काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।
नव नियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहीबार केन्द्रको शुभारम्भ गर्दै सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको जानकारी गराइन् । उनले भनिन्, “नागरिकको गुनासो सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइयो । यसबाट नागरिकको भरोसा बढ्नेछ।”
गुनासो व्यवस्थापन केन्द्र मन्त्रालयको उपसचिवको नेतृत्वमा सञ्चालन हुनेछ । त्यसमा नियुक्त कर्मचारीले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछन् । सामान्य प्रकृतिका गुनासा जस्तै जानकारी दिनुपर्ने वा प्रक्रियासम्बन्धी स्पष्टता दिने काम, केन्द्रकै सहजकर्ताले तत्कालै समाधान गर्नेछन् । तर तत्काल समाधान गर्न नसकिने गुनासा सम्बन्धित शाखामा पठाइनेछन्, जसलाई शाखा प्रमुखले तत्कालै समाधान गर्ने वा अधिकतम तीन दिनभित्र महाशाखा प्रमुखमार्फत समाधान गर्ने मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार त्यसमाथि पनि नीतिगत वा उच्चस्तरीय निर्णय आवश्यक पर्ने गुनासा मन्त्रीस्तरीय निर्णयका आधारमा एक महिनाभित्र समाधान गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गुनासोका लागि हटलाइन नम्बर, इमेल, ट्विटर र फेसबुकको व्यवस्था गरेको छ । साथै पत्राचारमार्फत पनि गुनासो गर्न सकिनेछ । नागरिकलाई सहज बनाउन सबै गुनासालाई एकीकृत रूपमा केन्द्रमा व्यवस्थापन गर्ने र सम्बोधन प्रक्रियालाई द्रुतगतिमा अघि बढाउने लक्ष्य लिइएको छ ।
मन्त्रालयका प्रवक्ता पराजुलीका अनुसार गुनासो समाधानका लागि समयसीमा तोकिएको व्यवस्था अहिलेसम्मकै नयाँ अभ्यास हो । उनले भने, “पहिले गुनासा राखियो भने त्यसको जवाफ कहिले आउँछ भन्ने निश्चित हुँदैनथ्यो । अब सात दिनभित्र सामान्यभन्दा जटिल गुनासासम्म समाधान गर्ने प्रणाली बनाइएको छ ।”