काठमाडौं । नेपाली कांग्रेसको नीति महाधिवेशन पश्चात सत्ता गठबन्धनबीच पछिल्लो पटक बढ्दै गएको तिक्तता बढ्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्रता पार्टी बीच नयाँ समिकरणको प्रयास अघि बढेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच अविश्वास र तिक्तता गहिरिएपछि अहिले यो समाचार तयार पारुञ्जेल राजधानी काठमाडौंमा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता गठबन्धनको सम्भावना ह्वात्तै बढेर गएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा तीन घन्टा लामो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवबीच नयाँ सत्ता गठबन्धनका आधारभूत विषयमा लगभग सहमति भएको स्रोतले दाबी गरेको छ।
नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्रीको पोर्टफोलियोमा सत्तामा प्रवेश गर्नेछन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन्। त्यस्तै, नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका असहमति रहेका बुँदामा पनि सहमति जनाउने निश्चित भएको छ।
ओलीले संक्रमणकालीन न्यायका असहमति रहेका बुँदामा सहमति जनाएसँगै यससम्बन्धी विधेयक अनुमोदनका लागि सोमबार कानुन समितिको बैठक बस्ने भएको छ।
यादवको घरमा तीन घन्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग एमाले उपाध्यक्ष बिष्णु पौडेल र माओवादी उपमहासचिव बर्षमान पुनले फेरि छलफल गरेका छन्।
स्रोतका अनुसार अहिले ओलीको बालकोटस्थित निवासमा माओवादीका पुन र एमालेका पौडेल मिलेर नयाँ सत्ता गठबन्धनको अन्तिम खाका बनाउन व्यस्त छन्।
नयाँ समीकरणको सम्भावनाले तीव्रता पाउँदै गर्दा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउनसक्ने वा गठबन्धनबाटै बाहिरिनसक्ने मनस्थिति निकटहरुसँगको बैठकमा सुनाएका छन्। सत्ता गठबन्धनको सोमबार बिहानका लागि बोलाइएको बैठक यसबारे निर्णायक हुनसक्ने स्रोतले बताएको छ। यद्यपि नयाँ समीकरणले मूर्तता पाउँदै गर्दा सत्ता गठबन्धनको बैठक नबस्ने सम्भावना पनि तीव्र छ। कम्युनिष्ट घटकहरुलाई नजिक्याएर सत्ता गठबन्धन भत्काउने चिनियाँ प्रयासले सफलता पाएसँगै यो भारत र अमेरिकाका लागि धक्का पनि हुने विश्लेषकहरुले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निकटता बढ्दै गएपछि कांग्रेस सभापति देउवाले आफ्नो मनस्थिति पार्टी पदाधिकारीहरुसँग सुनाएका हुन्।
आफ्नै निवास बुढानिलकण्ठमा आइतबार कांग्रेसका मन्त्रीहरुलाई बोलाएर देउवाले पछिल्लो घटनाक्रमबारे जानकारी गराउँदै गठबन्धनबाट बाहिरिनसक्ने परिस्थिति आउने जानकारी गराएका थिए।