सिमकोट । अगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुम्लाबाट सहभागि हुने दलहरुको संख्या बढ्ने भएका छन् ।
गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १५ वटा राजनीतिक दलहरुले सहभागित लिएको हुम्लामा आगामी निर्वाचनमा केहि संख्या बढ्ने संकेत देखिएको छ ।
आज (आइतबार) देखि निर्वाचन आयोगले शुरु गरेको दल दर्ताको समयसम्म केहि नयाँ दल दर्ताको तयारी गरेको र तिनिहरुका जिल्ला कमिटि हुम्लामा समेत गठन गरेपछि निर्वाचनमा भाग लिने दलको संख्या बढ्ने भएको हो ।
स्थानीय तहको निर्वाचनमा जिल्लाबाट १५ वटा दलहरुले भाग लिएको हुम्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा केहि नयाँ दलहरु थपिने संकेत देखिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । भर्खरै गठन भएको पुर्वपत्रकार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भई गएको साउन १७ गते सुर्खेतमा आयोजना गरिएको कर्णाली प्रदेश स्तरिय भेलामा अदानचुली ३ का मोहन रोकायाको संयोजकत्वमा हुम्ला जिल्लाको समन्वय कमिटि गठन गरेपछि उक्त दल थपिने निश्चित जस्तै देखिएको छ ।
ज्नता समाजवादी पार्टीमा आएको किचलाको कारण पार्टीका अध्यक्ष पुर्वप्रधानमन्त्री डा. वावुराम भट्टराईले आफू पक्षिय नेताहरुको छुट्टै भेला बोलाएर नयाँ पार्टी गठनको अन्तिम तयारी गरेकाले उक्त पार्टी पनि जिल्लामा भाग लिने देखिएको छ । एमाले विरुद्धको मोर्चाबन्दी गरेको पाँच दलीय गठबन्दनमा डा. भट्टराईले पनि सहभागि हुने यस अघिनैं बताइसक्नु भएको छ ।
स्थानीय तह निर्वाचनमा १५ दल सहभागि
गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा हुम्लाबाट १५ वटा दलहरुले भाग लिएका थिए । निर्वाचनमा ६ वटा राष्ट्रिय दलको मान्इता प्राप्त दल र ९ वटा अन्य दल गरेर १५ वटा दलहरुले निर्वाचनमा भाग लिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्याम रानाले जानकारी दिए ।
रानाका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रीक समाजवादी पार्टीले भाग लिएका थिए ।
यसैगरी अन्य दलहरुमा राप्रपा नेपाल (सुमन रावत), राप्रपा (विकास महत), नेकपा माओवादी समाजवादी रंगमल रोकाया), नेकपा माले (दाजगमु लामा), नेकपा समाजवादी मनबहादुर दाहाल इन्चार्ज), जनसमाजवादी पार्टी नेपाल (सुरेश शाही), नेपालका लागि नेपाली पार्टी (कुशल बुढा), सामाजिक एकता पार्टी (हेमन्त रावत), उन्नत लोकतन्ब पार्टी (दावा तामाङ)
कार्यालयका अनुसार राप्रपा नेपालको जिल्ला अध्यक्षमा सुमन रावत, राप्रपाको जिल्ला अध्यक्षमा विकास महत, नेकपा माओवादी समाजवादीको जिल्ला अध्यक्षमा रंगमल रोकाया अध्यक्ष रहेका छन् । यसैगरी नेकपा मालेको तर्फबाट दाजगंमु लामा, नेकपा समाजवादीका तर्फबाट इन्चार्ज मनबहादुर दाहाल, जन समाजवादी पार्टी नेपालको तर्फबाट सुरेश शाही, नेपालका लागि नेपाली पार्टीमा कुशल बुढा, सामाजिक एकता पार्टीमा हेमन्त रावत र उन्नत लोकतन्त्र पार्टीमा दावा तामाङ सम्पर्क व्यक्ति रहेको निर्वाचन कार्यालयले जनाएको छ ।