सिमकोट । कांग्रेस नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन दलहरूको सरकार पाँच वर्षसम्मै चल्ने ठोकुवा गर्नु भएको छ ।
नेपाली कांग्रेस हुम्लाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमका लागि सिमकोटमा पुग्नु भएका नेता निधिले बाह्य रुपमा जस्तो सुकै हल्ला आएको भएपनि वर्तमान सत्ता गठबन्दन कुनैपनि हालतमा नट्ने दावी गर्नुभयो ।
‘सत्ता गठबन्दन दलहरुले २०७९ मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देखि जुन समझदारी र सहमति भएको छ त्यसअनुसार आगामी पाँच वर्ष जानुको अर्को कुनै विकल्प छैन् कांग्रेस पूर्वउपसभापतिसमेत रहेका नेता निधिले प्रशिक्षणका क्रममा भन्नुभयो ‘सरकार गठन गर्दा गठबन्धन दल विशेष गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच जुन सहमति भएको छ । त्यसैअनुसार सरकार पूरा अवधि आलोपालो गर्दै सञ्चालन हुने उनले बताए ।’
निधिले पाँच वर्षमा पहिलो अवधि साढे दुई वर्ष नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने सहमतिअनुसार हाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन भइरहेको र त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही अवधिका लागि सरकारको नेतृत्व गर्ने र अन्तिममा कांग्रेस सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री हुने बताए ।
कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले ०८४ सालको निर्वाचनसमेत सम्पन्न गर्ने उनको भनाइ थियो । गठबन्धन सरकारविरुद्ध सोच्न पनि नसकिने भन्दै कांग्रेसका नेताहरूले नयाँ सरकार गठनबारे बोल्नु आबश्यक नरहेको उनले बताए ।
गठबन्धन सरकार निर्वाचनले दिएको म्याण्डेडअनुसार आवश्यक रहेको भन्दै नेता निधिले गठबन्धनका कोही कसैबाट विरोधका स्वर आउनु आबश्यक नरहेको र त्यसमा कुनै तुकसमेत नरहने बताए । नेता निधि र कांग्रेस कार्यसम्पादन समितिका सदस्य शाहीले प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
नेता निधिको टोली प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन र नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूर दर्शनका लागि बुधबार बिहान हुम्ला आइपुगेको हो । नेता निधि एक रात सिमकोटमा रहने र बिहीबार बिहानै लाप्चातर्फ लाग्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका जिल्ला सभापति मोहनविक्रम सिंहले जानकारी दिनुभयो ।