काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा व्यक्ति हत्या आरोपमा जन्मकैद सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाह बदर गर्ने निर्णय सुनाएको छ।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो।
संविधान दिवसको अवसर पारेर सरकारले ४० प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन असल रहेको भन्दै कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
राष्ट्रपतिले संविधान दिवसका अवसरमा दिइएको कैद मिनाहविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
बुधबार नै निवेदक र सरकारी पक्षको बयान सकिए पनि फैसला बिहीबार सुनाउने निर्णय भएको थियो। बिहीबार भने सर्वोच्चले सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको उक्त कैद मिनाह बदर गरिदिएको छ। यससँगै अब उनी फेरि बाँकी कैद भुक्तानका लागि थुनामा बस्नुपर्ने देखिन्छ।
तत्काल पक्राउ गर्न परमादेश
सर्वोच्च अदालतले सरकारको सिफारिस र राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयले जन्मकैदमा सजाय माफी पाएर रिहा भएका रिगल भनिने योगेराज ढकाललाई तत्काल पक्राउ गरी बाँकी कैद असुल गर्न परमादेश जारी गरेको छ।
सर्वोच्चले रिगलले गरेको अपराध माफी दिएर सजाय घटाउन मिल्ने नदेखिएको भन्दै उनलाई पुनः थुनामै राख्न भनेको छ। सरकारले संविधान दिवसको दिन माफी दिएको थियो। सरकारले माफी दिएपछि हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पाले सर्वोच्च गुहारेकी थिइनन्।
उनले सर्वोच्चमा माफी बदर हुनुपर्ने माग गर्दै रिट दायर गरेकी थिइन्। रिगलले ४० प्रतिशत कैद भुक्तान गरेको र चालचलन असल रहेको भन्दै कैद मिनाहका लागि सरकारले सिफारिस गरेको थियो। उनले अब कैद भुक्तान गर्न ११ वर्ष ११ महिना ५ दिन बाँकी रहेको छ।
फैसला सुनेपछि भक्कानिइन भारती
आफ्नो पतिको हत्यारा योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती मानन्धर भावविव्हल बनेकी छन्।
पुर्ण इजलाशमा कामु प्रधानन्यायाधीश खतिवडाले निर्णय सुनाउनु भएलगत्तै भारती भक्कानिदै तल झरेर डाँको छोडेर रुनुभयो । भारतीलाई सुरुदेखि नै सहयोग गर्दै आउनु भएकी जस्मिन ओझासहितका साथीहरुले समातेर सम्हाल्नु भएको थियो ।
रिगलको आममाफीसँगै न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहनु भएकी भारतीले मुद्दा जितेपछि न्याय मरेको छैन भन्दै सर्वोच्च अदालतको पेटीसमेत ढोग्नुभएको छ । रिगलकै योजनामा २०७२ सालमा नेपालगञ्जमा चेतन मानन्धरलाई रिगलकै खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।
संबिधान दिवसको अवसर पारेर राष्ट्रपतिले रिगललाई आममाफीदिएपछि भारती न्यायको लडाईमा रहनुभएको थियो । अदालतको फैसलापछि भारतीले न्याय पाएको बताउनु भएको छ ।