सिमकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका हिमाली जिल्ला हुम्लाका अधिकांश मतदान स्थल अति संवेदनशिलको सूचिमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदान स्थलमध्ये २४ वटा मतदान केन्द्रलाई अतिसंवेदनशिल मतदान स्थलका रुपमा राखेको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विप्लव नेतृत्वको माओवादी लगायतका राजनीतिक समुहहरुले निर्वाचन बिथोल्ने घोषणा गरे लगत्तै जिल्लाको सुरक्षा समितिको बैठकले आधा भन्दा बढि मतदान स्थललाई अति संवेदनशिल मतदान स्थलका रुपमा राखेको बताइएको छ । जिल्ला सुरक्षा समिति हुम्ला स्रोतका अनुसार ५८ वटा मतदान केन्द्रमध्ये २२ वटा संवेदनशिल र १२ वटा मतदान केन्द्र सुरक्षा चुनौतीका हिसाबले सामान्य रहेका छन् ।
केहि दिन अघि मात्रै गृहमन्त्रालय र निर्वाचन आयोगमा सिफारिस गरेको जिल्ला सुरक्षा समिति हुम्लाले ११ मतदान स्थल भएको नाम्खा गाउँपालिकामा ५ वटा अतिसंवेदनशिल, ३ संवेदनशिल र ३ सामान्य मतदान केन्द्रका रुपमा बर्गिकरण गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा पनि ४ वटा मतदान केन्द्र अतिसंवेदनशिल, ३ संवेदनशिल र २ मतदान केन्द्र सामान्य रहेको निचोड निकालेको छ । सिमकोटका आठ वडामा ९ वटा मतदान केन्द्र तय गरिएको छ ।
५ मतदान केन्द्र रहेको खार्पुनाथ गाउँपालिकामा २ अतिसंवेदनशिल, २ संवेदनशिल र १ सामान्य रुपमा वर्गिकरण गरिएको छ । विप्लव नेतृत्वको माओवादीको जिल्ला इन्चार्जको गाउँ, र स्थानीय तहको निर्वाचनमा एक जनाको ज्यान जानेगरी विवदा भएकोले खार्पुनाथका २ मतदान केन्द्रलाई अतिसंवेदनशील मतदान केन्द्रका रुपमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला सुरक्षा व्यवस्थापन समिति हुम्लाले १२ वटा मतदान केन्द्र रहेको सर्केगाड गाउँपालिकामा ४ मतदान केन्द्रलाई अतिसंवेदनशिल केन्द्रका रुपमा राखेको छ । जहाँ ४ वटा संवेदनशिल र ४ वटा मतदानकेन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा राखिएको छ ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पुनः मतदान भएको चंखेलीमा ३ अतिसंवेदनशिल र ३ मतदान केन्द्रलाई संवेदनशिल मतदान केन्द्रका रुपमा राखिएको छ । त्यहाँ ६ वटा मात्रै मतचदान केन्द्र रहेका छन् । ६ मतदान केन्द्र हरेको जिल्लाको अदानचुली गाउँपालिकामा १ अतिसंवेदशिल र ५ संवेदनशिल मतदान केन्द्रका रुपमा राखिएको जिल्ला सुरक्षा समितिका एकजना सदस्यले जानकारी दिए ।
मतदान केन्द्रको संख्या र नाम सुरक्षा संवेदनशिलताका हिसाबले पनि भन्न नमिल्ने बताएकी ती सदस्यका अनुसार ताजकोट गाउँपालिका ४ मतदान केन्द्र अतिसंवेदशनशिल, २ संवेदनशिल र १ सामान्य रहेका निष्कर्ष निकालिएको छ ।
तीन प्रकारले जिल्लाका सबै कमतदान केन्द्रको वर्गिकरण गरेपछि गृहमन्त्रालयसँगको परामर्शमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा तायर पारेको एकिकृत सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको बताइएको छ ।