काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालहरु बचाउन जरुरी रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।
बढ्दो तापक्रमबाट हिमालमाथि अत्याचार भइरहेको र त्यसलाई तत्काल रोक्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा राष्ट्रिय वक्तव्य दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान रहे पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असंगत र हानिकारक प्रभाव झेलिरहेको बताए।
‘हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा जनता पहिरो, बाढी, जङ्गलको डढेलो, हिमताल प्रकोप, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सरासर अन्याय हो। यो अब रोकिनु पर्दछ।’
प्रधानमन्त्री प्रचण्डले कार्बन उत्सर्जन प्रकृतिका साथ–साथै मानवताविरुद्धको पनि युद्ध भएको बताए। ‘हामी केबल आफ्नो अदूरदर्शी तथा स्वार्थी हितलाई पुरा गर्नका लागि आफैँसँग र आगामी पुस्तासँग पनि युद्ध लडिरहेका छौँ,’ प्रधानमन्त्रीले भने, ‘यसकारण म मेरा निर्दोष जनाताका लागि जलवायु न्यायका लागि यहाँ उपस्थित भएको छु जो यो विपत्तिबाट पीडित छन्।’
प्रधानमन्त्री प्रचण्डले अल्पविकसित देशहरू ९एलडीसी० जलवायु परिवर्तनका प्रभावप्रति अधिक संवेदनशील रहेको उल्लेख गर्दै ती देशहरुलाई वित्तीय तथा प्राविधिक सहयोगको खाँचो रहेको बताए।
‘एलडीसीको अध्यक्षका रुपमा म विकसित अर्थव्यवस्था र अन्तर्राष्ट्रिय समुदायसँग एलडीसीका लागि थप अनुमानित पर्याप्त स्रोत–साधन र प्रविधिका लागि आग्रह गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने।
विकसित देशहरुको प्रतिज्ञा र काम एक–दोस्रोसँग मेल खान नसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता देशहरुले आफ्नो महत्वाकांक्षा बढाउनुपर्ने र आफ्नो प्रतिबद्धतालाई तत्काल पूरा गर्नुपर्नेमा जोड दिए।
विकसित देशहरुले १०० बिलियन अमेरिकी डलरको कमिलाई पूरा गर्नका लागि जलवायु वित्त बढाउनुपर्ने र २०२५ सम्म अनुकूलन वित्तलाई दोब्बर बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले यस संकटलाई सम्बोधन गर्न र न्यायका खातिर अनुदानको माग गरे उनले हानि तथा नोक्सानी कोष अल्पविकसित र हिमाली देशका लागि अनुमानित, सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री प्रचण्डले जिएसटी रिपोर्टले सबैलाई स्पष्ट मार्गचित्र दिनुपर्ने र तत्कालै एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राखे। हिमाल र जलवायु परिवर्तनका विषयमा सघन छलफल गरी एउटा निष्कर्षमा पुग्नैपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए।