सिमकोट । मतदान सकिएको तीन दिनसम्मपनि जिल्लाका चार वटा गाउँपालिकाका मत पेटिका सदरमुकाम ढुवानी हुन नसक्दा हुम्लाको मत गणना कार्यमा ढिलाई भएको छ ।
गएको मंसिर चार गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान भएका प्रदेश निर्वाचन क्ष्ँेत्र नंन १ अन्तरगतका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकाका सबै मतदान केन्द्रका मत पेटिका तीन दिनदेखि सर्केगाडमै थन्कीएपछि जिल्लाको मतगणना शुरु हुन नसकेको हो ।
सडक सञ्जालले नजोडिएको हुम्लाका चार वटा गाउँपालिकाका २५ वडामा भएका ३४ वटा मतदान केन्द्रका मतपेटिका अँझै ढुवानी हुन नसकेको हुम्लाका मुख्य निर्वाचान अधिकृत डिलप्रसाद आचार्यले जानकारी दिए । गृह मन्त्रनलय मार्फत जिल्ला प्रशासन कार्यालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत मत पेटिका ढुवानी गर्ने निर्णय भएपनि अहिलेसम्म हेलिकोप्टर जिल्लामा नआएका कारण प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का सबै मतदान केन्द्रका मत पेटिका सदरमुकाम नआएकै कारण मत गणना कार्य शुरु हुन नसकेको हो ।
मत पेटिका ढुवानीको जिम्मा जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयको भएकाले हामीलाई किन ढिलाई भयो भन्ने जानकारी नभएको बताएका मुख्य निर्वाचन अधिकृत आचार्यले गृहमन्त्रालयले हेलिकोप्टर पठाउने बित्तिकै सर्वदलीय बैठकको आयोजना गरेर मत गणना कार्य शुरु गर्ने जानकारी दिए ।
‘हामी सोमबार देखिनै मत गणनाको तयारी अवस्थामा छौं’ उनले भने, ‘तर गृहमन्त्रालयले मत पेटिका समयमा ढुवानी गर्न नसकेकै कारण गणनाका कार्यमा समेत बिलम्ब हुँदै गएको छ ।’
एता मतपेटिकाको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालयले गृहबाट हेलिकोप्टर नपठाएका कारण जिल्लाका सबै मत पेटिका सदरमुकाममा एकतृक गर्न नसकिएको जवाफ दिएको छ । हरेक हिसाबले सदरमुकाम बाहिर लामो समय मत पेटिका राख्न राम्रो शन्देश नजाने उल्लेख गरेकी प्रमुख जिल्ला अधिकारी सिता परियारले मतदान सकिने बित्तिकै प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का ३४ मतदान केन्द्र र प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का तीनवटा मतदना केन्द्रका मत पेटिका स्थलमार्गबाट ढुवानी गर्न असंभव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने निर्णय भएको थियो ।
’जिल्लामा हेलिकोप्टर आउने बित्तिकै हामी सबै क्षेत्रका मतपेटिका ढुवानीको प्रबन्ध मिलाउने तयारीमै छौं’ प्रमुख जिल्ला अधिकारी परियारले थपिन ‘ गृहमन्त्रालयले हेलिकोप्टर नपाएपछि हामीले तयार गरेको योजना मुताविक समयमै मत पेटिका ढुवानी गर्न नसकेका हौं ।’
५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्र भएको हुम्लामा ३२ हजार ८ सय ३ कूल मतदना मध्ये २५ हजार ९५ मत खसेका छन् ।