काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले भेपमा राखेर सुन तस्करी गरेको अभियोगमा बयान दिँदै आफूले भन्सार प्रमुखलाई फोन गरेको स्वीकार गरेका छन्।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराले आफूले तत्कालीन भन्सार प्रमुखलाई पुरानो चिनजान भएको चिनियाँ व्यापारीको सामान के हो भनेर फोनमात्र गरेको जिकिर गरेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँगको बयानमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई छोड्नु भनेर दबाब भने नदिएको दाबी गरेका छन्।
चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्विकारेका छन्। वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएकाले त्यही रुपमा लिएर फोन गरेको भन्दै सुन तस्करीवारे जानकारी नै नभएको दाबी गरे।
सीआईबीले यससम्बन्धी अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको छ। काठमाडौंले केही दिन अध्ययन गरेर मुद्दा दायर गर्ने छ।
२०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङ्गले दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट ९भेप० त्रिवि भन्सार कार्यालयमा शंका लागेपछि पक्राउ गरिएको थियो।
दाओजिन वाङ्गले उक्त सामान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेका तीन दिन पछि महरालाई छुटाउनका लागि भन्न लगाएका थिए। ‘मैले अरुण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानुन बमोजिम के गर्न मिल्छ हेरि दिनु होला भनी फोन गरेको हो,’ महराले भने।
‘मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट ९भेप० जफत भएको रहेछ, कानुन बमोजिम मिल्ने भए सहयोग गरी दिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन्। निज दाओजिन वाङ्ग सँग मेरो पुरानो चिनजान हो, निजले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापारे गर्ने भनी चिनाएका थिए।’
उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गरेको र यो बाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध नभएको बयानमा भनेको छ।