सिमकोट । मतदान भएको चार दिनपछि हुम्ला जिल्लाका मतपेटिका सदरमुकाम सिमकोट पुगेका छन् ।
गृह मन्त्रालयले मतदान भएको चार दिनपछि नेपाली सेनाको हेलिकोप्टर पठाएपछि प्रदेश निर्वाचन क्षेत्र नम्बर १ अन्तरगतका चार वटै गाउँपालिकाका ३४ मतदान केन्द्रका मत पेटिका जिल्ला सदरमुकाम सिमकोट पुर्याइएको हो ।
मत पेटिका ढुवानीको जिल्ला लिएको गृहमन्त्रालयले अहिले ११ बजे नेपाली सेनाको हेलिकोप्टर जिल्लामा पठाएपछि जिल्ला सुरक्षा समितिले सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाडमा राखिएका मतपेटिका ढुवानी गरेको हो । प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मातहतका ३४ वटा मतदान केन्द्रका १३६ मत पेटिका ढुवानी गरेर सिमकोट ल्याइएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेश सभा प्रत्यक्ष र प्रदेश सभा समानुपातिकतर्फ गरेर हरेक मतदान केन्द्र चार मत पेटिकाका दरले १३६ मत पेटिका नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरेर ल्याइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।
गत आइतबार सम्पन्न मतदान लगत्तै आफूले गृहमन्त्रालय मार्फत मत पेटिका ढुवानीको ताकेता गर्दा पनि विभिन्न कारणले जिल्लाका मत पेटिका ढुवानी गर्न नसकेको बताएकी प्रजिअ परियारले जिल्लाको सर्केगाड, चंखेली, अदानचुली र ताँज्कोट गाउँपालिकाका ३४ वटै मतदान केन्द्रका मत पेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई पुर्याएको बताइन् ।
मत गणना एक घण्टा भित्र
चार दिन पश्चात मत पेटिका सदरमुकाम सिमकोट पुर्याइएको हुम्लामा अबको एक घण्टा भित्र मत गणना कार्य शुरु हुने भएको छ ।
सिमकोट विमानस्थलबाट तल्लो बजारमा रहेको मुख्या निर्वाचन कार्यालयमा मत पेटिका पुगे लगत्तै सर्वदलीय बैठक बसेर त्यसको निर्णय अनुसार मत गणना कार्य शुरु गरिने मुख्य निर्वाचन अधिकृत दिल प्रसाद सापकोटाले जानकारी दिए ।
‘हामीले मत गणनाका निर्धारित मापदण्डका बारेमा जिल्ला स्थित राजनीतिक दलहरुलाई जानकारी गराए लगत्तैमत गणनाका कार्य शुरु गछौं’ अधिकृत सापकोटाले भने, ‘गणना कार्य बढिमा एक घण्टा भित्र हुन्छ ।’ ५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्र भएको हुम्लामा ३२ हजार ८ सय ३ कूल मतदना मध्ये २५ हजार ९५ मत खसेका छन् ।