सिमकोट । नेपाल सरकारले तय गरेको आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा हुम्लाका ३४ हजार ४ सय २३ मतदाताले मतदान गर्ने भएका छन् ।
बिहीवार दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले घोषणा गरेको मंसिर ४ गते निर्वाचनमा हुम्लाका ४ सय ५७ मतदाता थपिएपछि कुल मतदाताको संख्या ३४ हजार ४ सय २३ मतदाता हुने भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्याम रानाले जानकारी दिनुभएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा हुम्लाका लागि अहिलेसम्म ४ सय ५७ मतदाता थपिएका छन् । ‘आजको दिनसम्म २ सय १८ महिला र २ सय ३९ पुरुष थपिएपछि अहिलेसम्म जिल्लाभर ३४ हजार ४ सय २३ जना मतदाताले सहभागिता जनाउने भएका हुन्,’ प्रमुख रानाले नेपालवोटसँग भने, ‘महिला १६ हजार ३ सय ७२ र पुरुष १८ हजार ५१ जना मतदाता रहेका छन् ।’ रानाका अनुसार कानून अनुसार अब मतदाता नामावली संकलन कार्य भोली देखि बन्द हुने भएको छ । निर्वाचन घोषणा भएको दिनदेखि औपचारिक रुपमा मतदाता नामावली संकलन कार्य स्थगित हुने भएपछि भोली देखि नियमित रुपमा सञ्चालन हुँदै गएको मतदाता संकलन कार्य स्थगित भएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो । उक्त सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा भएको हो । निर्वाचन आयोगले असार २२ गते देउवालाई भेटेर मंसिर ४ गते चुनाव गर्न सुझाव दिएको थियो । उक्त सुझाव दिएको एक महिनापछि सरकार चुनावको मिति तोकेको हो । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकेसँगै देश अव निर्वाचनमा हुमिएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न भएको ८३ दिन पश्चात देश फेरी निर्वाचनतर्फ औपचारिक रुपमा उन्मूख भएको छ ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने सम्भावना रहेको आकलन गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताभन्दा १० लाख मतदाता बढ्ने अनुमान गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते तोकिएको बारेमा आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कति मतदाता सहभागी होलान् भन्नेबारे प्रमुख निर्वाचन आयुक्तले बोलेका हुन् । ुहिजोसम्म प्राप्त तथ्यांकअनुसार अघिल्लो निर्वाचनामा १ करोड ७७ लाख मतदाता रहेकोमा आगामी निर्वाचनमा १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान छ ।