काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ ।
क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।
चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत थियो । अरु कुन-कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।
महत्वपूर्ण कागजात नष्ट नभएको मन्त्री यादवको दावी
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा लागेको आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन् ।
आज बिहान ९ बजे अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको थियो । अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ । आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए । अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए ।
शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको बताए । प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने बताए ।
दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको बताए । अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको बताए ।
खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त