काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले बुधबार सार्वजनिक गरेको मतदाता नामावली स्वीकृति अनुसार कूल २०४७ मतदाता रहेका छन्।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट मतदाता नामावली स्वीकृत भएको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था भए बमोजिम प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगले जनाएको छ।
स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको आयोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको जनाएको छ।
निर्वाचन कार्यक्रम बमोजिम पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुने र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने र पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले बताएको छ।
उल्लेखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकोले मिति २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९,०९७ र उँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार रहेको छ।