हुम्ला । दुतावासको आर्थिक सहयोगमा निर्माण गरिएका पुस्तकालय भवन उद्घाटन गर्न हुम्ला पुगेका नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवलाई हुम्लाका स्थानीय तहले राजकीय सम्मान गरेका छन् ।
मंगलबार हेलिकोप्टरबाट ससुर्केगाड, चंखेली गाउँपालिकामा पुगेको राजदूत श्रीवास्तवलाई बाजागाज र झाँकीसहित सबै स्थानीय तहले स्वागत गरेका छन् ।
राजदुत श्रीवास्तवसहितले बिहान सर्केगाड गाउँपालिका १ जैरको सरस्वती माध्यमिक विद्यालयको नव निर्मित पुस्तकालय भवनको उद्घाटन गरेका थिए ।
विकासका लागि ऐक्यबद्ध महिला संस्थाको पहलमा भारतिय राजदूतावासले २०७४ सालमा निर्माण गरेको भवन राजदूत श्रीवास्तवले उद्घाटन गर्दै आवश्यक थप सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भएका विकासका लागि ऐक्यबद्ध महिलाकी अध्यक्ष कुसुम रावतले जानकारी दिनुभयो ।
२०७१ सालमा पुस्तकालय निमार्णको लागि पहल गर्दाको समयलाई स्मरण गर्दै राजदुत श्रीवास्तवले भने,“त्यो समयमा अध्यक्ष कुसुम रावत जी र सल्लाहकार कृष्ण रावतले अनुरोध गरेअनुसार कामलाई अगाडी बढाएर निर्माण गर्यौं, अरु आवश्यक पर्ने विषयको लागि फेरी पनि पाल्नुहोला सहयोग गर्छौं ।
श्रीवास्तवले नेपाल र भारत एक असल छिमेकी मित्र राष्ट्र भएको र एक–अर्कोमा सधै सहयोग अनि सहकार्य हुनुपर्ने धारणा राखे । सो कार्यक्रममा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले शिक्षा क्षेत्रको विकासका लागि राजदूतावासले गरेको सहयोग अमूल्य रहेको बताउनुभयो । रोकायाले नेपाल र भारतको सम्बन्ध सदियौंदेखि मित्रवत रहेको र भावि दिनमा पनि रहने विश्वास गर्दै भाईचाराको सम्बन्ध अझ मजबुत बनाउनु पर्ने धारणा राख्नुभयो । पुस्तकालय भवन र एम्बुलेन्स सहयोग गरेकोमा विकासका लागि ऐक्यबद्ध महिलाकी अध्यक्ष कुसुम रावतले भारतिय राजदूतावासलाई धन्यबादसमेत दिनुभएको छ ।
कार्यक्रममा सो संस्थाका सल्लाहकार कृष्ण रावत, चंखेली गाउँपालिका अध्यक्ष प्यारिलाल शाही, सर्केगाड १ जैरका वडा अध्यक्ष बल कार्की लगायतको उपस्थिति रहेको थियो । जैरको पुस्तकालय उद्घाटन गरे लगत्तै राजदूतसहितको टोली चंखेली स्थित महादेव माविको पुस्ताकालयको उद्घाटन गरेका चंखेली गाउँपालीका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभएको छ ।
पुस्तकालय उद्घाटन गरे लगत्तै उत्तरी छिमेकी चीनको तिब्बतसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमि लाप्चाको भ्रमण गरेर कैलाश मानसरोवर दर्शन गर्न जाने तालिका राजदुत श्रीवास्तवको भएपनि प्रतिकुल मौसमका कारण मुगुको रारा ताल गएको बताइएको छ । टोली बुधबार पुनः हुम्ला हुँदै कैलाश मानसरोवरको दूरदर्शन गरेर फर्किने कार्यक्रम छ।
कार्यक्रममा राजदूत श्रीवास्तवका साथ नेपाल स्थित भारतीय दूतावासका प्रमुख सचिव करुण वंशलगायतको टोली हुम्ला पुगेको छ । पुस्तकालय उद्घाटनमा गएको राजदुतको टोलीलाई सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले मायाको चिनो हस्तान्तरण गरेका थिए ।