सुर्खेत । नेकपा (एमाले) का नेता योगेश भट्टराईले गणतन्त्र फेल भयो भन्नेहरूको अभियानलाई निष्क्रिय बनाउन काँग्रेस र एमाले मिल्नुपर्ने बताएका छन् ।
बुधबार सुर्खेतमा आयोजित महिला किसान संघ नेपाल, कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलनमा बोल्दै भट्टराईले गणतन्त्रलाई असफल देखाउने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न काँग्रेस-एमालेको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् उनले भने, ‘२५० वर्षसम्म मौका दिएकै हो । दरबार हत्याकाण्ड हामीले गरेको हो र ? दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भयो । अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन ।
उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै माओवादी ओरालो लाग्दै गएको दाबी गरे ।
‘‘प्रचण्ड’ले किन हामीविरुद्ध आवाज उठाइरहनु भएको छ रु किनकि हामीले उहाँको प्रधानमन्त्री पद खोस्यौँ । उहाँ लुडो खेलेझैँ हामीले जितेका कारण छटपटिनु भएको हो’, उनले भने ।
उनले माओवादी नेतृत्वको सरकार बसिरहनु देशका लागि विनाशकारी भएको टिप्पणी गर्दै काँग्रेस–एमाले गठबन्धन नै देशको स्थायित्वका लागि उपयुक्त मोडेल भएको तर्क गरे ।
‘माओवादीले ६२-६३ पछि सबैभन्दा धेरै सरकार चलाएको छ, तर अहिले सडकमा छ । अर्थतन्त्र अगाडि बढेको छैन, विदेशी लगानी आएको छैन । यस्तो परिस्थितिमा काँग्रेस-एमाले मिल्नुपर्छ’, भट्टराईले भने ।
उनले नेकपा (एकीकृत समाजवादी) को भविष्य नरहेको बताउँदै माधव नेपाल नेतृत्वको पार्टी लामो समय टिक्न नसक्ने टिप्पणी गरे।
‘माधव नेपालको पार्टी अब चल्दैन भन्ने सबैलाई थाहा छ । उहाँले जहाँसम्म चलाउनुहुन्छ, चलाउन दिऔँ, तर समाजवादी पार्टीको आयु धेरै लामो छैन’, भट्टराईले जिकिर गरे ।
‘कर्णालीमा नेमकिपा अब सिद्धिँदै गएको छ, एमाले भने अझ बलियो हुँदै गएको छ । यो नै वामपन्थी एकताको सही मोडेल हो’, उनले भने ।
एमालेले तीन महिने अभियान चलाइरहेको बताउँदै उनले अब कागजी कमिटी बनाउने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । निर्वाचित भएपछि जनताका घर–घरमा पुग्नुपर्छ। जनताको गुनासो सुनेर पार्टीको संरचना सुधार गर्न आवश्यक छ, भट्टराईले भने ।