काठमाडौं । उपत्यकाको तापक्रम आज (शनिबार) यो वर्षको अहिलेसम्मकै कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।
‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भनिन्। यसअघि उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस देखिएको थियो। आज त्यसभन्दा पनि तल झरेको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ।
तापक्रम घटेकाले आज बिहान काठमाडौँ उपत्यकामा निकै कठ्यांग्रिँदो चिसो महसुस भइरहेको छ। मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ।
हिजो शुक्रबार उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८स्४५ बजेभित्र न्यूनतम तथा साँझ ५स्४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
यतिबेला (शनिबार बिहान) काठमाडौँ उपत्यकामा पातलो हुस्सु लागिरहेको मौसमविद् नगरकोटीले बताइन्। ‘अहिले उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) ३ किलोमिटर छ’, उनले भनिन्, ‘घाम लाग्दै जाँदा हुस्सु हट्नेछ।’
आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान रहेको उनले बताइन्। यसको अर्थ आकाशमा अलिअलि बादलसँगै घाम लाग्नेछ।
तीन प्रदेशको उच्च भेगमा हल्का हिमपातको सम्भावना
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीकोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।