चैत ११, काठमाडौं । आफूमाथि सरकारले लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीले चेतावनी दिएको छ।
पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार (आज) वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका छन् ।
चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन्।
वक्तव्य जारी गर्दै महासचिव विप्लवले पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । पर्सि देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले बताएको छ ।
विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी’ विप्लवको वक्तव्यमा भनिएको छ ।
चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गदै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चन्दले सोमबार बेलुकी वक्तव्य दिएका हुन्।
सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको समेत आरोप लगाएका छन्। प्रधानमन्त्री केपी ओलीले नेकपा संसदीय दलको बैठकमा सोमबार मात्रै पनि चैत महिनाभित्र विप्लवको पार्टीका गतिविधि नियन्त्रणमा लिइने बताएका थिए।
ओली र विप्लव दुवैले सोमबार नै एक अर्कामाथि चैत महिनाको समयसीमा राखेर नियन्त्रण र निषेध गर्ने चेतावनी दिएपछि मुलुक थप द्वन्द्वतिर जाने सम्भावना बढेर गएको छ।
विप्लवले ुकेपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको तथा पार्टीमाथी प्रतिबन्ध लगाएर चरम फासीवाद लाद्न खोजेको पनि उल्लेख गरेका छन्।
विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख छ।