काठमाडौं । सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसभित्र सरकारको सेवा प्रवाहलाई लिएर असन्तुष्टि बढ्दै गएको छ।
९ मन्त्रीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी कांग्रेस सरकारको कामप्रति सन्तुष्ट हुन सकिरहेको छैन।
हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समेत सरकारको सुशासनका विषयमा चर्चा भयो। सार्वजनिक कार्यक्रममा पनि कांग्रेसका जिम्मेवार सांसदहरूले सरकारको आलोचना गरिरहेका छन्। आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको संकल्प अभियानमा समेत सरकारको कामकाज र सुशासनबारे आलोचना भएको थियो। रुपान्तरण अभियानमा भ्रष्टाचार बेथिति मौलाएको भन्दै सरकारको चर्को आलोचना भएको छ।
बैठकलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलले सरकारले भ्रष्टाचार र महँगी नियन्त्रण गर्न नसकेको बताए। आर्थिक संकट बढ्दै गइरहेकोमा अर्थतन्त्र लयमा फर्काउनेगरी सरकारले काम गर्न नसकेको आरोप उनले लगाए। ‘सरकार चालू खर्च पनि धान्न नसक्ने अवस्थाका पुगेको छ। महँगी बढिरहेको छ। हामी ०८४ को चुनावलाई हेरेर बसेका हौं भने सत्ता छोडौं,’ उनले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउनका लागि हामी सत्तामा गइराख्न पर्दैन।’
यद्यपि,अहिले अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता प्रकाशशरण महतले सम्हालिरहेका छन्।
सांसद पौडेलले कांग्रेसको घोषणापत्रमा १२ लाखलाई रोजगारी दिने उल्लेख भएको स्मरण गर्दै आफूहरू सरकारमा गएको ८ महिनामा के उपलब्धि भयो भनेर प्रश्न गरे। सरकारको समीक्षा हुनुपर्नेमा उनले जोड दिए। सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले भने, ‘प्रचण्डजीको नेतृत्वको सरकारलाई भ्रष्टाचार रोक्न केले रोकेको छरु सरकार भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्नुपर्छ।’ पार्टीभित्र संस्थापन पक्षले भ्रष्टाचारको पक्षपोषण गरेको इंगित गर्दै उनले प्रक्रियामा गएर दबाब सिर्जना गर्न खोज्दा समेत आफूहरू असफल भएको बताए।
पूर्वमन्त्री एवम् सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले सुशासन दिन नसकेको टिप्पणी गरे। उनले भने, ‘प्रचण्डजीले प्राविधिक रुपमा सरकारको नेतृत्व गरेको भए पनि त्यसको नेतृत्व कांग्रेसले गरिरहेको छ। सरकारमा बहुमत कांग्रेसका मन्त्रीहरू छन्। सरकार गठबन्धनका कारण समस्यामा आएको छ। सरकारसँग आम नागरिकहरू सन्तुष्ट हुन सकिरहेका छैनन्।’ उनले सरकारलाई जवाफदेही बनाउन कांग्रेस नेतृत्वले निर्देशित गर्नुपर्नेमा जोड दिए। मन्त्रीहरू फेरबदल हुनसक्ने बताउँदे उनले सुशासनमा सन्दर्भमा भने सरकार गम्भीर बन्नुपर्ने बताए।
कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर बाहिरबाट सहयोग गर्नुपर्ने बताए। उनले संयुक्त गठबन्धनको सरकारमा समाजवादी मोर्चा बनेकाले साढे दुई वर्ष मोर्चालाई सरकारको नेतृत्व गर्न दिनुपर्ने बताए।
महामन्त्री थापाले भने,‘माओवादी, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ । म प्रस्ताव गर्न चाहन्छु, अढाई वर्ष सरकार चलाउन समाजवादीलाई दिऊँ । प्रचण्डजी पहिला, त्यसपछि माधवजी बन्ने कुरा छ । कांग्रेसका मन्त्रीहरू सबै फिर्ता गरौं। हामीले फ्लोरबाट समर्थन गरौँ।’ थापाले बाँकी अढाई वर्ष कांग्रेस एक्लैले सरकार चलाउनुपर्ने र एक्लै जस र अपजस दुवै लिने बताए।
यसअघि असोज ८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कानुनमन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचार काण्डका फाइल अघि बढाउँदा शीर्ष नेताहरू सिंहदरबारमा बसेर रोक्न लागि परेको भन्दै आक्रोश व्यक्त गरेका थिए। मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थी र ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणलगायत भ्रष्टाचार काण्डको फाइल खोलेर सरकार अघि बढ्न खोज्दा पार्टी नेतृत्वबाट दबाब आएको भन्दै आक्रोश पोखेका थिए।
यता कांग्रेसले भने नेताहरूले व्यक्तिगत मत राखे पनि कांग्रेसको नीति त्यस्तो नभएको बताएको छ। तत्काल गठबन्धन तोड्ने पक्षमा कांग्रेस देखिन्न। कांग्रेस प्रवक्ता मीन विश्वकर्माले अहिले सरकारले गरेका नराम्रा कामको अपजस पनि कांग्रेसले लिनुपरेकाले महामन्त्री थापाले त्यस्तो अभिव्यक्ति दिएको प्रष्ट्याए। नेपाल लाइभसँग कुरा गर्दै प्रवक्ता विश्वकर्माले भने, ‘महामन्त्रीले कांग्रेसका मन्त्रीहरू बोलाउने भनेर निष्कर्ष सुनाउनु भएको होइन। अहिले सरकार गठबन्धनको भएका कारण सरकारको अपजस जति कांग्रेसले भोग्नुपर्ने, जस जति प्रधानमन्त्रीले लिने वा अरु मन्त्रीहरूले लिने भएकाले उक्त अभिव्यक्ति दिनुभएको हो।’ यस्तो अलमलमा बस्नुभन्दा एकलौटी सरकार चलाउन दिनुपर्ने र अढाई वर्ष कांग्रेसले सरकारले चलाउनुपर्ने मत महामन्त्री थापाले दिएको उनको भनाइ छ। ‘हाम्रा पालामा हामी पनि एकलौटी चलाऊँ भनेर राजनीति मन्तव्य राख्नु भएको हो। पार्टीको प्रस्ताव पनि होइन। नीति पनि होइन। निष्कर्ष पनि होइन।’
गठबन्धन सरकारका विषयमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकदेखि तल्लो तहसम्म प्रश्न उठेको बताउँदै प्रवक्ता विश्वकर्माले सरकारलाई सुधारका लागि खबरदारी गरेको बताए। ‘प्रश्न उठ्ने भनेको गठबन्धन टुट्ने गरी होइन, सरकारका काम कारबाही सुधार गर्नका निम्ति हामीले खबरदारी गरेको हो,’उनले भने। सरकारलाई सुधारका लागि पार्टीले ध्यानाकर्षण गराएको, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा जवाफ दिन लगाएको पनि उनले बताए।