विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बीच तालमेल भएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एकअर्कालाई सघाउने सहमति दुवै दलबीच भएको हो ।
तालमेल भएपनि सत्तारुढ गठबन्धनको मतभार बढी भएकाले दुवै दलका उम्मेदवारलाई जित निकाल्न भने सकस पर्ने देखिन्छ । यद्यपि, निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘निर्वाचन जितिन्छ भन्नेमा आशावादी छौं,’ उनले भने, ‘त्यही भएर तालमेल गरिएको हो ।’
कोशीमा यसअघि राप्रपाले सभामुख लिएपछि एमालेसँग खटपट भएको थियो । तर, राष्ट्रियसभा निर्वाचनमा पुनः तालमेल गर्ने सहमति भएको छ । प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमा पनि एमाले–राप्रपाको तालमेल भएको थियो । त्यो तालमेलका आधारमा एमाले नेतृत्वमा प्रदेश सरकार बनाउन राप्रपाले साथ दियो ।
सरकार बनाउने र ढाल्ने खेलका कारण प्रदेशमा लामो समयसम्म सभामुख पद खाली रहयो । सत्तारुढ गठबन्धनसहितका दलको साथ पाएर राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बनेका छन् । सभामुखको विषयलाई लिएर दुई दलबीच देखिएको खटपट राष्ट्रियसभा निर्वाचनसम्म आइपुग्दा टुंगिएको छ ।
राष्ट्रियसभाको निर्वाचनमा महिलातर्फ खाली छाडेको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । एमालेले महिलातर्फ रुक्मिणी कोइराला र अन्यतर्फ पर्शुराम अधिकारीलाई उम्मेदवार उठाएको थियो । दुवै दलबीच चुनावी तालमेल भएपछि एमालेले अधिकारीलाई ‘ब्याक’ गराउने र महिलातर्फ कोइरालालाई जिताउने रणनीति लिएको छ ।
एमाले प्रमुख सचेतक भण्डारीले अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सघाउने सहमति भएको बताए । सत्ता गठबन्धनको मतभार धेरै भएकाले एमाले वा राप्रपा एक्लै चुनावमा जाँदा जित्ने अवस्था थिएन । तालमेल गर्दा पनि सत्ता गठबन्धनकै मतभार बढी हुन्छ ।
कोशीमा राष्ट्रियसभाको दुई सिटका लागि निर्वाचन हुँदैछ । यसअघि राष्ट्रियसभा सदस्य बनेका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र नेकपा (माओवादी केन्द्र)की बिना पोखरेलको पदावधि सकिन लागेपछि चुनाव हुन लागेको हो ।
कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । कोशीमा प्रदेशसभा सदस्य ९३ जना छन् । प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरिएको छ । कोशीका १ सय ३७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २ सय ७४ जनाले राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउँछन् । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
कोशीको १० हजार १ सय ३५ कूल मतभारमध्ये प्रदेशसभा सदस्यको मात्रै ४ हजार ९ सय २९ पुग्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९, माओवादीका १३, नेकपा ९एकीकृत समाजवादी०का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यका हिसाबले एमाले–राप्रपाको २ हजार ४ सय ३८ र सत्तारुढ गठबन्धनको २ हजार ४ सय ९१ मतभार हुन्छ ।
स्थानीय तहमा सबैभन्दा धेरै कांग्रेसका १ सय १३ जना प्रमुख र उपप्रमुख छन् । माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जसपाका ४ जना छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर सत्ता गठबन्धनको मतभार २ हजार ९ सय ४५ पुग्छ । एमालेका १ सय १२ र राप्रपाका ४ जना प्रमुख एवं उपप्रमुख छन् । स्थानीय तहबाट एमाले–राप्रपाको कूल मतभार २ हजार २ सय ४ पुग्छ । स्वतन्त्र ३ जनाको मतभार ५७ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको जम्मा मतभार ५ हजार २ सय ६ पुग्छ ।
प्रदेश र स्थानीय तह गरेर स्वतन्त्रबाहेक गठबन्धनसँग ५ हजार ४ सय ३६ तथा एमाले–राप्रपासँग ४ हजार ६ सय ४२ मतभार हुन्छ । सत्तारुढ गठबन्धनले राष्ट्रियसभामा अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभामा गठबन्धन गरेका एमाले–राप्रपाले सत्तारुढ गठबन्धनको असन्तुष्ट मत तानेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाएका छन् । सत्तारुढ गठबन्धन भने आफ्नो मत जोगाएर चुनाव जित्ने धाउन्नमा केन्द्रित छ ।