ।
उनले खोजीका क्रममा एक जनालाई नियन्त्रणमा लिएपछि अन्य नौ जना पनि सम्पर्कमा आएका थिए । उनीहरूलाई साँझसँगै राखिएको र भोलिपल्ट गाउँतर्फ लैजाने क्रममा खोला तर्ने बेला दुई जना पुनः भागेको बताए । भागेका अंख रोकाया र ललिजंग बडुवाल हालसम्म सम्पर्कमा नआएको अध्यक्ष शाहीले जानकारी दिए ।
यसअघि फरार भएका दुई जनामध्ये एक जनाको मुगुको लेख क्षेत्रमा मृत्यु भएको खबर आएको छ यद्यपि, उक्त मृत्यु र बागेढुंगा सामुदायिक वनमा भएको घटनाबीचको सम्बन्ध तथा मृत्युको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
घटनापछि जडीबुटी संकलनको अनुमति, सीमावर्ती सामुदायिक वनको अधिकार क्षेत्र तथा संकलनका क्रममा भएको घटनाबारे दुवै जिल्लाका स्थानीय र सम्बन्धित निकायबीच छलफल भइरहेको छ ।
तर घटनास्थलमा भने कुनै झैझगडा नभएको र आफुहरु जाँदा अबैद्ध रुपमा संकलन गर्न आएकोहरु भागेको बताउनु भयो अध्याधिक वर्षाका कारण जडीबुटी नल्याएको तर अवैद्धरुपमा जडीवुटी संकलन गर्नेहरु भने आफुसँगै ल्याएको अध्यक्ष शाहीको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०८३ १८:२५