काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति कहालीलाग्दो रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको हरेक क्षेत्र समस्यामा मात्र होइन गम्भीर समस्यामा परेको बताउनुभयो । ‘गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र स्वार्थले गर्दा देश आज छियाछिया भएको छ’, पौडेलले भन्नुभयो ।
पौडेलले अहिले देश मल्टी अर्गान फेलियरको अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । ‘जता हेर्यो खराब छ, देशलाई यो ठाउँमा ल्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको हो’, उहाँले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको पौडेलले बताउनुभयो । यस विषयमा पत्रकारले अझ बुलन्द आवाज उठाउनु पर्ने अवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले प्रतिपक्षमा रहेको नाताले एमालेले पनि यी आवाज सशक्त रूपमा उठाउने पौडेलले बताउनुभयो ।
अहिलेको सत्ताले प्रतिपक्षमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेकोले प्रतिपक्षका आवाजलाई उपेक्षा गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । यस अर्थमा एमालेको आवाज र आन्दोलन थप सशक्त हुने उहाँले बताउनुभयो । सदनमा प्रतिपक्षीले उठाएको आवाज सुनुवाइ नभए सडकबाट पनि सशक्त दबाब दिने अवस्था आउने पौडेलले चेतावनी दिनुभयो ।
अहिले साधारण खर्च धान्ने राजश्व समेत सरकारले उठाउन नसकेको पौडेलले बताउनुभयो । अन्तराष्ट्रिय सहयोग र अनुदानमा गिरावट आएकोले देश टाट पल्टने अवस्थामा पुगेको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रको समस्या समाधान त परै जाओस् अहिलेको सरकारले अर्थतन्त्रको समस्या समेत बुझ्न नसकेको पौडेलले बताउनुभयो ।
जनता र राष्ट्रका माग सम्बोधन गराउन अब सशक्त जनदबाब आवश्यक रहेको पौडेलको धारणा छ । ‘जनताको आवाज सुन्नै पर्ने दबाब सिर्जना गर्न हामी जनताको बिचमा जाने छौँ’, उहाँले भन्नुभयो ।
प्रेस स्वतन्त्रता, मानवअधिकार र जनअधिकारको पक्षमा सशक्त जनमत सिर्जना गर्नुपर्ने पौडेलले बताउनुभयो । त्यसको लागि सञ्चार क्षेत्रले एमालले साथ दिनु पर्ने उहाँले बताउनुभयो ।