काठमाडौं । साउदी अरबमा जारी वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनशिपको उपाधिका लागि बिहीबार राति नेपालले बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।
जोर्डनलाई पराजित गर्न सके नेपालले सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो अफिसियल उपाधि हात पार्नेछ ।
नेपाल अतिथि टोलीका रुपमा यो प्रतियोगिता खेल्न पुगेको थियो । नत्र नेपालले क्षेत्रीय प्रतियोगिताका रुपमा दक्षिण एसियाली फुटबल महासंघ ९साफ० च्याम्पियनशिप खेल्दै आएको छ ।
सन् २०१० देखि सुरु भएको साफ महिला च्याम्पियनशिपमा नेपालले हालसम्म उपाधि जित्न सकेको छैन । ६ संस्करण आयोजना भइसक्दा नेपाल ५ पटक फाइनलमा पुगेर पराजित भएको थियो । एक पटक सेमिफाइनलमै रोकिएको थियो ।
फाइनलमध्ये ४ पटक भारतसँग र एक पटक बंगलादेशसँग पराजित भएको थियो । यस्तै दक्षिण एसियाली खेलुकद ९साग०को महिला फुटबलमा नेपाल सहभागी भएका तीन वटै संस्करणमा फाइनलमा पुगेर पराजित भएको थियो ।
त्यसैले नेपाली महिला फुटबलर उपाधि जित्न आँतुर छन् । सेमिफाइनलमा लेबनानलाई हराएपछि निर्णायक गोल गरेकी प्रीति राईले भनेकी थिइन्, ‘अहिले चुप लाग्ने हो, फाइनल जितेपछि रमाउने हो । सबैभन्दा बढी म रमाउँछु ।’
नेपाली महिला फुटबलको अहिलेको पुस्ता निकै स्तरीय देखिएको छ । स्ट्राइकर सावित्रा भण्डारी साम्बा युरोपको व्यवसायिक फुटबल खेलिरहेकी छन् । अन्य खेलाडीहरु पनि भारतको व्यवसायिक फुटबल खेलिसकेका छन् ।
बिहीबार हुने जोर्डनविरुद्धको खेलमा भने साम्बा उपलब्ध हुने छैनन्। प्रतियोगितामा सर्वाधिक गोल गरेकी साम्बा व्यवसायिक फुटबल खेल्नुपर्ने बाध्यताका कारण फ्रान्स पुगेकी छन् । उनले प्रतियोगिताका हरेक खेलमा गोल गरेकी छन् भने उनको नाममा कुल ९ गोल रहेको छ ।
सेमिफाइनलमा गोल गर्दै उनी सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बनेकी थिइन् । वाफ च्याम्पियनशिपको जोर्डन सर्वाधिक ५ पटकको विजेता हो । यो प्रतियोगिता आठौं पटक आयोजना भइरहेको छ । त्यसैले जोर्डनविरुद्ध नेपालको कडा परीक्षा हुनेछ ।