सुर्खेत । राजावादीहरुले सडकमा राजा ब्युताउने अभियान चलाइरहेका वेला नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुँदा ज्ञानेन्द्रको परिवारका सबै कसरी जोगिए भन्ने प्रश्न गरेका छन् ।
नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटिले आयोजना गरेको जागरण भेलालाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो प्रश्न गर्नु भएको हो ।
सुर्खेतको पिपल चौतारामा आयोजित जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वीरेन्द्रका छोरा दीपेन्द्रलाई मृत्यु भएपछि मात्रै लोकलाजका कारण राजा घोषणा गरिएको बताए ।
‘त्यसबेला नारायणहिटी राजदरबारमा जनता जान पाउँदैनथिए । अधिराजकुमार धीरेन्द्रको समेत वंशनाश गरियो । दीपेन्द्रले बिहे गरेका थिएनन्’, उनले भने, ‘अहिले केही मण्डलेहरू राजा चाहियो भन्दै आन्दोलित छन् । उच्छृङ्खल बनिरहेका छन् । उतिबेला राजा वीरेन्द्रको वंशनाश हुँदा ज्ञानेन्द्रका कोही पनि त्यसमा किन परेनन् रु जनतालाई लाटा नसम्झन म मण्डलेहरूलाई अनुरोध गर्दछु ।’
उनले जेठो सन्तान राजा हुने परम्परा भएपनि ज्ञानेन्द्रले भने अपुतालीको रूपमा राजा हुने अवसर पाएको र जनताले समेत स्वीकार गरेको स्मरण गरे । तर, ज्ञानेन्द्रले तानाशाही बुटले जनताले लामो त्याग र बलिदानपछि प्राप्त गरेको प्रजातन्त्रलाई कुल्चेको उनको आरोप छ ।
दरबारभित्रको शक्ति संघर्षका कारण प्रधानमन्त्री भीमसेन थापाले ज्यान गुमाउनुपरेको बताउँदै दरबारकै कारण भण्डारखाल पर्व, कोतपर्वहरू भएको पोखरेलले बताए ।
पृथ्वीनारायणको नाममा नालायक सन्तानलाई जनताले स्वीकार्दैनन्
महासचिव पोखरेलले पृथ्वीनारण शाहले नेपाल एकिकरण गरेर राम्रो गरे भन्दैमा उनका नालायक सन्तानलाई पनि राजा मान्ने नसकिने ठोकुवा गरे ।
राजावादीहरूले वर्तमानमा रोजेको बोटोले देशलाई विनाशतर्फ धकेल्ने बताएका महासचिव पोखरेलले एमालेले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय बाटोमा हिँडाउन खोजेको दाबी गरे ।
पञ्चहरूले समाजलाई निकै पछि धकलेको उनको भनाइ थियो । महासचिव पोखरेलले राजतन्त्रलाई सत्कर्म नगरेर मरेको प्रेतको संज्ञा दिए । उनले भने, ‘हाम्रो गाउँघरमा एउटा भनाइ छ, मान्छे सत्कर्म गरेको रहेनछ भने प्रेत बन्छ । सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ । नेपालको राजनीतिमा अढाई सय वर्ष शासन गरेको शाह वंशीय राजतन्त्र जसलाई जनताको आन्दोलनबाट हामीले सधैँका लागि बिदा गरेका थियौँ । त्यसले सत्कर्म गरेको रहेनछ, त्यो आज प्रमाणित भएको छ । त्यही प्रेत अहिले जनतालाई दुस्ख दिन लागि परेको छ ।’
गणतन्त्रले के दियो भन्ने राजावादीहरूले २०४६ साल अघिको कर्णाली सम्झन उनको आग्रह थियो । पञ्चायतको समयमा सुर्खेतबाहेक अन्य जिल्लामा पैदलयात्रा गरेको सम्झिँदै उनले कर्णालीलाई अध्यारोमा राखेका मण्डलेहरूले गणतन्त्रमाथि प्रश्न गर्नु हास्यास्पद रहेको दाबी गरे । गणतन्त्र स्वीकार्न नसक्ने राजावादीलाई कर्णालीले सहज रूपमा चिनेको पनि उनले बताए ।
गणतन्त्र आएपछि विकास गाउँ पस्दै गएको उल्लेख गर्दै उनले देशलाई पुरानै व्यवस्थामा फर्काउन खोज्ने राजावादीलाई कर्णालीले नाङ्गेझार पार्नुपर्ने दाबी गरे । ‘हो, हाम्रो देश जति अघि बढ्नु पर्ने थियो, त्यसअनुसार अघि बढ्न सकेको छैन । तर, राजा र मण्डलेहरूले देशलाई जति तल पार्न खोजेका थिए, त्यसको अन्त्य गणतन्त्रले सुरु गरेको हो । पञ्चायतकालको पौने चार अर्बको अर्थतन्त्रलाई लोकतन्त्रले ५७ खर्ब पुर्याएको तथ्य बुझ्न म राजावादीहरूलाई अनुरोध गर्दछु,’ उनले भने ।
पृथ्वीनारायण शाहले देशको एकीकरण गरेर राम्रो काम गरे भन्दैमा यीनका नालायक सन्तानलाई जनताले कदापी नस्वीकार्ने दाबी गरे । कसैले देशलाई पछाडि लैजाने खोजेको प्रयास कदापी पूरा नहुने पोखरेलको तर्क छ । साना पार्टीले ठूला पार्टीमाथि साशन गर्ने परिपाटीको अन्त्य नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने उनले बताए ।
२०८४ सम्म कांग्रेस–एमालेको गठबन्धनले देशलाई अहिलेको अवस्थाबाट बाहिर निकाली लोकतन्त्रलाई लयमा फर्काएर स्थायित्व कायम गराउन खोजेको पोखरेलले बताए । देश बनाउँन धेरै पार्टी होइन, बलिया पार्टी बनाउँन आवश्यक रहेको पोखरेलको दाबी थियो ।
राजाको २५० वर्षे शासनकालमा कूल ८ हजार किमि बाटो बनेको र अहिले १ लाख १० हजार किमि बाटो बनेको बताउँदै यो सबै गणतन्त्रको देन भएको पोखरेलको दाबी छ ।
उनले राजाको पालामा देशको कूल गार्हस्थ उत्पादन ४ खर्ब मात्रै रहेको बताउँदै अहिले ५७ खर्ब पुगेको उल्लेख गरे ।
‘२०५६ सालमा म दैलेख सदरमुकाम हिँडेरै गएको थिएँ । तर, अहिले सबै जिल्लामा सडक पुगेको छ । अधिकांश नागरिकले खानेपानी पाएका छन् । ९९ प्रतिशत नागरिकको घरमा बिजुली बलेको छ । यो सबै गणतन्त्रकै कारण सम्भव भएको हो’, पोखरेलले भने, ‘मण्डलेहरूलाई प्रश्न सोध्न चाहन्छु( २५० वर्षे शासनकालमा जनताको आयु ५४ वर्ष थियो, अहिले ७२ वर्ष पुगेको छ । राजाको शासनकालमा प्रतिव्यक्ति आय दुई सय अमेरिकी डलर थियो, अहिले १४ सय पुगेको छ । यो गणतन्त्रका कारण भएको हो । त्यसैले राजाको पालामा सबै भएको भन्ने भाष्य निर्माण गरेर समाज भाँड्न पाइँदैन । त्यसका विरुद्ध एमाले लाग्छ, एमाले खडा छ ।’
महासचिव पोखरेलले अमेरिका, युरोपजस्ता देशमा लोकतन्त्र आएको २५० वर्ष भन्दा बढी भएको र नेपालमा भने राजनीतिक दल खोलिएको जम्मा ७५ वर्ष भएको बताउँदै नेपालमा अपेक्षाकृत विकास हुन नसके पनि विकास भइरहेको दाबी गरे ।