सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले प्रेस चौतारी नेपाल पार्टीका २३ वटा जनवर्गिय संगठनहरुको पनि नेता संगठन भएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको कर्णाली प्रदेश कमिटिले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय भेलालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष शाहले सुर्खेतमा यस्तो बताउनुभएको हो ।
पत्रकारले समाजको परिवेश, अवस्था र प्रविधिलाई आत्मसाथ गरेर पत्रकारिता गर्नुपर्ने बताउनुहँदै अध्यक्ष शाहले सिद्धान्त, संगठन र संघर्ष बुझेको पत्रकारले मात्र पत्रकारिता पेशालाई दिगो बनाउन सक्नेमा जोड दिनुभयो ।
पत्रकारितामा कलम चलाएर हिडेको नभए पनि पत्रकारिता पेशाको मर्म र अवस्थालाई राम्रोसँग बुझेको बताउँदै अध्यक्ष शाहले पत्रकारले आफूलाई प्रविधिसँग घुलमिल बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
'प्रेस चौतारीका नेता कार्यकर्ताले पार्टीका नीति, निर्णयलाई कार्यकर्ता र सदस्य स्तरमा सहजै पुर्याउने सशक्त माध्यम भएका नेताहरुको संगठन हो', अध्यक्ष शाहले भन्नुभयो, 'यो संगठनमा आवद्ध नेता कार्यकर्ताले समाचार, सामाग्रीका माध्यमबाट पार्टीको पक्षमा र पार्टीले लिएका जनहितकारी नीतिका बारेमा समाचार सामाग्री संप्रेषण गर्नलाई अँझ जोड दिनुपर्छ । '
कर्णालीका दशवटै जिल्लाबाट आएका चौतारीका नेता तथा कार्यकर्ताहरुको भेलालाई संवोधन गर्दै नेकपा (एमाले) कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख रमेश शाहीले प्रेस चौतारीको हितमा पार्टिले गरेका कुनै पनि निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । साथै उहाँले पहिले आफ्नै संगठनसँग र पछि अन्य संगठनसँग मिलेर अघि बढ्न सक्यौं भने सफलता प्राप्त सकिने बताउनुभयो ।
यसैगरी केन्द्रीय प्रचार विभाग सदस्य टिका बिष्टले संगठनमा महिला नेतृत्व स्थापित गराउनका लागि उचित अवसर र मौका दिनुपर्नेमो जोड दिनुभयो ।
प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष नवराज महत्ताराले कुनै पनि संगठनलाई अनुशासित बनाउन सकिएन भने त्यस्तो संगठन दिगो र प्रभावकारी हुन नसक्ने भएकाले प्रेस चौतारीलाई अनुशासित र संघर्षशील संगठनका रुपमा अघि बढाउन सबैलाई निर्देशन दिनुभयो ।
प्रेस चौतारी नेपालको केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज विष्णु शर्माले प्रेस चौतारीका सबै गतिविधिहरु महासंघ लक्षित बनाउन निर्देशन दिनुभयो । साथै उहाँले प्रेस चौतारीका सिपाहीहरु जो कोही पनि इमान्दार भएर संगठनमा लागेमा सबैले अवसर प्राप्त गर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रकाश अधिकारीकोे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्लागत अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुति गरिएको थियो ।
भेलाले समग्रमा प्रेस चौतारीको कर्णाली प्रदेशको अवस्था र पत्रकार महासंघका बारेमा भइरहेका गतिविधिका बारेमा समिक्षा गरेको थियो ।