जुम्ला । प्रेस चौतारी नेपाल कर्णालीको प्रदेशस्तरीय भेला, प्रशिक्षण एवं बैठक सम्पन्न भएको छ । चौतारी जिल्ला समिति जुम्लाको आतिथ्यतामा यही चैत्र २३ गते सम्पन्न भेलाले प्रदेश समितिको कार्ययोजना पारित गर्नुका साथै १४ बुँदे खलंगा घोषणापत्र समेत जारी गरेको छ ।
प्रदेश समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता, महासचिव प्रेमराज सिम्खडाको सञ्चालनमा सम्पन्न भेलाको प्रमुख आतिथ्यता एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियो । भेलामा स्थायी कमिटी सदस्यद्वय गोरखबहादुर बोगटी, डा. शिवमाया तुम्वाहाम्फे, पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, केन्द्रीय प्रचार विभागका सचिव गगन विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख सुर्यमणि गौतम, उपप्रमुख तथा प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष नवराज महतारा, प्रेस चौतारीका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज विष्णुप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु कालीबहादुर मल्ल, त्रिभुवन बिसी, खडानन्द अधिकारी, भरत शर्माको आतिथ्यता रहेको थियो । त्यस्तै भेलामा चौतारी प्रदेश समितिका पदाधिकारीहरु, जिल्ला समितिका अध्यक्ष र सचिव, प्रदेशका १० वटै जिल्लाका प्रचार विभागका प्रमुखहरु समेत गरी ९८ जनाको सहभागिता रहेको थियो ।
भेलामा प्रेस चौतारी नेपालको सांगठनिक अवस्था, पत्रकार महासंघमा चौतारीको अवस्था, अन्य संगठनबाट चौतारीमा समायोजन भएकाहरुको व्यवस्थापनका सम्बन्धमा जिल्लागत रिर्पोटिङ भएको थियो । भेलालाई सम्बोधन गर्दै एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी प्रचारको कामलाई व्यवस्थित र परिणाममुखी बनाउन निर्देशन दिनुभयो । साथै उहाँले एमालेका हरेक मिसनहरुमा सफलता प्राप्त गर्न प्रचार विभाग र प्रेस चौतारीको सक्रियताको खाँचो औंल्याउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सांगठनिक गतिशिलता, अनुशासन, व्यवस्थित कार्ययोजना, व्यवसायिक क्षमता प्रर्दशन गरेर पे्रस चौतारी अन्य संगठनहरुभन्दा अब्बल बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भेलालाई प्रदेश पार्टी प्रचार विभागका प्रमुख सूर्यमणि गौतमले प्रचारको महत्व र चौतारीको भूमिकाबारे प्रष्ट पार्नुभएको थियो । भेलामा प्रदेश इञ्चार्ज विष्णुप्रसाद शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै प्रदेश समितिको पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले ६ बुँदे आगामी कार्ययोजना पारित गरेको छ । जस अन्तर्गत एक वर्षपछि हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी विगतमा विभिन्न कारणले संगठन छाडेकालाई फिर्ता गराउन अभियान सञ्चालन गर्ने, पार्टीको जिल्ला प्रचार विभाग र चौतारी जिल्ला कमिटीसंग समन्वय गरी चौतारीको प्रदेश मिडिया अभिलेखीकरण तयार पार्ने, पार्टी प्रचार विभागका उपप्रमुख नवराज महताराको नेतृत्वमा चौतारीका प्रदेश इञ्चार्ज विष्णुप्रसाद शर्मा र प्रदेश अध्यक्ष प्रकाश अधिकारी सदस्य रहेको कार्यदलले महासंघको सदस्यता वृद्धि, महासंघ लगायत अन्य संगठनहरुसंग यससम्बन्धी सहकार्य र सहजीकरण गर्ने पार्टी प्रदेश प्रचार विभागको निर्णयलाई कार्यान्वयनमा जोड दिने, प्रदेश पार्टीको प्रचार विभागले प्रकाशन गर्ने तयारीमा रहेको स्मारिकालाई पूर्णता दिन सहयोग गर्ने, प्रेस चौतारीको पालिका कमिटी गठनलाई तिव्रता दिने, सल्यान, मुगु र जाजरकोट जिल्ला कमिटी पुर्नगठन गर्ने कार्ययोजना पारित गरेको छ ।
बैठकले सात महिनादेखि रिक्त सचिव पदमा दिलिपकुमार शाही (कालीकोट) लाई मनोनित गर्ने निर्णय गरेको छ । बैठकले समाजवादी प्रेस संगठनबाट समायोजन हुनुभएका हस्तप्रसाद चौलागाईं, (कालीकोट), किरण अधिकारी (कालीकोट), नन्दकेश अधिकारी (कालीकोट) र हरिकृष्ण महत जुम्लालाई प्रदेश कमिटी सदस्यमा मनोनयन गरेको छ । बैठकले विभिन्न कारणले निष्क्रिय रहेकालाई बिदा गरी कमिटीलाई चलायमान गराउन आवश्यकता अनुसार जिल्ला कमिटी पुर्नगठन गर्न प्रदेश समितिको सचिवालयलाई अख्तियारी दिने निर्णय गरेको छ । साथै जाजरकोट जिल्ला समितिका सदस्यहरु रमेश अधिकारी, अनिशा आचार्य, तिलक शाही, प्रेमप्रकाश चलाउने, राजेन्द्रविवश पुन र राजुराजा सिंहलाई बिदाई गर्ने निर्णय गरेको छ । बैठकले भेला, प्रशिक्षण एवं बैठक सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
खलंगा (जुम्ला) घोषणापत्र–२०७९
प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा जुम्ला जिल्लाको खलंगामा २०७९ चैत्र २३ गते सम्पन्न प्रदेशस्तरीय भेला, प्रशिक्षण एवं बैठकबाट १४ बुँदे खलंगा घोषणा–पत्र, २०७९ जारी गरिएको छ ।
१. नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विभिन्न कानूनका नाममामा निर्माण भैरहेका विधेयकका मस्यौदाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ, तीनै तह (स्थानीय तह, प्रदेश र संघ) मा नागरिकको प्रेस तथा स्वतन्त्रतालाई विभिन्न बहानामा अंकुश लगाउन खोज्ने संविधान विपरितका बनेका वा मस्यौदाका क्रममा रहेका ऐन, नियमहरुलाई तत्काल रोक्दै नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन यो भेला जोडदार माग गर्दछ ।
२. श्रमजीवी पत्रकार ऐन २०४९ बनेको लामो समय हुँदापनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यो भेला श्रमजिवी पत्रकारलाई ऐन अनुसार श्रम अनुसारको पारिश्रमिक तथा अन्य सेवा सुविधा उपलब्ध गराउदैं यसको पूर्ण कार्यान्वयन गर्दै सञ्चार उद्योग तथा सञ्चार प्रतिष्ठानलाई न्यूनतम पारिश्रमिक र थप सेवा सुविधासहित नियुक्ति पत्र सहित काम गर्ने अवस्थाको सृजना गराउन माग गर्दछ ।
३. कर्णाली जस्ता भौगोलिक रुपमा अति विकट क्षेत्रमा रहेर सूचना संप्रेषणका कर्ममा लागेका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको पेशागत दक्षता अभिवृद्धिका लागि तालिम, कार्यशालाको आयोजना गर्दै यस्ता व्यवसायिक सञ्चारकर्मी र सञ्चार माध्यमहरुले प्रयोग गरिरहेका सञ्चार सामाग्रीहरुको खरिदमा पाउने अनुदान कम्तीमा ६० प्रतिशत वृद्धि गर्न सम्बन्धित पक्षसँग यो भेला जोडदार माग गर्दछ ।
४. कठिन भूगोल र सिमित साधन स्रोतका बावजुद कर्णालीमा सञ्चालित सञ्चारमाध्यम तथा सञ्चारगृहलाई विद्युत, टेलिफोन, इन्टरनेटमा ५० प्रतिशत महशुल छुट गर्न माग गर्दै यस क्षेत्रका सञ्चारकर्मीहरुलाई भौगोलिक विकटतालाई मध्यनजर गरेर हवाइ तथा यातायात भाडामा ५० प्रतिशत छुटको व्यवस्थाका लागि सम्बन्धित पक्षहरुलाई अपिल गर्दछ ।
५. सञ्चारमाध्यमका लागि भरपर्दो समाचार स्रोतका रुपमा कर्णालीका जिल्लाहरुमा कार्यरत पत्रकारहरु स्ट्रिन्जरकै रुपमा काम गर्नु परिरहेको अवस्था छ । कुनैपनि सञ्चारमाध्यमले निश्चित अवधीसम्म काम गरेका स्ट्रिन्जरहरुलाई उचित पारिश्रमिकसहित पूर्णकालीन रिपोर्टर वा स्थायी प्रतिनिधिको रुपमा नियुक्ति गर्न यो भेला जोडदार माग गर्दछ ।
६. प्रेस काउन्सिल नेपालले वितरण गर्ने पुरस्कार, सम्मान, फेलोसिप र छात्रवृत्तिमा पिछडिएका क्षेत्रमा काम गर्ने पत्रकारहरु प्राथमिकतामा पर्न सकेका छैनन् । जसले दुर्गममा कार्यरत पत्रकारलाई निरन्तर पत्रकारिता पेशामै टिक्न मुस्कील छ । तसर्थः यो भेला कठिन भूगोल र परिस्थितमा कार्यरत पत्रकारलाई प्रोत्साहित गर्न हरेक वर्ष प्रदान गरिने, पुरस्कार, सम्मान तथा फेलोसिपमा कर्णालीको सम्मानजनक सहभागिताका लागि काउन्सिल लगायत सञ्चारसम्वद्ध निकायको ध्यानाकर्षण गराउँछ । यसैगरी, कर्णालीमा पत्रकारिताको वृद्धि, विकासका लागि अध्ययन, अनुसन्धान गरी यहाँका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई विशेष सहुलियत र अनुदानको व्यवस्था गर्न यो भेला कर्णालीका स्थानीय तह, प्रदेश सरकार, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल र अन्य सञ्चारसम्बद्ध निकायसँग माग गर्दछौं ।
७. पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा टिकाइराख्न दक्षता अभिवृद्धि गर्दै कर्णालीबाट पत्रकारिता गर्ने महिला पत्रकारलाई विशेष सहुलियत (उच्च शिक्षा अध्ययन, तलब सहितका सुत्केरी बिदा र सुरक्षाको प्रत्याभूति) सुनिश्चित गर्न यो भेला सम्बद्ध सबैमा जोडदार माग गर्दछ । देशर पत्रकार महिलाहरुबाट सञ्चालित सञ्चारमाध्यमलाई विशेष सहुलियत प्रदान गर्ने कानूनी व्यवस्थाका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदछ ।
८. साविकको कर्णालीको जीवन रेखाको रुपमा रहेको कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक), कर्णाली करिडोर (जमुनाह–हिल्सा), नाग्म–गमगढीसडकको स्तरोन्नति गरी दुई लेनको सडक बनाई त्यसलाई यथासक्य कालोपत्रे गर्न, हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न यो भेला जोडदार माग गर्दछ । कर्णाली प्रदेशलाई जोड्ने छिन्चु–सुर्खेत सडक लगायतका अन्य सडकहरुको स्तरवृद्धि गर्दै लामो सयमपछि निर्माण सम्पन्न कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको कोटबाडास्थित सुनथराली विमानस्थलमा नियमित हवाई उडानको व्यवस्थाका गर्न आग्रह गर्दछ ।
९. प्रदेशमा रहेका स्थानीय, प्रदेश र संघ सरकारका कार्यालयबाट राष्ट्रिय मिडियामा विज्ञापन प्रकाशन तथा प्रशारणका लागि प्राथमिकता दिने तर स्थानीयस्तरमा सञ्चालन भएका साना लगानीका सञ्चार माध्यमहरुलाई विज्ञापन प्रकाशन र प्रशारणमा बेवास्ता गर्ने प्रावधानले साना लगानीका मिडियालाई ठूलो आर्थिक संकट परिरहेको छ । तसर्थः कर्णाली प्रदेशमा संचालनमा रहेका सञ्चारमाध्यमलाई विज्ञापनमा प्राथमिकता दिने गरी समानुपातिक विज्ञापन प्रर्णालीको व्यवस्था गर्न कर्णाली प्रदेश सरकार र सम्बद्ध निकायलाई यो भेला ध्यानाकर्षण गराउँदछ ।
१०. समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न कर्णाली प्रदेशमा पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धि प्राप्त गर्न कर्णाली प्रर्यटन प्रवद्र्धनको ठोस गुरु योजनासहित बजेट व्यवस्थापनका लागि तीनै तहका सरकारसँग जोडदार माग गर्दछौं ।
११. पत्रकारिता पेशाको विशिष्टतालाई ध्यान दिएर दुर्गमका पत्रकारको स्वास्थ्य र दुर्घटना विमाको व्यवस्था गर्दै द्वन्द्वपीडित पत्रकारहरुको पहिचान स्थापित हुनेगरी उनीहरुका परिवारहरुको हेरचाहमा ध्यान दिन, अपांगता भएका र ज्येष्ठ पत्रकारहरुको विशेष सुविधाको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१२. नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ गैरपत्रकारहरुको संस्थाका रुपमा स्थापित हुनसक्ने तर्फ सजग रहन यो भेला महासंघका सबै तहका शाखाहरुको गम्भीर ध्यानाकर्षण गराउँदै महासंघको सदस्यता शुद्धीकरण अभियानलाई कडाइका साथ लागू गर्न यो भेला जोडदार माग गर्दछ ।
१३. अनलाइन तथा सञ्चार माध्यमहरुको सूचिकरण तथा दर्ताका नाममा सरकारका विभिन्न निकायहरु (सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, प्रेस रजिष्ट्रारको कार्यालय आदि) मा दर्ता तथा सूचिकरणका नाममा दोहोरो झन्झट भोग्नुपरेको छ । यसलाई थप व्यवस्थित र सहज गर्न तत्काल एकिकृत सूचना व्यवस्थापन प्रर्णाली लागू गर्न सबै निकायहरुलाई आग्रह गर्दै सञ्चार माध्यक दर्ता र नविकरणको काम सम्बन्धित जिल्लाबाटै गर्ने कानूनी व्यवस्थाका लागि यो भेला जोडदार माग गर्दछ ।
१४. प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिको आयोजनामा जुम्ला जिल्लाको खलंगामा २०७९ चैत्र २३ गते सम्पन्न भएको प्रदेशस्तरीय भेला, प्रशिक्षण एवं बैठक सम्पन्न गर्न उपस्थित हुनुभएका पार्टीका उपमहासचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ्ग, स्थायी कमिटी सदस्यहरु गोरखबहादुर बोगटी र डा. शिवमाया तुम्बाहाम्फे, पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजाल लगायतका केन्द्रीय कमिटीका नेताहरु, केन्द्रीय प्रचार विभागका सचिव गगन विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख सुर्यमणि गौतम, उपप्रमुख तथा प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष नवराज महतारा, विभागका सदस्य तथा प्रेस चौतारीका केन्द्रीय सचिव विष्णु शर्मालगायत केन्द्रीय कमिटी सदस्यहरु, नेकपा एमाले जुम्ला जिल्ला कमिटी, कर्णाली प्रदेशका दश वटै जिल्लाका प्रचार विभाग प्रमुख, प्रेस चौतारी नेपाल जुम्ला जिल्ला कमिटी, नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्ला, निजामति कर्मचारी संगठन जुम्ला, उद्योग वाणिज्य संघ जुम्ला, जुम्लास्थित होटेल व्यावसायीहरुलाई यो भेला सम्पन्न गर्न गरेको सहयोगका लागि यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२३ चैत्र २०७९, खलंगा जुम्ला