काठमाडौं । नेकपा (एमाले)को देशभरका ७७ मध्ये ६६ जिल्लामा अधिवेशन भयो ।
ढिलोमा भदौसम्म बाँकी ११ वटा जिल्लाको पनि अधिवेशनबाट नयाँ कमिटी चयन गर्नेगरी एमालेले तयारी गरेको छ ।
संगठनको संरचना अझ बलियो बनाउन ग्रासरुट अभियान चलाइरहेको र २०८४ को निर्वाचन केन्द्रित अधिवेशनको रुपमा हेरिएको अहिलेको जिल्ला अधिवेशन धमाधम सम्पन्न भैरहेका छन् ।
नेकपा एमालेको विधानको धारा ३६ मा जिल्ला कमिटी गठनको व्यवस्था छ । उक्त व्यवस्थाअनुसार जिल्ला कमिटी आधार संख्या ७५ जनाको हुनेगरी जिल्ला कमिटी चयन गर्नुपर्ने व्यवस्था छ । जसमा ५ पदाधिकारी रहनेछन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारी चयन गर्नुपर्ने व्यवस्था भए पनि विधानले पदाधिकारीमा कुनै पद पनि समावेशीको लागि भने सुरक्षित गरेको छैन । यद्यपि क्लस्टर छुट्याएर पदाधिकारीमा उपसचिव पदमा महिला १ हुनुपर्ने गरी नयाँ कमिटी निर्माण गर्न पठाएको सर्कुलर अनुसार एमालेका ६६ जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् ।
६६ जिल्लामा मतदान सकिँदा १ अध्यक्ष र ५ महिला सचिव निर्वाचित
लक्ष्मी बुढा नेकपा एमालेको अहिलेको एउटामात्रै निर्वाचित जिल्ला अध्यक्ष महिला हुन् । उनी सर्वसम्मत निर्वाचित भइन्, तर उपाध्यक्ष भइसकेको उनलाई अध्यक्षमा आउन निकै संघर्ष गर्नुपर्यो ।
‘महिलाले पनि सक्छ र ? भन्ने प्रवृत्तिका कारण सर्वसम्मत भए पनि मैले नेतृत्व चलाउन सक्छु भनेर विश्वास दिलाउनै संघर्ष गर्नुपर्यो’, अध्यक्षमा सर्वसम्मत गर्नुअघिको पहल सुनाउँदै बुढाले भनिन् ।
करिब ३ दशक नेकपा एमालेको विभिन्न संगठनमा बिताएकी उनी पार्टीलाई कसरी अघि बढाउने भन्नेमा नीतिगत र व्यवहारिक दुबै रुपमा स्पष्ट भए पनि निर्वाचित भइसकेपछि टिप्पणी सुन्नुपर्ने अवस्था अझै कायमै रहेको बताउँछिन् ।
लक्ष्मी जस्तै पदीय दायित्वमा कोटालाई जितेर प्रतिस्पर्धाबाट नेकपा एमालेको अध्यक्षपछिको कार्यकारी पद सचिवमा नेतृत्व लिने महिलाको संख्या ६६ जिल्लामा पाँच जना छन् । उनीहरुमध्ये एकबाहेक सबैले पार्टीभित्रकै आन्तरिक लोकतन्त्र स्वीकार गरेर निर्वाचनबाट जीत हात पारे ।
अधिवेशन सकिएका ६६ जिल्ला कमिटीमध्ये सचिव निर्वाचित भएका पाँच महिलामा कोशी प्रदेशको सोलुखुम्बु जिल्लाबाट कल्पना राई, बागमती प्रदेशको धादिङ जिल्लाबाट राधिका सापकोटा र मकवानपुरबाट सीता विष्ट सचिवमा निर्वाचित छन् ।
गण्डकीको म्याग्दी जिल्लाबाट थमसरा पुन र कर्णाली प्रदेशको सल्यान जिल्लाबाट पुष्पा बोहरा सचिवमा निर्वाचित भए ।