महत्व
“चार वटा बिरोधी पत्रिका चार हजार बन्दुकभन्दा पनि बढि डरलाग्दा हुन्छन्” भन्दै अठारौ शताब्दीमै फ्रान्सका बादशाह नेपोलियन बोनापार्टले पत्रकारिता को महत्वलाई निकै मनन गरे ।
आफूलाई पत्रकार नभएकोमा खिन्नता प्रकट गरेका महान वैज्ञानिक थोमस एल्भा एडिसनले भने, ‘फैलिएर रहेको र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन । यो कति सुन्दर छ भने, दैनिक हजारौ कहाँ पुग्दछ, तिनीहरूलाई ज्ञान, सूचना, शिक्षा, र मनोरन्जन प्रदान गर्दछ । मलाई आफू पत्रकार नभएकोमा खेद छ ।” उनकै शब्दमा पत्रकारिता त्यो हो, “जसले समाजमा दैनिक रुपमा भइरहने क्रियाकलापलाई सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्दछ ।”
समाज रुपान्तरणको उत्तम हतियारका रुपमा पत्रकारितालाई लिदैं प्रख्यात बेलायती नाटककार टोम स्टोपार्डले भनेका छन्, “म अझै विश्वस्त छु, कि यदि तपाईको चाहना संसार परिवर्तन गर्ने छ भने सबै भन्दा छिटो हतियार पत्रकारिता हो”
बादशाह बोनापार्ट, महान वैज्ञानिक एडिसन र नाटककार स्टोपार्डका उल्लेखित भनाईले पनि छापाबाट, आवाज (रेडियो) हुँदैं दृश्य (टेलिभिजन) र सन १९८० को दशकदेखि इन्टरनेटको माध्यमले विकास हुदैं गएको ‘पत्रकारिता’ पेशाको महत्व कति छ भन्ने प्रष्ट पार्छ । राज्यको चौथो अंगका रुपमा स्विकार गरिएको ‘पत्रकारिता’ नागरिकको चेतना स्तर वृद्धी गर्न, राज्यका तीनै तह (स्थानीय तह, प्रदेश र संघ)का सूचनालाई जनस्तरसम्म प्रवाह गर्न, सेवा प्रदायक निकायकहरुका गतिविधिलाई लोकतान्त्रीक ढंगबाट पारदर्शी, मितव्ययी र जवाफदेही बनाउनकै लागि भएपनि हरेक नागरिक र निकायका लागि अत्यावश्यक बन्दै गएको छ । शुरुशुरुतिर शासक वर्ग आपूmले गरेका काम कारबाहीलाई बाहिर ल्याउन शुरुवात गरिएको ‘पत्रकारिता’ आज समाज रुपान्तरणको महत्वपूर्ण आयामका रुपमा स्थापीत हुंदै गएको छ ।
कुनाको खबरलाई छिनभरमै विश्वभर फैलाउन, नागरिकलाई जागरुक र सचेत बनाउने कामका लागि आम सञ्चार माध्यमको प्रयोगबाट पत्रकारहरुले गर्ने ‘पत्रकारिता’ पछिल्लो समय एक सम्मानित पेशाका रुपमा लिन थालिएको छ । विकासका अधिकांश सूचक सकरात्मक भएका विकासशील राष्ट्रहरुमा समेत अति अपरिहार्य मानिने यो पेशाको महत्व हाम्रो जस्तो विकासशील राष्ट्रमा अँझ बढि छ । सञ्चारको आधारभूत सेवा विस्तार नभएको, एक आपसमा सूचना तथा जानकारी आदान–प्रदान गर्न समाजले आदीमकाल देखि प्रयोग गर्दै आएका सञ्चारका रैथाने विधि प्रयोग गर्ने दुर्गम क्षेत्रमा यसको महत्व पछिल्ला वर्षहरुमा थप बढ्दै गएको छ ।
कर्णालीमा पत्रकारिताको अवस्था
विक्रम सम्वत १९०८ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्किदा भित्र्याएको प्रेस (पछि ‘गिद्दे प्रेस’ नाम दिएको), संवत १९४३ सालमा मोतीराम भट्टले भारतको बनारसमा प्रकाशित गरेको नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’, १९५५ सालमा नेपालमै प्रकाशन भएको ‘सुधासागर’बाट शुरु भएको नेपालको पत्रकारिताले साढे एक शताब्दी पार गरेको छ । तर आधुनिक पत्रकारिताको हिसाबले भर्खर वामे सर्दै गरेको कर्णालीको पत्रकारिताले अँझै अपेक्षित रुपमा गति लिन सकेको छैन् ।
भौगोलिक विकटता, आवश्यक जनशक्तिको अभाव, विद्युत, टेलिफोन, इमेल इन्टरनेट लगायतका समस्याका कारण विकासका हिसाबले कर्णालीको आधुनिक पत्रकारिता केहि पछि छ । २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पश्चात संस्थागत विकास शुरु भएको कर्णालीको पत्रकारितालाई संघिय संरचनाले थप मलजल गरेको देखिन्छ । देशको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थामुताविक व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार सहित गठन भएका प्रदेश र स्थानीय तहका संरचनाले दुर्गम क्षेत्रको पत्रकारितालाई सन्तोषजनक रुपमा अघि बढ्ने अवसर प्रदान गरेको छ । दश जिल्ला भएको कर्णाली प्रदेशमा दर्ता भएर सञ्चालनमा आएका सञ्चार माध्यमको संख्या २४० पुग्नु र नेपाल पत्रकार महासंघको रेकर्ड अनुसार सदस्य पत्रकारको संख्या ८५९ हुनुले पनि कर्णालीको पत्रकारिता संख्यात्मक र गुणत्मक दुवै हिसाबले वृद्धि हुदैं गएको देखिन्छ । प्रेस काउन्सील नेपालमा भएको रेकर्ड अनुसार कर्णालीमा ८८ वटा पत्रपत्रिका दर्ता भएका छन् भने ४ दजर्न बढि नियमित सञ्चालनमा रहेको देखिन्छ । यसैगरी ५८ वटा रेडियो, ३ वटा केवल टेलिभिजन, न्यू मिडियाका रुपमा तिब्र विकास हुंदै गएको अनलाइनको (सूचिकरण पश्चात दर्ता भएका मात्र) संख्या ९१ हुनुले पनि केहि आशाका संकेत देख्न सकिन्छ । प्रेस काउन्सील नेपालमा सूचिकरण भएर सूचना तथा प्रसारण विभागमा दर्ता नभएर सञ्चालनमा आएका अनलाइनको संख्या उल्लेख गर्ने हो भने यो संख्या अँझ बढि छ ।
स्रोतः प्रेस काउन्सील नेपाल
दुर्गम क्षेत्रको पत्रकारिताका चुनौती
क. पेशागत दक्षता
रैबारे (देश विदेशका खबर गाउँमा पुर्याउने), रैखाबारे, शिक्षक, समालोचक, नेता, ठालु र समग्र समाज जागरणको अविभावक मानिने दुर्गम क्षेत्रको पत्रकारिता जसरी सामाजिक रुपान्तरण र सुधारमा महत्वपुर्ण भुमिका खेलिरहेको छ, त्यसको सयौ गुणा बढि चुनौतीका चाङमा लडिवुडी गर्दै व्यवसायिकताको साख बचाउनु परेको छ । व्यवसायीक हिसाबले भर्खर बामे सरिसरहेको दुर्गम क्षेत्रको पत्रकारिता टिकटिके (सादा) मोवाइलबाट कैद गरेका तस्बीरहरुले अत्याधुनिक क्यामराले कैद गरेका तस्बीरको मुकाविला गर्नु, प्रवेशीका परिक्षा उत्र्रिण गर्ने वित्तिकै प्रेस पास गलामा भिरेर रैथाने समाजमा पत्रकारको परिचायमै मख्ख बन्दै मोवाइलमै टाइप गरेका समाचारले विश्व विद्यालयमा दशकौ पत्रकारिता विषय अध्ययपन गराइरहेका ‘शिक्षक पत्रकार’, मुलधारका सञ्चार माध्यममा वर्षौ देखि दैनिक १८ घण्टा समाचारकै खेती गर्ने ‘सम्पादक पत्रकार’हरुले लेखेका समाचारसँग प्रतिष्पर्धा गर्नु दुर्गम क्षेत्रको ‘पत्रकारिता’को सबै भन्दा ठूलो चुनौती हो ।
वि.सं. १८४६ को नेपाल एकिकरण पश्चात देशको राजधानीबाट निकै दूरदराज भनेर कहलिएको कर्णालीलगायतका दुर्गम क्षेत्रको पत्रकारितासँग राज्यबाट प्रदान गरिने हरेक विकास र सेवा सुविधाको वितरणमा भएको विभेदबाट सृजित परिणामको दिर्घकालिन असरले ओबानोको माछा झैं तड्पीदै अघि बढ्नुको कुनै विकल्प छैन् । राजधानीलगायतका शहर केन्द्रीत सञ्चार माध्यमका पाठक, स्रोता, दर्शकको दयासहितको समर्थन बटुल्न र आप्mनो पहुँच बिस्तारको प्रमाण पेश गर्दै राज्यको अनुदान वृद्धी गर्न ‘बाउरे (स्वयम्सेवी) पत्रकार’, ‘स्ट्रिन्जर पत्रकार’बाट शुरु भएको दुर्गमको आधुनिक पत्रकारितालाई व्यावसायिक रुपमा अँगाल्न फलामे चिउरा चपाउनु भन्दा कठिन छ भन्ने प्रमाण हुम्लाबाट राजधानीका लागि दुई दशक लामो समयसम्म पंक्तिकारले गरेको ‘स्ट्रिन्जर पत्रकारिता’को अनुभव भन्दा बढि के हुनसक्छ ?
ख. आधारभुत सञ्चार सामाग्रीको अभाव
राज्यको चौथो अंगको उपाधी पाएर पनि दुर्गमको ‘पत्रकारिता’ विभिन्न चुनौतीसंग मुकाविला गरिरहेको छ । राष्ट्रिय स्तरका मिडिया भन्दा मोफसल, मोफसल भन्दा कर्णाली जस्ता दुर्गम क्षेत्रका मिडियाहरूमा स्वभावतैः बढी चुनौती छन् । दुर्गमबाट पत्रकारिता पेशामा आवद्ध भएर गरेको अनुभवले पनि पत्रकारिता अवसरले भरिएको चुनौतीपूर्ण पेशा हो भन्नेमा कुनै कञ्जुस्याई गर्नु छैन् । दुर्गम क्षेत्रका कार्यरत पत्रकारहरुसँग ‘पत्रकारिता’का लागि अत्यावश्यक सञ्चार सामाग्री नहुनु व्यावसायिकताको प्रमूख चुनौती हो । हरेक बिहान उठ्यो हातमा सानो डायरी, कलम, रकेर्ड र भए क्यामेरा नभए आफूसँगको मोवाइल फोन चार्ज गरेर समाचार खोजिको कामले गन्तव्य बिनाको यात्रामा भौतारिनु दुर्गमका प्रायः पत्रकारहरुको दैनिकी नैं हो । आफूलाई जानकारीमा आएका प्राय कार्यक्रममा उपस्थित हुने, कार्यक्रम नभए कसरी नयाँ विषयको समाचार तयार पार्न सकिन्छ ? भन्दै भौतारिनु यहाँका पत्रकारहरुको दिनचर्या नैं बनेको देखिन्छ । तर सञ्चार सामाग्री तथा पत्रकारिताको आधाुरभूत क्षमताका अभावले दुःखले रिर्पोटिङ गरेर तयार पारेका समाचार सामाग्रीहरुलाई प्रविधि र विषयवस्तु उठानका हिसाबले गुणस्तर दिन नसक्दा सञ्चार माध्यममा अपेक्षित स्थान नपाउने कटु यर्थातताको अर्को परिचय दुर्गमको पत्रकारिता हो ।
ग. भौगोलिक विषमता/यातायात
दुर्गम क्षेत्रको पत्रकारितालाई भौगोलिक विकटताले पनि चुनौती दिएको छ । स्थलगत रिर्पोटिङका लागि यातायातको सहवज पहुँच नहुनु, आपत्कालिन घटनामा तत्कालै बखर गर्न संचार क्षेत्रको पहुँच प्रभावकारी नहुनु जस्ता कारण दुर्गमको पत्रकारिताका स्थायी चुनौती जस्तै छन् । कुनै क्षेत्रमा केहि घटना घट्यो तत्कालै घटना स्थलमा पुगेर समाचार संप्रेषण गर्न नसक्नु दुर्गमको पत्रकारिताको सबैभन्दा ठूलो बिडम्बना हो । भौगोलिक रुपमा निकै विकट क्षेत्रमा पुग्ने पैदल यात्रा बाहेक अन्य विकल्प नहुनु, पैदलमा पुग्दा विषयवस्तुले फरक मोड लिनु, रिर्पोटिङ स्थलबाट जिल्ला सदरमुकाम आइपुग्दा समाचारको तत्थ्य र अवस्थामा निकै फरकपन आउनु दुर्गमका पत्रकारले भोग्ने पिंडाको वर्णन जति गरेपनि कमै हुन्छ । जसलाई समाधान गर्न न तीनै तहको सरकारले सकेको छ न त्यसको मर्म सञ्चार माध्यमको डेक्समा बसेर प्रकाशित÷प्रसारित हुने समाचारको प्रारम्भीक सूचि तयार पार्ने डेक्स प्रमुखले बुझेको छ न त समाचारलाई सञ्चार गृहकोतर्फबाट अन्तिम लाइसेन्स प्रदान गर्ने सम्पादकलाई नैं यसका बारेमा विश्वविद्यालयमा सिकाइएको छ । यो त केवल दूरदराजमा बस्ने पत्रकारको पेशागत खिल बनेर बसेको छ ।
घ. पेशागत असुरक्षा
पेशागत सुरक्षा पत्रकारिता जगतै चुनौती हो । पत्रकारमाथि भौतिक रुपमा आक्रमण वा अवरोध हुनु पेशागत असुरक्षा त हुदैं हो त्यसका अलावा कुनै पनि कारणले पत्रकारले निर्भयका साथ समाचार–कर्म गर्ने अवस्थामा बाधा हुनुपनि दुर्गमका पत्रकारले भोग्ने पेशागत असुरक्षा हो । एकातर्फ सिमति साधन र स्रोतका बावजुत रिर्पोटिङकै क्रममा व्यहोर्ने भौतिक बाधा व्यवधान यहाँका पत्रकारले भोग्ने सुरक्षागत चुनौती हो भने अर्को प्रकाशन÷प्रसारण गरेको समाचार सामाग्रीमा आप्mनो चित्त नबुझे भौतोकि रुपमै पत्रकारलाई आक्रमण गर्ने, सञ्चार सामाग्री तोडफोड गर्ने, सञ्चार माध्यममै प्रवेश गरेर हानी पुर्याउने कार्य अन्यत्र भन्दा दुर्गममा बढि हुने गरेका छन् । एक दशकभन्दा लामो द्वन्द्वका कारण निर्धक्क भएर काम गर्ने मौका नपाएका पत्रकारहरूको सूचिमा दुर्गमको लिक्ष्ट बढि नैं छ । त्रकारमाथि राज्य र द्वन्द्वरत पक्षबाट सांघातिक हमला, अभद्र व्यवहार, यातना, कुटपिट, अपहरण वा कब्जा एवं हत्या समेतका धम्कि बारम्बार आउनु दुर्गमका पत्रकारका लागि कुनै नौलो विषय होइन् । यो क्रम राजधानीलगायतका शहरमा भन्दा दुर्गम क्षेत्रमा स्वभावतै बढि छ । सुरक्षाको उचित प्रबन्धको अभावले पत्रकारहरू कतिपय घटनाहरूको तथ्यपरक समाचारहरू सार्वजनिक गर्न सकिरहेका छैनन्, जसकारण सम्पुर्ण जनताले देशमा के भईरहेको छ ? भन्ने कुराहरू थाहा नपाउने अवस्था छ । यति मात्रै होइन अनेकन बाधा व्यवधानका बावजुत दुर्गममा हरेका पत्रकारले समाचार संप्रेषण गरिरहेकै बेला सञ्चार माध्यममले कामबाट हटाउने, एकै जिम्मेवारीमा अर्को व्यक्ति थप्ने (सरकारी सञ्चार माध्यममा यो बढि छ) जस्ता हर्कतले दुर्गमको ‘पत्रकारिता’ पेशागत असुरक्षाको जंजिरबाट मुक्त हुन सकिरहेको छैन् ।
समाधानका उपाय
युगौदेखि केन्द्रिय शासन व्यवस्थाको हेयको नजरमा रहेको कर्णालीलगायतको दुर्गम क्षेत्रको ‘पत्रकारिता’लाई स्थानीय सवाल उठानमा न्यायीक बनाउन (संघ, प्रदेश र स्थानीय तहमा) निर्माण हुने नीति र कानूनलाई दुर्गम क्षेत्रमैत्री बनाउनसके आधा भन्दा बढि समस्याहरुको हल हुने देखिन्छ । यसका अलावा व्यावसायिकताको यात्रामा भर्खर वामेसर्दै गरेको दुर्गम क्षेत्रको पत्रकारितालाई विषय उठान, दक्षताका हिसाबले थप परिपक्व बनाउदैं समाजको विश्वशनिय पेशा र नयाँ पुस्ताको आकर्षक क्षेत्रका रुपमा विकास गर्न निम्न विषयहरुको संवोधन गर्न आवश्यक छ ।
क. दुर्गम क्षेत्रप्रतिको धारणामा परिवर्तन
हाम्रो मूलधारको पत्रकारिताले आजसम्म कर्णालीलगायतका दुर्गम क्षेत्रलाई भोकमरी, रोगमरी, विकट, पछौटेपन, अभाव, पिंडाको प्रायको क्षेत्रका रुपमा चित्रित गर्यो । सञ्चार माध्यमले प्रसारण तथा प्रकाशन गरेका दयामूखि लिडबाट प्रस्तुत गरेका समाचार सामाग्रीले समग्रः दुर्गम क्षेत्रप्रति आम पाठक, स्रोता र दर्शकको धारणा कस्तो हुने हो ? भन्ने प्रतिअसरको आँकलन नगर्दा यस क्षेत्रको पत्रकारिताले वृद्धि र विकासमा अपेक्षित परिणाम हात पार्न सकेन । सँधै खडेरीले चामलको हाहाकार...., झाडापखालाबाट ...........को ज्यान गयो, ..... फलानो जिल्लामा हिपतापले जनजीवन प्रभावित, .... भन्ने शिर्षकका सामाचारले मात्रै पत्रिकाका पेज, रेडियोका रिर्पोट र टेलिभिजनका दृश्यमा स्थान पाउने गर्नाले एकातर्फ कर्णालीलगायत दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको अन्य व्यवसायिक क्षमतामा पुर्णविराम लाग्यो भने अर्कोतर्फ डेटलाइन, बाइलाइन र कोडअनकोडको नाम मात्रै परिवर्तन गरेर पुरानैं फरम्याटमा समाचार लेख्ने पत्रकारितमा ‘फरम्याट समाचार’को दुःखत शुरुवात भयो ।
स्थानीय स्तरमा भएका विषयवस्तुका आधारमा दुर्गमबाट पठाइने समाचार भन्दा न्युजरुम र सहतमा झट्ट हेर्दा देखापरेको मानविय संवेदनाले बढि स्थान पाउन थाल्थ्यो । समाजमा पत्रकारको परिचय बोकेपछि निकै तमासा देखाएर हिड्ने दुर्गमको पत्रकारले कसरी हुन्छ ५ सय रकम खर्चेर पठाएको समाचारबाट ५० रुपैयाँ भएपनि आर्जन गर्ने छरितो बाटो अबलम्बन गर्न थाल्यो । फलस्वरुपः विद्यामान पत्रकारिताको अभ्यासले दुर्गम क्षेत्रमा खासै मुर्त रुप धारण गर्न सकेन । यदि दुर्गम क्षेत्रको पत्रकारितालाई व्यवासायिक र मर्यादित बनाउने हो भने अहिलेसम्मको पत्रकारितामा गरिएको शास्त्रीय ९अबिकष्अष्ब०ि अभ्यासमा व्यापक फेर बल ल्याउन जरुरी छ । दुर्गम क्षेत्रमा गरेको रिर्पोटिङका आधारमा राज्यले निर्माण गरेको नीति परिवर्तन हुनसक्छ । दुर्गम अभाव, पिडा र दयाको भोको मात्रै होइन् समृद्ध देश निर्माणका लागि पर्यवरणीय, सभ्यता, साँस्कृतीक, धार्मिक र पर्यटकीय क्षेत्रको खानी पनि हो भन्ने सकरात्मक धारणा निर्माण गर्ने हो भने स्वतः दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुमा पैदा हुने सकरात्मक धारणाको विकासमार्फत समग्र पत्रकारिताले गति लिने देखिन्छ ।
ख. अनुदानमूखि पत्रकारिताको व्यवाहारिक कार्यान्वयन
दुर्गम क्षेत्रको पत्रकारिताले गति नलिनुको अर्को महत्वपूर्ण कारण स्रोत (आर्थिक तथा भौतिक) अभाव पनि हो । प्रवेशिका परिक्षा उत्रिण गर्ने वित्तिकै ‘बाउरे पत्रकार’का रुपमा यो पेशामा प्रवेश गरेको नवप्रवेशी पत्रकारले शुरुमा टिकटिके (सादा) र पछि टच (एन्रोइड) मोवाइलको भरमा संस्था र आप्mनो पेशाको साख बचाउन प्रतिवद्ध रहन्छ । गलामा स्ट्रिन्जरको परिचय–पत्र बोकेर जिल्ला सदरमुकाममा आयोजना हुने औपचारिक तथा अनौपचारिक कार्यक्रममा बहकिदैं कसैसँग कम्प्युटर लिप्mट पाए कम्प्युटरमा, नपाए आफूसँगै भएको मोवाइलमा समाचार टाइप गरेर सञ्चार गृहलाई पठाउँछ । आफ्नो विवशताका बावजुत मोवाइलबाट पठाएको समाचार÷फोटो÷भिडियो÷आवाजमा डेक्सले अपेक्षा गरेको गुणस्तर पुग्दैन् । साँझपख समयचाप, पेज तथा वुटेलिन भर्नुपर्ने बाध्यतामा बाँििधएको डेक्स चिफ, सम्पादकले त्यहि समाचार पनि रिसाइकलविनमा पठाएपछि उसका (दुृर्गमको पत्रकार) हरेक दैनिकी ऋणात्मकबाट शुरु हुन्छ । भौतिक हिसाबले उ हरेक दिन समाचार पठाउँछ तर उसको समाचार प्रकाशन तथा प्रसारण हुदैन् । यसरी उ केही वर्ष÷महिना भौतारिन्छ । स्थानीय स्तरमा हुने भवितब्य र आपत्कालीन घटनामा गरेको टेलिफोन रिर्पोट र म्यासेन्जर टाइपबाट उसको स्ट्रिन्जरको परिचय–पत्र प्राप्त गर्ने सूचिबाट नाम त हट्दैन तर उ सँग आवश्यक सञ्चार सामाग्री (ल्यापटप, क्यामरा, रेकर्डर) खरिद गर्ने, इन्टरनेट जडान गर्ने आर्थिक स्रोत नहुँदा व्यावसायिक क्षमता पनि बढ्ैन् । अन्ततः केही समयपछि उ पत्रकारिता पेशा बाटै बाहिरनुको विकल्प नेखेरै अन्यत्र लाग्छ ।
वास्तवमै तिनै तहका सरकार (स्थानीय, प्रेश र संघ) ले दुर्गमको पत्राकरिताको विकास चाहने हो भने, नेपालको संविधानले परिभाषित गरेको दुर्गम पिछडिएका क्षेत्रका नागरिकलाई नुन, तेल, चामल आदीमा अनुदानको व्यवस्था गरे अनुसार पत्रकारितामा अनुदानको व्यवस्था गर्न अपरिहार्य छ । दुर्गमको पत्रकारको नागरिकता र सञ्चार माध्यममको नियुक्तीका आधारमा उसलाई सञ्चार सामाग्री खरिमा कम्तीमा ६० प्रतिशत अनुदानको व्यवस्था गर्ने हो भने यहाँको पत्रकारिताले व्यावसायिक गति लिने देखिन्छ । हुन त प्रेस काउन्सील नेपालको मातहत रहेको मिडिया विकास कोषले पनि दुर्गमका पत्रकार (विषेश गरेर कर्णाली अञ्चलका)हरु र सञ्चार माध्यममका लागि २०७१ सालयता सतप्रतिशत (१५ प्रतिशत) ब्याज अनुदान र सञ्चार सामाग्री (क्यामरा, ल्यापट खरिद) मा ४० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । तर यो पहुँचका आधारमा निर्णय हुने र अत्यावश्यक परेको सञ्चार माध्यम र पत्रकारलाई आवश्यक परेको समयमा नपाइने भएकाले त्यति व्यवहारिक देखिदैन् । जसका लागि सूचना तथा सञ्चार मन्त्री, प्रदेशको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्री, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सील नेपाल, नेपाल पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहकार्यमा वि.सं. २०७१ मंसिर २५ र २६ गते मुगु जिल्लाको रारामा सम्पन्न रारा मिडिया समिट २०७१ ले जारीको १४ बुदें घोषणा पत्र र २०७८ साल असार १७ देखि १७ गतेसम्म हुम्ला जिल्लाको सिमकोटमा आयोजना गरेको एकिकृत सञ्चार शिविर २०७८ ले जारी गरेको ९ बुदें सिमकोट घोषणा पत्रमा पनि यस्ता विषय समेटिएका छन् तर त्यसको प्रभावकारी कार्यान्वयन नहुाँ दुर्गमको पत्रकारिताको अवस्थामा खासै फेरबदल आउन सकेको छैन् ।
ग) सञ्चार माध्यममा दुर्गम (कर्णाली) ‘विट’को व्यवस्था
लामो समयको विभेद र उत्पीडनले सञ्चालन भएका राजनीतिक तथा सामाजिक परिवर्तन पश्चात जननिर्वाचित संविधानसभाबाट बनेको संविधानले दुर्गम क्षेत्रलाई पनि महिला, दलित, आदीवासी जानजाती, मधेशी, मुस्लीम, थारु, अल्पसंख्याक आदी जस्तै एउटा थिम (विषेश संरक्षित वर्ग) का रुपमा परिभाषित गरेको छ । यो समुदायको कमजोर उपस्थिती, कमजोर मानव विकास सुचांकसमेतलाई आधार बनाएर राज्यका निर्णाक तहमा प्रतिनिधित्व गराउने र सोही अनुपातमा सेवा प्रवाह गराउने नीति राज्यले अंगिकार गरेको छ । यो अवस्था पत्रकारितामा पनि केही हदसम्म प्रारम्भ भएको देखिन्छ । निर्धारित विषय र क्षेत्रका बारेमा विषेश प्रकारको रिर्पोटिङ गर्न र लुकेका विषयहरुको खोजविन गरी प्रकाशमा ल्याउनका लागि (क्षेत्र विषेश) विट रिर्पोटिङको शुरुवात पत्रकापरतामा भएको छ ।
राष्ट्रिय स्तरका अधिकांश ठूला सञ्चार गृहले विभिन्न विषयमा क्षेत्रहरुको रिर्पोटिङका लागि ‘विट’ बनाएरै सम्बन्धित विषयवस्तुको उठान गरिरहेका छन् । हालसम्म नेपालका ठूला सञ्चार गृहले राजनीतिक दलहरु, स्थानीय विकास, अर्थ–बाणीज्य, अपराध–अनुसन्धान, वन तथा वातावरण, जलवायू परिवर्तन, विज्ञान तथा प्रविधि, खेलकुद, महिला, मधेश जस्ता विषयगत क्षेत्रलाई ‘विट’ रिर्पोटिङका क्षेत्रका रुपमा स्थापित गरिसकेका छन् । भौगोलिक, धार्मिक, सामाजिक, भाषिक, साँस्कृतीक र पर्यवरणीय विधिताको उर्भर क्षेत्रका रुपमा रहेको दुर्गम क्षेत्रका विषयवस्तु उठान गर्न, त्यहाँका अन्तरनिहित विषयलाई प्रकाशमा ल्याउदैं समग्र विकासमा जोड दिन तत्काल राज्यद्धारा सञ्चालित सञ्चार माध्यमहरुमा दुर्गम (कर्णाली) ‘विट’को व्यवस्था गर्न जरुरी देखिन्छ । लामो समय दुर्गम क्षेत्रमा स्ट्रिन्जरको रुपमा काम गरेको दुर्गमका पत्रकारहरुलाई उसको क्षमता र योग्यताका आधारमा उक्त ‘विट’ मा अवसर दिन शुरु गरिने हो भने दुर्गममा भएको पत्रकारिताको वर्तमान अवस्थामा उल्लेख्य सुधार हुने देखिन्छ । पहिलो चरणमा राज्यद्धारा सञ्चालन गरेका सञ्चार माध्यममा र पछि अन्य मुलधारका सञ्चार माध्यममा दुर्गम (कर्णाली) ‘विट’ को व्यवस्था गरिने हो भने मात्र कर्णाली जस्ता दुर्गमका विषयवस्तुले राष्ट्रिय स्तरका सञ्चार माध्यममा न्यायोचित स्थान पाउँदै दुर्गम क्षेत्रको सिंगो ‘पत्रकारिता’ले पनि व्यावसायिक फड्को मार्ने थियो ।
ग) अधिकार सहितको आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको व्यवस्था
बढ्दो सञ्चारको विकास सगै दुर्गम (कर्णाली)मा समेत सञ्चार संस्थाको विकासक्रम तिब्र तगिमा अघि बढि रहेको छ । सूचना र सञ्चारको क्षेत्रमा आएको व्यावपक परिवर्तन र स्थानीय तहले राजनीतिक नेतृत्व पाएसँगै दुर्गम क्षेत्रमा खोलिएका अनलाइन पत्रिकाले यो दर दिन दुगना रात चौगुनाका हिसाबले बढिरहेको छ । पत्रकारिताको वृद्धी र विकासका लागि यो सुखद पक्ष हो । तर पत्रकारिताको सामान्य ज्ञान नभएका पत्रकारबाटै यसरी अनलाइन पत्रिका सञ्चालनमा ल्याइनुको पछाडी अर्को ठूलो चुनौती निकट भविष्यमै नआउला भन्न सकिन्न । त्यसलाई मध्यनजर गर्दै सबै सञ्चार माध्यमले प्रस्तुत गर्ने विषयवस्तुलाई मर्यादित र पत्रकारिताको आधारभूत सिद्धान्त मुताविक बनाउन सरकारले अधिकार सहितको आमसञ्चार प्रशिक्षण प्रतिष्ठाको स्थापना गर्न वाञ्छनिय देखिन्छ । कम्तीमा प्रदेश स्तरसम्म प्रभावकारी संरचना सहितको यो प्रतिष्ठानले प्रदान गर्ने क्षमता अभिवृद्धीमा सञ्चार माध्यमको उपस्थिती र पत्रकारिताको विकासको अवस्थालाई मध्येनजर राख्दै व्यावसायिक दक्षता वृद्धी गराउन सके दुर्गमको पत्रकारितामा सकरात्मक परिवर्तन देखिने थियो । यसका अलावा विकासका दृष्टिले पछाडी रहेका दुर्गम जिल्लाहरुमा कम्तीमा एक उच्च माध्यमकि विद्यालयको अध्ययनमा पत्रकारिता विषय राख्ने व्यवस्थालाई नीतिगत रुपमा अनिवार्य बनाउने र त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई तीनै तहका सरकार र अन्य सरोकारवाला निकायबाट छात्रावृतीको व्यवस्था गर्ने हो भने पनि व्यावसायीक र मर्यादित पत्रकारिताको विकासले मृत रुप धारण गर्ने देखिन्छ ।
निष्कर्ष
समाजमा भए गरेका हरेक क्रियाकलाप नीति निर्माता, सेवा प्रदायक निकायदेखि आम नागरिक समक्ष र्पुयाउने प्रभावकारी माध्यम ‘पत्रकारिता’ मात्रै हो । राज्यको चौथो अंगका रुपमा स्थापित ‘पत्रकारिता’ले लुकेर बसेका घटनाको खोजी गर्ने, समाजमा रहेका विकृती, विसंगती, अनियमितताको बिरोधमा आवाज उठाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्विकल्पीक पेशा हो । कुनैपनि व्यक्ति, समाज र समग्र मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको विकास अपरिहार्य हुन्छ । आम नागरिकलाई सिंहदरबारदेखि दूरदराजसम्मका गतिविधिको जानकारी दिन प्रभावकारी सञ्चार क्षेत्रको विकासमा तिनै तह (स्थानीय, प्रदेश र संघ)का सरकारले स्पष्ट नीतिगत व्यवस्था सहितको ठोस कदम चाल्ने हो भने अनेकन समस्याको जंघारमा पौडिरहेको दुर्गमको पत्रकारितालाई अपेक्षित गति दिन सकिन्छ । यससका लागि सञ्चार क्षेत्रमा राज्य÷निजि क्षेत्रको लगानीमैत्री वातावरण र लगानी आवश्यक छ ।
अन्तमाः दुर्गमको पत्रकारिता क्षेत्रको वृद्धि र विकासका लागि मुलधारका सञ्चार माध्यम (राज्यद्धारा सञ्चालित वा निजि क्षेत्र)का नीति र समाचार डेक्स देखि सम्पादकीय टिमले गर्ने व्यवहारमा परिवर्तन आउनै पर्छ । यति मात्रै होइन् पत्रकारहरूको हकहितका लागि बनेका आचारसंहिताको पूर्ण पालना र पत्रकार श्रमजिवी ऐनको पूर्ण कार्यान्वयन दुर्गमको पत्रकारिता विकासका लागि अर्को अपरिहार्य विषय हो ।
व्यावसायिक पत्रकारिताको विकासले नै पत्रकारितालाई बढी जनमुखी र उपलब्धीमूलक बनाउँछ । राज्यले आचारसंहिता, नियम, कानुन बनाउने र प्रभाबकारी अनुगमन गरी विकासका सूचकका आधारमा दुर्गमका सञ्चार माध्यम (पत्रपत्रिका, रेडियो अनलाइन, टेलिभिजन आदी) को वर्गिकरण विकास र उचित संरक्षणको लागि स्रोत (विज्ञापन र अनुदान)को न्यायोचित वितरण गर्दै पत्रकारलाई पेशागत रुपमा दक्ष बनाउन सकेमा मात्रै समग्रः पत्रकारिताको विकासमा दुर्गम क्षेत्रले गर्ने योगदानमा कायापलट हुनसक्छ ।
यो लेख सूचना तथा प्रसारण विभागले भर्खरै प्रकाशन गरेको पत्रकारिता विषेशांक 'नेपाल'बाट साभार गएिको हो ।