काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले चाडपर्वको समयमा एक मिनेट पनि वत्तिजान नदिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनु भएको छ ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईसहित पुगेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एउटा घरबाट पनि गुनासो नआउने गरी सहज रुपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिनु भएको हो ।
‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस्। वर्षदिनभरि राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन। काम नगरेसरह नै हुन्छ। त्यसकारण जिम्मेवार भएर २४सै घण्टा सेवामा क्रियाशील हुनुस् ’ निर्देशन दिदैं मन्त्री बस्नेतले भन्नुभयो ‘प्राधिकरणको सिंगो टिम पूर्ण रुपमा जिम्मेवार भएर कामा लागोस्।’
चाडपर्वको समयमा उद्योग र प्रतिष्ठानलाई पनि बढीभन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिनुभएको छ । चाडपर्वमा उद्योग, प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने उल्लेख गर्दै प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले थप्नुभयो, ‘सकेसम्म बिजुली खेर जान नदिनुस्।’
प्राधिकरणका नो लाइट सेन्टरहरुलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्नेबित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमा नै उपभोक्ताको घरसम्म पुग्नेगरी द्रुत टोली व्यवस्थापन गर्न आग्रह गर्नु भएका मन्त्री बस्नेतले कामका आधारमा चार्डपर्वले प्राधिकरणको विद्यमान छविमा थप सुधार आउने दावी गर्नुभयो ।
उक्त भेटघाटमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र मन्त्रालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।