काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयन गरेको छ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम २ र बझाङ १ (१) का लागि उम्मेदवार चयन गरेको हो। इलाममा प्रतिनिधि सभा सदस्य र बझाङमा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।
एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण इलाम २ रिक्त हुन पुगेको थियो। त्यस क्षेत्रमा सुवासकै कान्छा पुत्र सुहाङलाई उम्मेदवार बनाइएको हो। सुहाङ केही महिनायता इलाम- २ को उम्मेदवार बन्दै राजनीतिमा होमिने तयारीमा थिए। आइतबार सार्वजनिक एमालेको निर्णयसँगै सुहाङको तयारीले सार्थकता पाएको छ।
एमालेबाट सुहाङ उम्मेदवार बन्ने चर्चा सुरु भएदेखि नै त्यसको समर्थन र विरोध नभएको होइन। उनलाई नै उम्मेदवार बनाउनुपर्ने पक्षधरहरूले उनी उम्मेदवार बन्दा जित सहज हुने बताउँथे। अर्कोतिर, उनलाई उम्मेदवार बनाउन नहुने पक्षधरहरूले भने परिवारका सदस्यभन्दा पनि पार्टीमा योगदान गरेका अन्य नेतालाई पनि अवसर दिइनुपर्ने बताउँथे। तर आइतबार सुहाङलाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि पक्ष(विपक्षका तर्क ओझेलमा परेको छ।
एमालेले उपनिर्वाचनमा पारिवारिक सदस्यलाई नै उम्मेदवार बनाउने निर्णय गरेको यो पहिलो पटक होइन। विजयी उम्मेदवारको निधन भएपछि हुने उपनिर्वाचनमा उसैको पारिवारिक सदस्यलाई नै उम्मेदवार बनाउने प्रचलन उसले २०५० सालदेखि नै सुरु गरेको थियो। जुन ३० वर्षपछिसम्म कायम छ। सुहाङलाई उम्मेदवार बनाउने निर्णय त्यही परम्पराको पछिल्लो सन्दर्भ मात्रै हो।
२०४८ को आम निर्वाचनमा काठमाडौं-५ बाट समेत निर्वाचित भएका थिए एमालेका महासचिव मदन भण्डारी। तर २०५० जेठ ३ गते जिप दुर्घटनामा उनको निधन भयो। त्यसपछि रिक्त हुन आएको स्थानमा सोही वर्ष माघ २५ मा उपनिर्वाचन भएको थियो।
एमालेले त्यस उपनिर्वाचनमा मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारीलाई उम्मेदवार बनायो। विद्यादेवीले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन्। उपनिर्वाचनअघि संसदीय राजनीतिमा नयाँ अनुहार विद्यादेवी शक्तिशाली बन्दै गइन्। कालान्तरमा उनी राष्ट्रपतिसम्म बन्न सफल भइन्।
२०७४ को आमनिर्वाचनपछि त्यस्तै भयो। कास्की- २ बाट निर्वाचित भएका रवीन्द्र अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनका लागि रवीन्द्र पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाइएको थियो। उनी विजयी भएकी थिइन्।
प्रतिनिधि सभाका लागि मात्रै होइन, प्रदेश सभाका लागि पनि श्रीमान्को मृत्युपछि श्रीमतीलाई उम्मेदवार बनाइएको छ। २०७४ को निर्वाचनमा दाङ- ३ ९२० बाट निर्वाचित भएका उत्तरकुमार वलीको निधन भएपछि भएको उपनिर्वाचनमा उनकै पत्नी विमलाकुमारी खत्रीलाई उम्मेदवार बनाएको थियो।
त्यति मात्रै होइन, निर्वाचनअघि उम्मेदवारको मृत्यु हुँदा पनि एमालेले नयाँ उम्मेदवारको रुपमा परिवारकै सदस्य खोज्ने गरेको छ। पहिलो संविधान सभा निर्वाचनमा त्यस्तो भएको छ।
सुर्खेत १ बाट एमालेका उम्मेदवार बनेका थिए ऋषिप्रसाद शर्मा। २०६४ चैत २८ मा निर्वाचन हुँदै थियो। उनको चैत २६ गते निधन भयो। उम्मेदवारकै निधन भएपछि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भयो। जसअनुसार २०६५ वैशाख ७ गते निर्वाचन हुने भयो।
शर्माको निधन भएपछि एमालेले उनकै पत्नी कमला शर्मालाई उम्मेदवार बनायो। निर्वाचनमा विजयी भएर आएकी शर्माले संविधान सभाको पहिलो बैठकमा पूर्णबहादुर खड्कालाई चप्पल प्रहार गरेकी थिइन्। आफ्नो पतिको हत्याको आरोप लगाउँदै उनले खड्कालाई चप्पल प्रहार गरेकी थिइन्।
पारिवारिक सदस्यहरूलाई नै उम्मेदवार बनाउन प्राथमिकता दिनुमा मुख्यगरी दुई कारण रहेको एमालेका एक जना स्थायी कमिटी सदस्य बताउँछन्।
'पहिलो त निर्वाचन नै संवेदनासँग जोडिन्छ। जस्तो विद्या भण्डारीलाई उम्मेदवार बनाउँदा मदनको मृत्युको संवेदना जोडियो। जसले गर्दा मतदाताले विद्यालाई मत दिने सम्भावना बढ्यो। दोस्रो, आफ्नो पार्टीको उम्मेदवार चिनाउन सजिलो हुन्छ। उम्मेदवार परिचित हुने भएकाले प्रचारप्रसारमा सजिलो हुन्छ। त्यसो हुँदा जित्न सजिलो हुन्छ। परिवारका सदस्यबाट उम्मेदवार बनाइएकाहरूले हारेका पनि छैनन् नि त' उनले भने।