काठमाडौं । तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरेपछिका ८ वर्षमा डा. बाबुराम भट्टराई राजनीतिक शक्तिका कोणबाट सर्वाधिक कमजोर अवस्थामा पुगेका छन्। उनी नेतृत्वको नेपाल समाजवादी पार्टी पछिल्लो पटक पुनः विभाजन भएसँगै उनी थप एक्लिएका छन्।
नेपाल समाजवादी पार्टीका अर्का अध्यक्षसमेत रहेका सांसद महिन्द्रराय यादवले गत शनिबार माओवादी केन्द्रसँग एकताको सहमति गरेका हुन्। सहमतिबारे जानकारी दिन सार्वजनिक गरिएको प्रेस नोटमा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको उल्लेख छ।
यो एकताको सहमतिलाई डा. भट्टराईले अस्वीकार गरेका छन्। आइतबार बसेको भट्टराई पक्षको कार्यकारिणी समितिको बैठकले यादव पक्षले गरेको एकतालाई खारेज गरेको हो। सोमबार बसेको केन्द्रीय समितिको छैटौं बैठकले एकताको नाममा जारी गरिएको वक्तव्यलाई अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएकाहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
अर्कोतिर, यादव पक्षले पनि मंगलबार केन्द्रीय समितिको छैटौं बैठक राखेको थियो। यो पक्षले भट्टराई पक्षले गरेको निर्णयलाई अमान्य घोषित गर्यो। माओवादी केन्द्रसँग भएको एकताको सहमतिलाई अनुमोदन गर्नुको साथै प्रदेशका इन्चार्ज र अध्यक्षको जिम्मेवारी आफू अनुकूल तोकेको छ।
पछिल्ला दिनमा दुवै पक्षले गरिरहेका गतिविधिहरू पार्टी विभाजनका क्रममा देखिने स्वाभाविक गतिविधिहरू हुन्। जुन नेपालमा जुनसुकै पार्टी विभाजनका बेलामा पनि हुने गर्छ।
.
२०७२ असोजमा माओवादी केन्द्र परित्याग गरेपछि डा भट्टराई संलग्न भएको यो चौथो पार्टी हो। माओवादी परित्याग गरेपछि उनले आफ्नै नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका थिए। सो पार्टी संघीय समाजवादी पार्टीसँग एकता भई समाजवादी पार्टी नेपाल बनेको थियो। त्यसले पनि राष्ट्रिय जनता पार्टीसँग एकता गरेपछि जनता समाजवादी पार्टी बनेको थियो। डा भट्टराईले जसपा पनि परित्याग गरी नेपाल समाजवादी पार्टी गठन गरेका थिए।
नयाँ शक्ति नेपाल घोषणा गर्दै गर्दा उनलाई माओवादी विरासतका थुप्रै नेताहरूले साथ दिएका थिए। तिनै मध्येका एक थिए देवेन्द्र पौडेल। उनी अहिले माओवादी केन्द्रका सचिव छ। साथै, रामेश्वर खनाल, करिश्मा मानन्धर जस्ता गैरराजनीतिक पृष्ठभूमिका प्रभावशाली व्यक्तिहरू पनि पार्टीमा जोडिएका थिए। तर विस्तारै विस्तारै उनीहरूले पनि साथ छाडेका छन्।
यस बीचमा पार्टी गठनमार्फत् जोडिएका कैयौं नेताहरूलाई पनि उनले आफ्नो साथमा राख्न सकेको देखिँदैन। अरु त के कुरा, महिन्द्रराय यादवले जसपा विभाजनका बेलामा उनलाई साथ दिएका थिए। अब उनी स्वयंले पनि माओवादी केन्द्रसँग एकताको नेतृत्व गरेका छन्। भट्टराईसँग निरन्तर निकट सम्बन्धमा रहेका गंगानारायण श्रेष्ठ पनि एकताकै पक्षमा उभिएका छन्।
नेपाल समाजवादी पार्टीमा डा. भट्टराईका अतिरिक्त सार्वजनिक चर्चामा आउने र राजनीतिक रुपमा प्रभावशाली नामहरू देखिँदैनन्। पूर्वप्रधानमन्त्री भएका र अध्ययनशील नेता भएका कारण उनी बेवास्तामा पर्दैनन्, तर राजनीतिक रुपमा भने उनी स्वयंको पनि प्रभाव झन्पछि झन् कमजोर बन्दै गएको छ।
गत निर्वाचन वरपर नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने चर्चा भएको थियो। एकता हुने पूर्वआकलनकै कारण नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रकै नाममा निर्वाचन लडेको थियो। माओवादी केन्द्रकै तर्फबाट नेपाल समाजवादी पार्टीका कतिपय नेताहरू संघीय र प्रदेश सांसद पनि भएका छन्।
निर्वाचनपछि दुवै पक्षले कार्यदल पनि बनाएका थिए। तर डा. भट्टराईले नयाँ पार्टीका नाम लगायतका विषयमा असहमति राखेका थिए। सांसद माओवादी केन्द्रको हुनुपर्ने तर नेता नेपाल समाजवादीको हुनुपर्ने अप्ठ्यारोका बीच सांसद रहेकाहरूले भट्टराईलाई उछिनेर एकताको अग्रसरता लिएका हुन्।
‘आफ्नो व्यक्तिगत र पार्टीको प्रभाव खुम्चिँदै गएको उहाँ (भट्टराई)ले बुझ्नुभएन। बुझ्नुभएको भए पनि गम्भीरतापूर्वक बुझ्नुभएन। एकताका विषयमा उदार हुनुभएको भए उहाँ एकतापछिको पार्टीको प्रभावशाली नेता हुनुहुन्थ्यो। साथै कमजोर हुँदै गएको राजनीति प्रभावले ुसेफ ल्यान्डिङु हुने अवसर पाउँथ्यो‘, एकता प्रक्रियामा जोडिएका एक नेता भन्छन्, ‘एकतामा नआएपछि झन् कमजोर हुने, झन् एक्लिने त स्वाभाविक नै हो नि।’