जाजरकोट । नेकपा (एमाले) का स्वयम् सेवकले कार्तिक १७ गते गएको जाजरकोट भुकम्प प्रभावितका ८ सय १३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् ।
बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेर ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८ सय १३ वटा निजि आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको प्रभावित क्षेत्रमा खटिनु भएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयम्सेवक विभागका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।
१८ गते एमाले उपमहासचिव विष्णु रिमालबाट शुरु भएको भुकम्प प्रभासवत क्षेत्रको स्थलगत अनुगमनको प्रतिवेदन अनुसार एमालेले स्वयम् सेवक परिचालन गरेको थियो । संयोजक पौडेलका१८ गते जिल्ला पार्टी, विद्यार्थी र युवाहरु उद्धार, खोज र राहतमा लागेको थियो ।
‘यहाँ हामीले धेरै गरेका छैनौं तर केहि काम भने गरेका छौं’ संयोजक पौडेलले भन्नुभयो, ‘जाजरकोट र रुकुमपश्चिममा भवन र भौतिक संरचना मात्रै होइन हरेक मान्छेका मनहरुपनि क्षतविक्षत छन् । विपतले विक्षिप्त भएका मनमा थोरै भएपनि खुशी ल्याउने काम गरेका छौं । यो बिचमा खुला आकाश मुनी भोको पेटमा, हप्तौं ननिदाएका आँखाहरुमा निद्रा ल्याउने काम गरेका छौं ।’
भौतिक संरचनाको खोज, उद्धार र पुनःनिर्माणको काम गर्ने दौरानमा हामीले स्थानीय जनता र पार्टीलाई भार नपर्ने गरेर आफैले व्यवस्थापन गरेका छौं । २४ घण्टा पैदल यात्रामा रहेको टिका चौर जस्ता गाउँमा समेत स्वयम् सेवक सेवा गरेको संयोजक पौडेलले बताउनुभयो ।
‘हामीले सेना र प्रहरीले सम्हाल्न नसकेका खोज उद्धार र सुरक्षित अस्थायी आवास निर्माण गरेका छौं । नलगाड नगरपालका १ को कल्पतमा कल्पतमा २५ वटा रहर लाग्दा मोडेल घर निर्माण गरेर हस्तान्तरण गरेका छौं । विकट क्षेत्रलाई बढि प्राथमिकता दिएका थियौ । चुनावको प्रचारमा नेताहरु नपुगेको स्थानमा पार्टी हामीले काम गर्नु गरेका छौं । जनताको केहीपनि नलिने र भार नपार्ने निर्देशन पार्टी केन्द्रको थियो तर स्थानीयले बिहानै घरमा फलेको साग, फलफूल, तरकारी, माशु ल्याएको नकार्न सकेनौं’ संयोजक पौडेलले भन्नुभयो ।
आफूले कहिल्यै पनि एमाले पार्टीको पहिचान नदिएको बताउनु भएका पौडेलले काम गर्ने सन्दर्भमा अरुपार्टीसँग कहिल्यै होडबाजी नगरेको बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालय देखि साहारा खोजिरहेका नागरिकलाई विभेद नगरी सेवा प्रवाह गरेको दावी स्वयम् सेवकहरुले बताएका छन् ।
दुई हजार अस्थायी टहरा निर्माणको लक्ष्य लिएको एमालेले बाँकी निर्माणको काम जाजरकोट र रुकुम पश्चिम जिल्लाको पार्टीले नेतृत्व लिने भएको छ । देशका विभिन्न जिल्लाबाट खटिएका स्वयम् सेवकहरुलाई बिदाई गर्दै स्वयम् सेवक टोलीकासंयोजक पौडेलले निर्माणको कामको जिम्मेवारी पार्टीका जाजरकोट जिल्ला इन्चार्ज खेमबहादुर शाही र रुकुम पश्चिमका अध्यक्ष नन्दराज देवकोटालाई हस्तान्तरण गर्नु भएको छ ।
कार्तिक १७ गते राती भुकम्प गएको भोलीपल्ट एमालेको तर्फबाट उपमहासचिव विष्णु रिमालले स्थलगत अनुगमन गरेर शुरु भएको एमालेको अभियान कार्तिक ३० गते पार्टीको मजदुर संगठन जिफण्टका एक सय जना स्वयम् सेवक परिचालन गरेर शुरु भएको थियो ।
भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका वस्तीमा २५ जनाका दरले ४० समुह परिचालन गरिएका थिए ।