काठमाडौं । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह फ्रान्स प्रस्थान गर्नुभएको छ । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा मंगलबार बिहान २ः१५ बजे त्यसतर्फ प्रस्थान गर्नुभको हो ।
बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहनुभएको छ । उहाँहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो ।
कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’
प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ ।
फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख शाह सहभागी हुनुहुनेछ । यस्तै, अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नुहुनेछ । उहाँको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।
फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कनुहुनेछ ।
यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा स् अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।
यस वर्ष चलचित्र विधामा छानिएका सहरहरुमा नेपालको काठमाडौं, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, व्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।