काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपालसहितको टीम दोहोरिएको छ ।
जारी महाधिवेशनमा झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले नेपाललाई अध्यक्ष र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्याउने घोषणा गरेको हो ।
भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेता नै चयन गरेको छ ।
बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा सर्वसम्मत चयन गरेको हो।
महाधिवेशन हलमा सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गरेका थिए ।
उनले अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको उनले जानकारी दिए । अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको चयन सचिवालयले गर्ने बताइएको छ ।
उपाध्यक्षमा रामकुमारी वरिष्ठ उपाध्यक्षमा पाण्डेको सम्भावना
चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टीम र केन्द्रीय समितिको भोलि घोषणा हुने छ ।
आज तीन जना प्रमुख नेताहरुको पुरानै पदलाई निरन्तरता दिने घोषणा गरियो । जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल दोहोरिएका छन् । अन्य पदाधिकारी चयन भएको छैन ।
पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । आज घोषित अध्यक्ष, सम्मानित नेता र महासचिवको तीन सदस्यीय टीमलाई सचिवालय भनिएको हो । सचिवालयले भोलि सबै सूची तयार गरेर भोली बिहान १० बजे घोषणा गर्ने भनिएको छ । यससँगै महाधिवेशन प्रतिनिधले नेतृत्व चयनको अधिकार गुमाएका छन् ।
आज भएको आन्तरिक सहमति अनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने छ । उनी यसअघि सचिव थिइन् । अहिलेका अन्य सचिवहरुले सोही पदमा निरन्तरता पाउने छन् ।
एकीकृत समाजवादीले २१ जनाको पदाधिकारी टीम र २९९ सदस्यी केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ । पहिलोपटक विधानमा वरिष्ठ उपाध्यक्ष र वरिष्ठ नेताको पद थप गरिएको । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको सम्भावना छ ।