सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।
आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।
केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।
६ वर्षपछि कंडेल मुख्यमन्त्री बन्दैं
कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएसँगै कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री हुने भएका छन्।
एमाले र माओवादीले गरेको भागबन्डाअनुसार अब कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। त्यसकै लागि मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिइसक्नुभएको छ। राजकुमार शर्मालाई राजीनामा दिनुभएसँगै अब एमालेका नेता कँडेल कर्णालीको मुख्यमन्त्री हुन लागेका हुन्।
यामलाल मुख्यमन्त्री बान्ने भएपछि सुर्खेतस्थित प्रदेश सभाभवनबाहिर कार्यकर्ताको भिड लागेको छ।
२०७४ र २०७९ सालमा दुई पटक प्रदेशको चुनाव जित्नु भएको थियो।
४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।