काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ।
पहिले फिल्टिङ गरेको नेपालले जितका लागि १४६ रनको लक्ष्य पाएको थियो। ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
सामान्य लक्ष्य पछ्याएको नेपाल १४० रनमा अलआउट हुन पुग्यो। ओपनर ब्याटर कुशल भुर्तेल २६ बाहेक कसैले पनि उल्लेख रन बनाउन सकेनन्।
सोमपाल कामी, सन्दीप जोरा र क्याप्टेन रोहित पौडेल १२र१२ रन बनाएर आउट भए भए कुशल मल्लले १० रन मात्र बनाउन सके।
सातौं नम्बरमा आएका विवेक यादवले २४ बलमा ३९ रन बनाए पनि अन्तिम बलमा छक्का हान्न नसक्दा नेपालले खेल गुमाउन पुग्यो।
ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिएका थिए। लामिछानेले एउटै ओभरमा ओमानका दुई जना ब्याटरलाई पेबेलियन फर्काएका थिए।
ओमानका ब्याटर जिसन मक्सुदले ३२ र प्रतीक अथाभलेले २४, साकिल अहमदले नटआउट २२ रन, आयन खानले १८ रन बनाए। अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्।
ओमान समूह ‘बी’ को बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। फाइनल प्रवेश गर्ने दुई टोलीले २०२४ मा वेष्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्कप खेल्नेछन्।