काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्व सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला सो सरकार ढाल्ने काम गरिएको बताउनुभएको छ ।
नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार चरिकोटमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले सरकार ढलेसँगै जनतामा निराशा जागेको बताउनुभयो । एउटा गतिमा काम गरिरहेको सरकार ढालेर विकासका काम ठप्प पार्दा नागरिकमा निराशा छाउनु स्वाभाविक भएको पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले केपी ओली नेतृत्व सरकारले अभूतपूर्व काम गरेको बताउनुभयो । मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको लोककल्याणकारी सरकारको कामलाई विस्तार गरी काम गरिरहेको केपी ओली नेतृत्वको सरकारलाई सत्ताबाट हटाएपछि नेपाली जनतामा निराशा बढेको पोखरेलले टिप्पणी गर्नुभयो ।
काम गरिरहेको सरकारलाई अलोकतान्त्रिक विधिबाट षडयन्त्रपूर्ण तरिकाले हटाएको पोखरेलको भनाइ छ । दलीय अनुशासन उलङ्घन गरी आफ्नै पार्टीका नेताहरू ओली नेतृत्वको सरकार हटाउन लागेका पोखरेलले बताउनुभयो ।
कम्युनिष्ट पार्टीको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनाउन पुग्ने पुष्पकमल दाहाल र माधव नेपाल कम्युनिष्ट नभएको पोखरेलले बताउनुभयो । ‘अब नेपालमा कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने सामर्थ्य अरू कुनै पार्टीसँग रहेन, अब त्यो नेकपा एमालेसँग मात्रै छ’, पोखरेलले भन्नुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरी बलियो बनाएर अघि बढाउनु पर्ने बताउँदै सबै कम्युनिष्टलाई एकताबद्ध गरी एमालेलाई एक बनाएर लैजानु पर्ने उहाँले बताउनुभयो ।
पोखरेलले मुलुकमा आर्थिक सामाजिक रूपान्तरणको आवश्यकता रहेको बताउनुभयो । त्यसको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताउँदै पोखरेलले त्यसको लागि नेकपा एमालेलाई अघि बढाउन एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । देशलाई माया गर्ने, स्वाभिमानको पक्षमा लागेका, स्थिरताको पक्षमा रहेका र स्वाधीनताको आन्दोलनमा रहेका सबैलाई पोखरेलले नेकपा एमालेमा एकताबद्ध हुन आह्वान गर्नुभयो । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउँदा मात्र देशले समृद्धिको लक्ष हासिल गर्ने उहाँको धारणा छ ।