चैत ११, सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट बुद्धिजीवी परिषदका कर्णाली ब्युरो इञ्चार्ज धनराज शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
तिलागुफा नगरपालिका जुविथा निवासी शाहीलाई खाँडाचक्र नगपालिकाको मोल्पा राताडाबबाट जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले सोमबार (आज) पक्राउ गरेको हो।
प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने र विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेको भन्दै उनलाई पक्राउ गरिएको कालिकोट प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए। उनका अनुसार शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।
शाहीको साथबाट विस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइन १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटर बरामद भएको छ। उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने उनले बताए।
नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले बुद्धिजीवी संगठनका कर्णाली ब्यूरो इन्चार्ज शाहीलाई बिनासर्त रिहा नगरे कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिए। शाही पार्टी गतिविधिमा सक्रिय नभएको दाबी गर्दै उनले प्रहरीले झूटा आरोप लगाएर पक्राउ गरेको उनले बताए।
कालिकोट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको आधार इलाका मानिन्छ। सरकारले गत फागुन २८ गते विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले पक्राउ तथा कारबाहीलाई तीव्र पारेको छ।
प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। यता जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन्। उनलाई हरेक साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको छ।
त्यसअघि विप्लवनिकट जनपत्रकार संगठनका जिल्ला संयोजक कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरेको थियो। रेडियो नयाँ कर्णालीमा प्राविधिक विश्वकर्मालाई स्टुटियोबाटै प्रहरीले पक्राउ गरेको थियो।