काठमाडौं । पार्टीबाट निष्कासन गर्ने केन्द्रीय सचिवालयको निर्णयविरुद्ध एमाले पूर्वउपाध्यक्ष भीम रावल औपचारिक प्रतिवादमा उत्रने भएका छन् ।
दुई–तीन दिनभित्र पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपको खण्डन र प्रतिवाद गर्ने तथा आगामी कदम सार्वजनिक गर्ने उनको तयारी छ ।
रावलको प्रहार एमालेभन्दा अध्यक्ष केपी ओलीमाथि केन्द्रित छ । निरन्तर पार्टी नीति र नेतृत्वविरुद्ध लागेको आरोपमा रावललाई बुधबार केन्द्रीय सचिवालय बैठकले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । उनीसँगै स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना पार्टीको जिम्मेवारीबाट ६ महिनासम्म निलम्बनमा परेका छन् ।
कारबाहीपछि देशभरका असन्तुष्ट नेता–कार्यकर्तासँग सम्पर्कमा रहेका रावलले पत्रकार सम्मेलनलगत्तै नयाँ कदमका लागि देश दौडाहामा निस्कने तयारीसमेत गरेका छन् । उनीनिकट नेताहरूका अनुसार ओलीकै योजनामा कारबाही भएका कारण फिर्ता हुने सम्भावना कम रहेकाले रावलले देश दौडाह सकेपछि आउने प्रतिक्रिया र सुझावका आधारमा नयाँ पार्टी खोल्न सक्ने सम्भावना औँल्याएका छन् ।
‘उहाँ अहिले देशभर सम्पर्कमा हुनुहुन्छ र सबैको सुझाव लिइरहनुभएको छ । नेकपा एसलगायतका पार्टीमा जाने उहाँको योजना देखिन्न । उहाँसामु अब नयाँ पार्टी बनाउने मात्र विकल्प बाँकी छ । तर, उहाँ हतार गरिहाल्ने पक्षमा पनि हुनुहुन्न,’ उनीनिकट एक नेताले भने । यसबारे, रावल स्वयंले भने मुख खोलिसकेका छैनन् ।
ओलीले देशभक्त इमानदार मानिसहरूमाथि प्रहार गरेको र यसमा आफू आश्चर्यमा नपरेको रावलको भनाइ छ । ‘एमालेको निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यताबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,’ रावलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं बिचौलिया दलालहरूलाई काखी च्याप्नेले देशभक्त इमानदार मानिसहरूमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन ।’
तत्कालका लागि उनले ओलीको निरंकुश र अन्यायपूर्ण कदमका विरुद्ध साथ दिन देशभरका नेता–कार्यकर्तासँग अपिल गरेका छन् । ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमानदार पार्टी कार्यकर्ता र जनसमुदायले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले लेखेका छन् ।
रावलसहित पाण्डे र तिमिल्सिनामाथिको कारबाहीले एमालेपंक्तिसहित समग्र देशको राजनीति वृत्तमा तरंग पैदा गरेको छ । एमालेभित्रको पंक्तिमा कारबाहीबारे समर्थन र विरोधमा मिश्रित प्रतिक्रिया देखिएको छ । बाहिरको पंक्तिले सामाजिक सञ्जालमा कारबाहीको विरोध छ ।
महासचिव शंकर पोखरेलले आर्टिफिसियल इन्टिलिजेन्स९एआई०लाई उद्धृत गरेर पार्टीको अनुशासनको महत्वमाथि प्रकाश पार्दै सचिवालयको निर्णयको प्रतिरक्षा गरेका छन् । पार्टीभित्र संगठनात्मक एकता कायम राख्न, नेतृत्वलाई बलियो बनाउन अनुशासन आवश्यक रहेको पोखरेलले जिकिर गरेका छन् । ‘अनुशासनले सबै सदस्यहरूलाई एउटै लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसले पार्टीमा एकता र सहकार्यलाई मजबुत बनाउँछ । अनुशासित सदस्यहरूले पार्टीका नियम र नैतिकतामा विश्वास गरेर कार्य गर्छन् ।