काठमाडौं । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएका दशगजा क्षेत्रका ७ सय सीमा स्तम्भको मर्मतसम्भार गरेको छ।
गत कात्तिक १६ गतेबाट मर्मत सम्भार सुरु गरेको सशस्त्र प्रहरी बलको टोलीले मंसिर २७ गतेसम्म ६ सय ९२ वटा सीमा स्तम्भको मर्मत सम्भार गरेको हो।
दक्षिणसँग सीमा जोडिएका तराईका १० जिल्लाका ६९२ सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। अन्य जिल्लाका थप सीमा स्तम्भहरुको पनि मर्मत कार्य भइरहेको छ।
जसमा झापामा ७१, सिरहामा १६२, धनुषामा १५०, महोत्तरीमा १४, सर्लाहीमा १, पर्सामा २४७, रुपन्देहीमा ८, दाङमा १, कैलालीमा १४ र कन्चनपुरमा २४ गरी ६९२ वटा सीमा स्तम्भको मर्मत सम्भार भइसकेको छ। सीमा स्तम्भको अवस्था हेरेर रंगरोगन, सामान्य मर्मत, मध्यम स्तरको मर्मत र पूर्ण मर्मत गरी वर्गिकरण गरेर सशस्त्र प्रहरीले काम गरेको छ।
जसमा झापामा ५९ वटा सीमा रंगरोगन गरिसकिएको छ भने १२ वटा सीमा स्तम्भको सामान्य मर्मत गरी ७१ सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। सिरहामा भने १६२ वटै सीमा स्तम्भको सामान्य मर्मत सम्भार गरिएको हो। धनुषामा ३६ वटाको रंगरोगन, १०४ को सामान्य मर्मत र १० वटा सीमाको मध्यमस्तरको मर्मत गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
महोत्तरीमा १ वटा सीमाको रंगरोगन, १२ वटाको सामान्य मर्मत र १ वटाको मध्यमस्तरको मर्मत गरिएको छ। सर्लाहीमा १ वटा सीमाको रंगरोगन गरिएको छ।
पर्सामा १२७ वटा सीमाको रंगरोगन, ११९ वटा सीमाको सामान्य मर्मत र १ वटा सीमा स्तम्भको मध्यम स्तरको मर्मत गरिएको छ। रुपन्देहीमा १ वटा सीमा स्तम्भको रंगरोगन गरिएको छ भने ७ वटा सीमा स्तम्भको सामान्य मर्मत गरिएको छ। दाङमा १ वटा सीमा स्तम्भको रंगरोगन गरिएको छ। कैलालीमा ७ वटा सीमा स्तम्भको रंगरोगन, ६ वटाको सामान्य ममर्त र १ वटा सीमा स्तम्भको पूर्ण मर्मत गरिएको छ।
कन्चनपुरमा १४ वटा सीमा स्तम्भको रंगरोगन, ९ वटाको सामान्य मर्मत र १ वटा सीमा स्तम्भको मध्यमस्तरको मर्मत गरिएको छ।
त्यसैगरी कात्तिक २७ गतेसम्मको विवरण अनुसार ३३१ वटा सीमा स्तम्भको मर्मत कार्य भइरहेको छ। जसमा पूर्ण मर्मत गर्नुपर्ने सीमा स्तम्भ पर्सा र कैलालीमा गरी २ वटा छन्। मध्यम स्तरको मर्मत गर्नुपर्ने सीमा कैलालीमा २ र पर्सामा १ गरी ३ वटा छन्। बाँकी १६३ को रंगरोगन र १६३ वटैको सामान्य मर्मत कार्य भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए।
कात्तिक १६ गते मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीबाट सीमा स्तम्भको मर्मत सम्भार कार्य सुरु गरिएको थियो। बाहिनीपति तथा डीआईजी दीपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित दशगजामा रहेको सीमा स्तम्भबाट मर्मत सुरुवात गरिएको थियो।
सीमा स्तम्भको मर्मत सम्भार सरकारले सशस्त्र प्रहरी बललाई दिएपछि सशस्त्रले मर्मतको काम सुरु गरेको हो। नेपाल भारत बाउन्ड्री वर्किङ गु्रप (बीडब्लूजी) को पाँचौं बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम अहिले मर्मतको कार्य भइरहेको छ।
कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बलको नम्बर १ बाहिनी मुख्यालय पकलीले पनि मंसिर १८ गतेबाट सीमा स्तम्भको मर्मत सम्भार सुरु गरेको थियो। मुख्यालय पकलीले झापाको मेचीनगर नगरपालिका–७ बाट सीमा स्तम्भ मर्मत गर्ने कार्य सुरु गरेको थियो।
मुख्यालयका बाहिनीपति डीआईजी अन्जनीकुमार पोखरेल, नेपाल प्रहरीका कोशी प्रदेका डीआईजी राजेशनाथ बाँस्तोला र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त उपस्थितिमा सीमाको मर्मत सम्भार सुरु गरिएको थियो। अहिले सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरीको बाहिनीले पनि सीमा स्तम्भको मर्मत सम्भार सुरु गरेको छ।
सीमा सुरुक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्रले सीमा मर्मत गर्नुका साथै सीमामा आफ्नो उपस्थिति पनि बाक्लो बनाउँदै आएको छ। भारततर्फ २४३ बोर्डर आउट पोस्ट (बीओपी) र चीनतर्फ ९ गरी सशस्त्रका २५२ बीओपीले बोर्डरको सुरक्षा गर्दै आएका छन्।