अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै पुग्दै गरेको समुद्री आँधी फ्लोरेन्सका कारण धेरै मानिसको ज्यान जाने सक्ने चेतावनी सरकारी अधिकारिले दिएका छन् ।
आँधीबाट जोगिनका लागि जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरु केही दिनदेखि सुरक्षित स्थानमा जाने क्रम चलिरहेको छ । अब आँधी तटीय क्षेत्रमा ठोक्किने बेला आइसकेकाले अहिलेसम्म सुरक्षित स्थानमा नगएकाहरुको ज्यान जोखिममा रहेको सरकारी अधिकारीले चेतावनी दिएको अमेरिकी सञ्चार माध्ययमले जनाएका छन् ।
संघीय आपत्कालीन व्यवस्थान संस्था, फेमाले आँधीका कारण धेरै क्षेत्रमा विनाशकारी बाढी आउने सक्ने बताएको छ ।
नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियासहितका १७ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
नर्थ क्यारोलिनाको तटीय क्षेत्रमा तीव्र गतिको हावा चल्ने तथा ठूलो पानी पर्ने क्रम सुरु भइसकेको छ । यसले गर्दा बाढी आउन पनि थालेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार नर्थ क्यारोलिनाका ११ हजार भन्दा बढी घरमा बिद्युत आपूर्ति बन्द भइसकेको छ ।
नेपाली समय अनुसार बिहान पौने तीन बजेको समयमा फ्लोरेन्स आँधी साउथ क्यारोलिनाको पूर्वी तटीय क्षेत्रमा रहेको मेर्टल बिच भन्दा २५० किलोमिटर मात्रै पर थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा पहिरोसहितका विपद आउन थाल्ने रोयटर्सले जनाएको छ ।
फ्लोरेन्स आँधीलाई क्याटगोरी टू मा झारिएको छ । यसको हावाको गति अहिले १६५ किलोमिटर प्रतिघण्टा रहेको छ । फ्लोरेन्सका कारण आउने बाढीको पानीको सतह चार मिटरसम्म हुने बताइएको छ ।
अहिलेसम्म १४ सय भन्दा बढी उडान रद्द गरिएका छन् । जर्जिया, मेरिल्याण्ड, भर्जिनियासहितका राज्यमा आपतकाल पनि घोषणा गरिएको छ ।