काठमाडौं । काठमाडौं । उपत्यकामा प्रतिनिधिसभाका १५ निर्वाचन क्षेत्रमा तीन सय ६० जना उम्मेदवारमध्ये स्वतन्त्र मात्रै एक सय ४० जना छन् । त्यसबाहेक साना दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, लौरो अभियान चलाइरहेको हाम्रो नेपाली पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि ठूलो संख्यामा छन् । संख्याका हिसाबले मात्र होइन, व्यक्ति र मुद्दाको दृष्टिले पनि यसपटक उपत्यकामा ठूला दललाई साना र स्वतन्त्रको चुनौती थपिएको छ ।
गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन साहले अत्यधिक मतसहित काठमाडौं महानगरको मेयरमा अप्रत्याशित जित हासिल गरेपछि स्वतन्त्र र साना दलका उम्मेदवार उत्साही छन् । उपत्यकाका मतदाताको मनोविज्ञान बुझ्न नसकेर ठूला दलका उम्मेदवार बेचैन छन् ।
स्थानीय तहको परिणामपछि खासगरी काठमाडौं १, २, ५, ७, ८, ९ र ललितपुर ३ मा ठूला दलका उम्मेदवारलाई साना दल र स्वतन्त्रको चुनौती धेरै छ । जित नै हात पार्न नसके पनि यस्ता उम्मेदवारले ठूला दलहरूको नतिजामा भने निर्णायक भूमिका खेल्ने विश्लेषकहरूको अनुमान छ । ठूला दलप्रति रहेको मतदाताको असन्तुष्टि नतिजामा देखिन सक्ने सम्भावना विश्लेषकहरू औँल्याउँछन् ।
काठमाडौं उपत्यकाका सात निर्वाचन क्षेत्रमा स्वतन्त्र र साना दलका उम्मेदवार मतदाताको घर–घर पुगेर आक्रामक प्रचार मात्रै गरिरहेका छैनन्, ठूला दलप्रति मतदातामा रहेको असन्तुष्टि ‘क्यास’ गर्ने दाउमा छन् ।
लगातार तीनपटक काठमाडौं १ बाट जितेका कांग्रेस नेता प्रकाशमान सिंह चौथो जितको प्रयासमा छन् । ०७४ मा आठ सय १८ मतले पराजित विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र यसपटक फेरि मैदानमा उत्रिएका छन् । यसपालि उनी राप्रपाबाट उम्मेदवार छन् । घरदैलोमा व्यस्त मिश्र भन्छन्, ‘मतदाता उत्साहित छन् । जहाँ पुगे पनि मतदाता अघिल्लोपटक जिताउन सकिएन, यसपटक जिताउँछौँ भन्छन् ।’
काठमाडौं : स् कुल ४५ हजार १८ मतदाता रहेको काठमाडौं १ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन् । जसमध्ये २१ हजार पाँच सय ७० पुरुष र २३ हजार चार सय ४८ महिला मतदाता छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत जोड्दा सत्तागठबन्धन एमालेभन्दा एक हजार तीन सय ४७ मतले अगाडि देखिन्छ । सत्तागठबन्धनको मत यहाँ १० हजार आठ सय ८८ छ भने एमालेको नौ हजार पाँच सय ४१ मत । जसमा कांग्रेसको मात्रै नौ हजार आठ सय ९५ छ । राप्रपाको भने एक हजार तीन सय ७६ मत छ ।
एमालेबाट यहाँ युवा नेता किरण पौडेल उम्मेदवार छन् । स्थानीय तहको अंकगणितले यहाँ कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर, यो क्षेत्रमा ०७४ मा मिश्रले र स्थानीय तहमा बालेनले पाएको मतशैली हेर्दा यहाँका मतदाता गतिशील छन् भन्न सकिन्छ । जसले दुई ठूला दलबीच देखिएको झिनो मतान्तरमा हस्तक्षेप गर्न सक्छन् ।
यही क्षेत्रबाट उम्मेदवार छन्, पूर्वडिआइजी रमेश खरेल । नेपाल सुशासन पार्टीका तर्फबाट उम्मेदवार रहेका उनी अहिले एक–दुईजना सहयोगी मात्रै लिएर हातमा पर्चासहित मतदाताका घर–घर र पसल–पसल पुगिरहेका छन् । जहाँ पुग्छन्, त्यहाँ सीधै आफूलाई भोट दिनु भन्दैनन्, कूटनीतिक शैलीमा बोल्छन्– यसपटक असल मान्छेलाई ल्याउनुपर्छ है ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घन्टी’ले पनि काठमाडौं १ मा उम्मेदवारी दिएको छ । पार्टीबाट अभियन्ता पुकार बम उम्मेदवार छन् । ‘हामी राजनीति गर्न होइन, बदल्न आएका हौँ’ भन्दै उनी अहिले आफ्नो निर्वाचन क्षेत्रमा पाँचौँ चरणको चुनावी अभियान चलाइरहेका छन् । हातमा नेपालको झन्डा र समर्थकसहित दिनहुँ घरदैलो र चुनावी कोणसभा गरिरहेका उनी विवेकशील नेपाली दलका संस्थापकमध्येका एक हुन् । बमले ‘अकुपाई बालुवाटार’ अभियान, डा। गोविन्द केसीको अनशन, ‘नेपाल खुला छ’जस्ता प्रतिरोधका राजनीतिक अभियानमा सहभागिता जनाएका थिए ।
मिश्र यसपटक राप्रपाबाट उम्मेदवार बनेपछि विवेकशील साझाले ढाका टोपी अभियन्ता शंकर बन्जाडेलाई उम्मेदवार बनाएको छ । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अभियन्ता तथा उद्यमी बन्जाडे लामो समयदेखि अन्तर्राष्ट्रिय नेपाली राष्ट्रिय टोपी प्रवर्द्धनमा सक्रिय छन् । ०७४ मा विवेकशीलबाट उठ्दा मिश्रले पाएको मत यसपटक आफूतिर तान्ने दाउमा छन्, बन्जाडे । बन्जाडेले निःशुल्क स्वास्थ्यलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । ०७४ मा जस्तै मतदाताले विवेकशीललाई मत दिने उनको विश्वास छ । काठमाडौं १ मा यसपालि प्रतिनिधिसभा सदस्यतर्फ ११ स्वतन्त्रसहित ३२ उम्मेदवार छन् ।
काठमाडौं २: काठमाडौं २ मा यसपटक सत्तागठबन्धनका तर्फबाट माओवादीकी ओनसरी घर्ती उम्मेदवार छिन् । एमालेबाट मणिरम फुँयाल उम्मेदवार छन् । ठूला दलका यी उम्मेदवारलाई चुनौती दिन २७ वर्षीया अधिवक्ता सोविता गौतम अहिले घन्टी बजाउँदै मतदाताको दैलो–दैलो पुगिरहेकी छिन् । देशको राजनीतिमा युवा हस्तक्षेप आवश्यक देखेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेको उनको भनाइ छ । उनले क्षेत्रको मुख्य समस्या रहेको खानेपानीलाई प्रमुख चुनावी एजेन्डा बनाएकी छिन् । ‘एउटै नेता त्यही पुरानो वाचा लिएर पुगिरह्यो, जनमत बटुलिरह्यो, र जनतालाई बिर्सिरह्यो । यसपटक भने परिस्थिति फेरिनेवाला छ । मत परिवर्तनको लहर आउनेवाला छ,’ देशमा परिवर्तन आउन अब मत परिवर्तन हुनुपर्ने उनको नारा नै छ ।
यस क्षेत्रमा यसपालि कुल २९ मध्ये स्वतन्त्र उम्मेदवार मात्रै १० जना छन् । तर, ठूला दलका लागि यहाँ साना दल नै चुनौती बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमसँगै राप्रपाका तर्फबाट उम्मेदवार रहेकी कुन्तीदेवी पोखरेल पनि चुनावी परिदृश्यमा अगाडि छिन् । उपत्यकामा काठमाडौं २ राप्रपाले विशेष नजर लगाएको क्षेत्र पनि हो । गत स्थानीय निर्वाचनमा यही क्षेत्रभित्र पर्ने शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाकै उम्मेदवार रमेश नापितले मेयर जितेपछि राप्रपाको प्रभाव यहाँ बढेको विश्लेषण छ ।
स्थानीय तहको अंकगणितले करिब ८२ हजार मतदाता रहेको यस क्षेत्रमा सत्ता गठबन्धन अगाडी देखिन्छ । स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत जोड्दा यहाँ एमालेले १७ हजार तीन सय २८ मत प्राप्त थियो । त्यसैगरी कांग्रेसले १४ हजार एक सय २९, एकीकृत समाजवादीको सात हजार नौ सय ११ र माओवादीले तीन हजार एक सय ३१ मत प्राप्त गरेको थियो । राप्रपाको भने सात हजार दुई सय देखिन्छ ।
काठमाडौं २ मा बत्तीसपुतली, कोटेश्वरदेखि नाङ्लेभारेसम्मको क्षेत्र पर्छ । काठमाडौं महानगरपालिको वडा नम्बर ९ बत्तीसपुतली, सिनामंगल र वडा ३२ को कोटेश्वर, जडीबुटी, पेप्सीकोला, कागेश्वरी–मनोहरा नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ र शंखरापुर नगरपालिका यस क्षेत्रमा रहेको छ ।
काठमाडौं ५: काठमाडौं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको परम्परागत निर्वाचन क्षेत्रका रूपमा परिचित छ, जहाँ उनले दुईपटक जितिसकेका छन् । तर, यसपालि उनको जितमा ‘ब्रेक’ लगाउन कांग्रेसका युवा नेता प्रदीप पौडेल मैदानमा उत्रिएका छन् । उनी सत्तागठबन्धनका उम्मेदवार हुन् ।
स्थानीय तह निर्वाचनको अंकगणित हेर्दा एमाले एक्लैको १९ हजार ७३ मत देखिन्छ भने सत्तागठबन्धनको १७ हजार आठ सय ४८ देखिन्छ । एमाले र सत्तागठबन्धनबीच एक हजार दुई सय २५ मत मात्रै अन्तर देखिन्छ । जसमा कांग्रेसको १४ हजार आठ सय ५३, माओवादीको एक हजार एक सय ६८ र एकीकृत समाजवादीको एक हजार आठ सय २७ मत छ ।
थोरै मतान्तरले पोखरेल र पौडेलबीच बलियो प्रतिस्पर्धाको सम्भावना देखाउँछ । यही तीनजना यस्ता स्वतन्त्र उम्मेदवार छन्, जसले यहाँको परिणाममै उथलपुथल ल्याउन सक्छन् । ०७४ को स्थानीय निर्वाचनताका विवेकशील साझाका तर्फबाट काठमाडौं महानगरको मेयर उठेर २३ हजार चार सय ३९ मत ल्याएकी रञ्जु दर्शना यसपटक यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार छिन् । यस क्षेत्रमा रहेका १४ जना स्वतन्त्र उम्मेदवारमध्ये सामाजिक सञ्जालमा चर्चित सामाजिक अभियन्ता हेमराज थापा र पर्यटन व्यवसायी श्रीराम गुरुङ पनि छन् । काठमाडौं ५ अन्तर्गत काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बुढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडा पर्छन् ।
काठमाडौंं ७ : काठमाडौं ७ मा यसपटक दलभन्दा स्वतन्त्र उम्मेदवार बढी छन् । दलका उम्मेदवार १३ हुँदा स्वतन्त्र १६ जना छन् । त्यसैले ठूला दलबीचको प्रतिस्पर्धामा यहाँ स्वतन्त्र उम्मेदवारको मतले निर्णायक भूमिका खेल्ने आकलन छ । यहाँ सत्तागठबन्धनका तर्फबाट मानुषी यमी भट्टराई उम्मेदवार बनेकी छिन् । उनीविरुद्ध एमालेले श्याम घिमिरेलाई उठाएको छ ।
एमालेले टिकट नदिएपछि ०७० र ०७४ मा लगातार यही क्षेत्रबाट निर्वाचित पूर्वसांसद रामवीर मानन्धर स्वतन्त्र उम्मेदवार छन् । एकातिर मानन्धरको बागी उम्मेदवारी एमालेका लागि चुनौती बनिरहेका वेला स्वतन्त्र उम्मेदवारको लहरले ठूला दलका उम्मेदवारलाई जटिलता थपेको छ ।
जसपाका तर्फबाट पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ र लौरो अभियान चलाइरहेको हाम्रो नेपाल पार्टीका तर्फबाट इन्जिनियर आकर्षण पोखरेल पनि यही क्षेत्रबाट उम्मेदवार छन् । त्यस्तै, सामाजिक अभियन्ताका रूपमा नेवार समुदायमाझ परिचित रहेका यादवलाल कायस्थ र रवीन्द्रकुमार श्रेष्ठले पनि उम्मेदवार दिएका छन् ।
६१ हजार नौ सय ७२ मतदाता रहेको यस क्षेत्रमा स्थानीय चुनावको अंकगणितले सत्तागठबन्धन नै अगाडि देखिन्छ । कांग्रेसको १४ हजार एक सय ६७, माओवादीको पाँच सय ७६, एकीकृत समाजवादीको तीन हजार आठ सय ३९ मत जोड्दा यहाँ सत्तागठबन्धनको १८ हजार पाँच सय ८२ मत देखिन्छ । एमाले एक्लैको भने १२ हजार तीन सय ६१ मत छ । विद्रोही उम्मेदवार बनेका मानन्धरले स्वभाविक रुपमा एमालेकै मत काट्ने छन् । त्यसैले काठमाडौं महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा पर्ने यस क्षेत्रको परिणाम यसै अनुमान गर्न सकिन्न ।
काठमाडौं ८: काठमाडौं ८ मा यसपटक ठूला दलका प्रतिस्पर्धीका लागि ठूलो ‘थ्रेट’ बनेका छन्, सामाजिक अभियन्ता सुमन सायमी । हाम्रो नेपाल पार्टीमार्फत लौरो अभियानको नेतृत्व गरेका उनी काँधमा देशको झन्डा र हातमा लौरो बोकेर घर–घर भोट माग्दै हिँडिरहेका छन् । सामान्य प्रचारकै भरमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उठ्दा १३ हजार सात सय ७० मत ल्याएका थिए उनले । त्यतिवेला संघको चुनावमा उठ्ने घोषणा गरेका उनी भोट माग्न कसैको घर बाँकी नराखेको बताउँछन् । ‘स्थानीय चुनावबाट पाएको शिक्षाका कारण यसपटक सबैको घर–घर पुगेको छु, मेरो क्षेत्रको प्रमुख समस्या भनेको स्ववासीको हो । यहाँ लालपुर्जा नपाउनेहरू धेरै छन् । गैरन्यायिक सडक विस्तारबाट पीडितहरू पनि टन्नै छन् । संसद्मा पुगेर मैले उनीहरूका लागि लड्नु छ,’ उनी आफ्नो एजेन्डाबारे भन्छन् ।
यो क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ उम्मेदवार छन् । ०७४ को निर्वाचनमा वामगठबन्धन हुँदा उनी एमाले उम्मेदवारका रूपमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । एमालेबाट भने यसपालि नयाँ उम्मेदवार छन्, शिवसुन्दर राजवैद्य । ०७४ मा विवेकशील साझाका तर्फबाट बागमती प्रदेश सभा सदस्य रहेका विराजभक्त श्रेष्ठ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार छन् । नेपाल तेक्वान्दो संघ, काष्ठमण्डप पुनर्निर्माण समिति र हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर काम गरेका उनी ०७२ को महाभूकम्पपछि विवेकशील साझाका उज्ज्वल थापासँगै राहत अभियानमा संलग्न थिए ।
पाँच वर्ष प्रदेश सभामा रहँदा नेपाल र तामाङ भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने कानुन पारित गराउने भूमिका खेलेको दाबी गर्ने श्रेष्ठले यसपटक भ्रष्टाचार, सुशासन र विदेशमा रहेका नेपालीको मताधिकारलगायतलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । सायमी र श्रेष्ठको उम्मेदवारी ठूला दलका उम्मेदवारका लागि चुनौती बनेको छ ।
स्थानीय तहको अंकगणित हेर्दा यहाँ सत्तागठबन्धन अगाडि छ । वैशाखको निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले पाएको मत जोड्दा सत्तागठबन्धनको मत १६ हजार एक सय ५६ देखिन्छ भने एमालेको नौ हजार दुई सय ५३ छ । सत्तागठबन्धन एमालेभन्दा ६ हजार नौ सय तीन मतले अगाडि देखिन्छ । तर, समाजवादीको आफ्नै संगठन भने कमजोर छ । करिब ५३ हजार मतदाता रहेको यो क्षेत्रमा काठमाडौं महानगरपालिका १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाको ४ र ५ पर्छन् । न्युरोड, असन, सुन्धारा, टेकु, त्रिपुरेश्वर, वसन्तपुर, स्वयम्भूजस्ता सहर समेट्ने यस क्षेत्रमा थुप्रै ऐतिहासिक सम्पदा छन् ।
काठमाडौं ९ स् स्वतन्त्र र साना दलका उम्मेदवारको प्रभाव काठमाडौं ९ को परिणाममा पनि देखिन सक्छ । एमालेबाट कृष्णगोपाल श्रेष्ठ आठौँपटक प्रतिस्पर्धामा छन् भने सत्तागठबन्धनको तर्फबाट माओवादी नेतृ कल्पना धमला छिन् । उनी ०६४ मा धादिङ २ बाट निर्वाचित भएकी थिइन् ।
श्रेष्ठ र धमलालाई चुनौती दिन विवेकशील अभियन्ता मिलन पाण्डे मैदानमा छन् । एमालेका श्रेष्ठ आफ्नो यो अन्तिम चुनाव भएको र त्यसपछि युवालाई अवसर दिने भन्दै मत मागिरहेका छन् । तर, पाण्डे श्रेष्ठले ‘अन्तिम चुनाव’लाई एजेन्डा बनाउनु चरम सत्ताको महत्वाकांक्षाको भन्दै त्यसको अन्त्य गर्न मतदातासँग आग्रह गरिरहेका छन् ।
घरदैलोमा व्यस्त पाण्डे मतदातामाझ सात प्रतिबद्धतापत्र र आफूलाई मत हाल्नुपर्ने पाँच कारण पनि पेस गरिरहेका छन् । उन्नत संविधान नै समाधान, खुला सिंहदरबार–खुला संसद्, शिक्षा–स्वास्थ्यमा सुधार नै समृद्धिको आधार, संस्कृति सम्पदा नै सम्पत्ति, अब नोटसँगै भोट पनि चल्ने, भ्रष्टाचारको भण्डाफोर, महिला पुरुषबराबर भन्दै उनले प्रतिबद्धतापत्रमा विस्तृतमा उल्लेख गरेका छन् ।
गत स्थानीय तह निर्वाचनको अंकगणित हेर्दा यो क्षेत्रमा सत्तागठबन्धन एमालेभन्दा एक हजार सात सय ९४ मतले अगाडि देखिन्छ । गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले पाएको मत जोड्दा गठबन्धनको मत २१ हजार ७६ देखिन्छ भने एमालेको १९ हजार दुई सय २८ । जसमा कांग्रेसको १९ हजार नौ सय १६, माओवादीको ६ सय ९५ र एकीकृत समाजवादीको चार सय ६५ मत छ । यही क्षेत्रबाट हाम्रो नेपाल पार्टीबाट लौरो अभियान भन्दै युवा अभियन्ता इरश श्रेष्ठ पनि उम्मेदवार छन् । उनी सुमन सायमी टिमका सदस्य हुन् ।
ललितपुर ३ स् ललितपुर ३ मा सत्तागठबन्धनका तर्फबाट माओवादी उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की चुनावी मैदानमा उत्रिएकी छिन् । स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा सत्तागठबन्धन नै अगाडि छ । गठबन्धनको मत ३२ हजार एक सय ७० हुँदा एमालेको १७ हजार सात सय नौ मात्रै छ ।
कुल ९४ हजार एक सय १६ मत रहेको यो क्षेत्रमा यसअघि पनि भुसाल नै निर्वाचित भएकी थिइन् । तर, यसपटक पनि दोहोरिने उनको चाहनामा तोसिमा र अर्का स्वतन्त्र उम्मेदवार राजाराम तन्डुकार चुनौती बनेर आएका छन् । तन्डुकारले ललितपुर क्षेत्रको सम्पदा संरक्षण, हस्तकला प्रवर्द्धनलगायतलाई आफ्नो एजेन्डा बनाएका छन्
बालेन साह प्रवृत्ति फेरि नदोहोरिएला भन्न सकिन्न राजेन्द्र महर्जन, राजनीतिक विश्लेषक काठमाडौं उपत्यकामा ठूला दललाई यसपालि स्वतन्त्र र साना दलका उम्मेदवारबाट ‘थ्रेट’ देखिन्छ । स्थानीय निर्वाचनमा जस्तै बालेन साह प्रवृत्ति फेरि नदोहोरिएला भन्न सकिन्न ।
तर, हारजित नै हुने गरी भन्न सक्ने अवस्थाचाहिँ छैन । यद्यपि, काठमाडौंका मतदाताले नयाँ अनुहार खोजिरहेका छन् भन्ने मनोविज्ञानचाहिँ देखिएको छ । पुराना दलको जुन खालको संगठन, प्रभाव छ, त्यसलाई हल्लाउन सक्छन्–सक्दैनन् भन्ने प्रश्न अझै छ । उदाहरणका लागि गगन थापाकै प्रभावलाई लिन सकिन्छ । उनको पुरानो प्रभावलाई नयाँ अनुहारले सहजै हल्लाउन सक्ने स्थिति रहँदैन । अरू पनि एकाध यस्ता क्षेत्र छन्, जसलाई अझै हल्लाउन सहज देखिँदैन ।
तर, अरू निर्वाचन क्षेत्रमा भने परिणाम जे पनि आउन सक्छ । काठमाडौं उपत्यकामा यसपालि साना दल र स्वतन्त्रको उम्मेदवारीले ठ्याक्कै के हुन्छ, त्यो भन्न नसके पनि अप्रत्याशित र उथलपुथल परिणाम आउन सक्ने माहोलचाहिँ देखिन्छ । नयाँपत्रिका