काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार (आज) बस्दै छ।
युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा यो बैठक बस्न लागेको हो।
मंसिर ७ गते युवा संघका इन्चार्जसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै छ।
एमालेको बैठक र ओलीको प्रस्तुतिलाई चासोका साथ हेरिएको छ।
समसामयिक विषयमा अध्यक्षको राजनीतिक प्रतिवेदन
रिजालका अनुसार, बैठकमा अध्यक्ष ओलीले एक प्रतिवेदन प्रस्तुत गर्नेछन्। पछिल्लो समसामयिक राजनीतिका विषयमा केन्द्रित उक्त प्रतिवेदनमाथि केहीबेर छलफल हुनेछ।
‘देशको पछिल्लो राजनीतिक गतिविधि लगायतका समसामयिक विषयमा भोलिको बैठकमा अध्यक्षज्यूले एक प्रतिवेदन पेस गर्नुहुन्छ,’ रिजालले भने, ‘सो प्रतिवेदनमाथि केहीबेर छलफल होला।’
यसबाहेक अन्य केही छलफलका एजेन्डा नभएको उनले बताए।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को तालिका सार्वजनिक गर्ने
एमालेले मध्यपहाडी लोकमार्गमा तीन साता लामो विशेष अभियान सञ्चालन गर्दै छ। मंसिर १४ गते अभियान सुरु हुनेछ।
मध्यपहाडी क्षेत्रको विकासका विषयमा छलफल गर्नका लागि यो अभियान सञ्चालन गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को तालिका र कार्यक्रम स्थलको बारेमा टुंगो लगाउने छ । अभियानको सुरुआत मंसिर १४ गते बिहान साढे ८ बजे पश्चिमी नाका झुलाघाटमा गरिनेछ। अभियान पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षमा प्रवेश गर्दा पुष्पलाल श्रेष्ठसँग जोडिएको मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गर्ने तय भएको एमालेले बताएको छ।