सिमकोट। भोलि असोज २४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन वारिसे मार्फत दर्ता गर्न मिल्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कर्यालय हुम्लामा बसेको सर्वपक्षीय वैठकले जिल्ला बाहिर रहेका उम्मेदवारहरुको हकमा वारेसनामा मार्फत मनोनयन दर्ता गर्न मिल्ने भएको हो ।
मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले केही दिनयता मौशममा आएको प्रतिकुलताका कारण सिमकोट आउन नसकेकाले वारेसनामा मनोनयन दर्ता गर्न मिल्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी सिता परियार, जिल्लाका ४ वटै सुरक्षा निकाय र जिल्लामा स्थापित मुख्य राजनैतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका पार्टीका प्रमुख एव प्रतिनिधि र पत्रकारको उपस्थित रहेको बैठकले यस्तो निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।
बैठकले ४ वटा प्रस्तावमाथि छलफल गर्दै जिल्लामा आउन नसेका दलले सिफारिस गरेका उम्मेरदवारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सहजिकरण गर्ने बताइएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवारको मनोनयनपत्र दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार विहान १० वजे देखि वेलुका ५ बजेसम्मको समय निर्धारण गरेको छ ।
उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न स्वयम उम्मेरदवारको भौतिक उपस्थिती नभएपनि मान्य हुने बताइएको छ । भौतिक रुपमा मनोनय गर्न आउने दल र उम्मेरदवारका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा आउँदा सिमकोट गाउँ पालिकाको वडा नं ५ को काठेचुली महिला छात्राबास हुदै आउने र जाँदा मुख्य निर्वाचन अधिकृत कार्यालयबाट धुपी चौतारा हुँदै जाने रुढ तोकिएको छ ।
मनोनयन पत्र दर्ता गराउन निर्वाचन कानूनले निर्धारण गरेका अनुसुचीहरु उपलब्ध गराउनुका साथै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा निर्वाचन निर्देशिकाले तोके बमोजिमका कागजात सहित उपस्थित हुन सम्बन्धित दल र उम्मेरदवारलाई आग्रह गरिएको छ ।
बैठकमा पत्रकारहरुले समाचार संप्रेसण गर्दा राजनीतिक पार्टी र सम्बन्धीत सरकारी कार्यालयका आधिकारीक पदाधिकारीको अनुमती वेगर कुनै पनि दलको समाचार संप्रेषण नगर्ने तथा पत्रकारले राजनीतिक दल र कर्मचारीलाई आँचआउने सामाग्री संप्रेषण गरेमा तथा कुनै पनि पार्टीको पदाधिकारी तथा कार्यकर्ताले पत्रकारलाई समाचार संप्रेषण गरेकै भरमा धम्की लगाएतको गैर कानूनी काम गरेमा कानून बमोजिम हुने निर्णय गरिएको छ ।
मानोनयन दर्ता गर्दा आवश्यक कागजात
प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेरदवारको मनोनयनका लागि सम्बन्धित उम्मेरदवारको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि आवश्यक पर्छ ।
निर्वाचन आयोगका अनुसार उम्मेरदवारले निर्वाचन आयोगले प्रदान गर्ने मतदाता परिचय पत्रको प्रतिलिपी वा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, प्रस्तावक र समर्थकको मतदाता परिचलय पत्र वा मतदाता नामावलीमा नाम समावेश भएकाृ निस्सा, आयोगले निर्धारण गरेको ढाँचामा स्वघोषणा, राजनीतिक दलहरुको हकमा सम्बन्धित दलको औपचारिक पत्र, उम्मेरदवारका लागि आयोगले तोकेको धरौटी बैंकमा जम्मा गरेको बैंक भौचर, उम्मेरदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम र उम्मेरदवारको वैयत्तिक विवरण उपलब्ध गराउनु पर्नेछ ।
वारिसनामा मार्फत मनोनयन दर्ता गर्नेको हकमा सम्बन्धित उम्मेरदवारले वारिसनामा दिएको निर्धारित ढाँचाको कागज समेत आवश्यक पर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।